रियो दि जेनेरियो (ब्राजिल)- ब्राजिलकी लोकप्रिय गायिका म्यारिलिया मेन्डोन्काको जहाज दुर्घटनामा परी मृत्यु भएको छ। २६ वर्षीया गायिका मेन्डोन्कासँगै उनका काका, निर्माता र चालकदलका दुई जना सदस्यको समेत मृत्यु भएको बीबीसीले समाचार प्रकाशन गरेको छ। जहाज ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गराइसमा शुक्रबार दुर्घटनामा परेको थियो। घटनाबारे अध्ययन सुरु गरिएको छ।
सन् २०१९ मा ल्याटिन ग्यामी अवार्ड जितेकी गायिका मेन्डोन्का महिलाहरूका विफल सम्बन्धका अनुभुतिमा केन्द्रित भएकाले लोकप्रिय हुन सफल भएको बताइने गरेको छ। असफल सम्बन्ध र पीडाका भावना गीतमार्फत् प्रस्तुत गरेको भन्दै उनलाई 'पीडाकी रानी'को उपनामले चिन्ने गरिन्थ्यो।
किशोर वयमा नै गायनमा करिअर बनाउन सुरु गरेकी मेन्डोन्काको लोकप्रियता सन् २०१६ देखि चुलिन थालेको थियो। गत वर्ष कोरोना संक्रमणका कारण उनका कन्सर्टका कार्यक्रम रद्द हुँदा अनलाइनबाटै दर्शकहरूलाई मनोरञ्जन दिलाएकी थिइन्। उनको उक्त अनलाइन कन्सर्टको ३३ लाख मानिसले एकैपटक युट्युब लाइभ हेरेका थिए। लाइभ कार्यक्रमका दर्शकको यो संख्या सर्वाधिक भएको बताइने गरेको छ।
मेन्डोन्काका दुई वर्षीय छोरा छन्। शुकरबार साँझ ब्राजिलकै काराटिन्गा सहरमा उनको कन्सर्ट कार्यक्रम तय भएको थियो। यो जहाज दुर्घटना भएको स्थानबाट १२ किलोमिटर टाढा हो। जहाज दुर्घटनामा पर्नुभन्दा केही समयपहिले मात्र उनले ट्विटरमा हवाई यात्रा गरिरहेको भिडियो पोस्ट गरेकी थिइन्।
मेन्डोन्काको मृत्य भएको खबर सार्वजनिक भएपछि ब्राजिली फुटबल स्टार नेयमारले आफूले यो समाचार विश्वास गर्न अस्वीकार गर्ने बताएका छन्। 'यो कुरा विश्वास गर्न म अस्वीकार गर्छु। अस्वीकार गर्छु,' पोर्चुगिज भाषामा नेयमारले लेखेको ट्विटमा भनिएको छ।गायिका अनिताले पनि आफूलाई विश्वास नलागेको बताएकी छन्। 'म यो कुरा विश्वास गर्न सक्दिनँ। मलाई अझै आशा छ,' उनले भनिन्।