टेक्सास- अमेरिकाको टेक्सासमा भएको एक साङ्गितिक महोत्सवमा भागदौड हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। उक्त घटनामा परी कैयौँ घाइते भएका छन्। ट्रयाभिस स्कटको एस्ट्रोवर्ल्ड फेस्टिभलका क्रममा भिड मञ्चको अगाडि जान खोज्दा भागदौड मच्चिएको थियो।
भागाभाग गर्ने क्रममा ११ जनालाई हृदयघात भएको थियो। तीमध्ये ८ जनाको मृत्यु भएको टेक्सासका अधिकारीले बताएका छन्। भागाभागमा परी झन्डै ३०० जना घाइते भएको बताइएको छ।
महोत्सवमा करिब ५० हजार मानिसको सहभागी थिए। घटना शुक्रवार राति स्थानीय समय अनुसार करिब सवा ११ बजे भएको थियो।
'मानिसको भिडले मञ्चको अघिल्लो भागलाई थिच्यो र मानिसहरू आतङ्कित हुन थाले,' ह्युस्टन, अग्नि नियन्त्रक प्रमुख स्यामुयल पेनाकाले पत्रकारहरूलाई बताए।
उनका अनुसार भागाभागमा परी मानिसहरू घाइते भएपछि त्यहाँ उपस्थित अरू मानिस झनै आत्तिएका थिए।
मानिसहरू घाइते भएको देखिएपछि आयोजकले कार्यक्रम बन्द गरेका थिए। महोत्सव अन्तर्गत शनिबार हुने कार्यक्रम रद्द गरिएको छ।
