उदयपुर- उदयपुरको बेलका नगरपालिका- २ करहिया, बेल्हास्थित उदयपुरकै पहिलो थारु संग्रहालय घुम्न आउनेको संख्या दिनानुदिन बढेको छ।
कोभिड पश्चात जनजीवन सामान्य बन्दै गएपछि आन्तरिक पर्यटकको संख्या बढ्दै गएको हो । संग्रहालयमा जन्मदेखि मृत्यु पर्यन्तसम्म थारु समुदायले प्रयोग गर्ने थारु जातिको मौलिक सामग्रीको अवलोकन गर्न सकिन्छ।
अहिले उदयपुर, सुनसरी र सप्तरी जिल्लाबाट संग्राहलय हेर्न आउन थालेको संग्रहालयका अध्यक्ष मिश्रिकान्त चौधरीले जानकारी दिए।
१३ मंसिर २०७७ मा तत्कालीन प्रदेश राज्यमन्त्री विजयकुमार विश्वासले संग्रहालयको भवन उद्घाटन गरेका थिए। संग्रहालयका अध्यक्षसमेत रहेका चौधरीले वेलका नगरपालिका– २ करहिया वेल्हामा रहेको ६ धुर जग्गा संग्रहालय निर्माणका लागि दान दिएका थिए।