काठमाडौं- ललितपुरको मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको परिवार पनि म्ह: पूजा मनाउन व्यस्त थियो। पौने सात बजेतिर घरमा विस्फोटको आवाज सुनियो। ग्यास सिलिन्डर पड्किँदा लक्ष्मीकृष्णसहित चार जनाले ज्यान गुमाए।
लक्ष्मीकृष्णको चार तले कच्ची घरमा आगलागी हुँदा ६८ वर्षीय लक्ष्मीकृष्ण, उनकी ३५ वर्षीया छोरी अन्जना, ३५ वर्षकी बुहारी रत्ना र १० वर्षका नाति निर्जलको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका असई समीर आचार्यले बताए।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले दोस्रो तलाको झ्यालमा दियो बालेर राखिएको र त्यही दियोले आगलागी भएको हुनसक्ने अनुमान गरिएको बताएका छन्।
'शुक्रबार साँझ म्ह: पूजाको तयारी भइरहेका बेला मंगलबजारको साँघुरो गल्ली ललितपुर महानगर–१२ चक्रबहिलमा रहेको घरको तेस्रो तलमा ग्यास सिलिन्डर विस्फोट भएको हो। ग्यास सिलिन्डर कसरी विस्फोट भयो भन्ने बारे खुल्न सकेको छैन। हामीले अनुसन्धान गरिरहेका छौं', नेपाल समयसँग कुरा गर्दै उनले भने।
आगलागीका घटनामा परी ४० जना पुरुष र ६० जना महिला गरी १ सय जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। यस्तै आगलागीका घटनामा परी ३७७ जना घाइते भएका छन् भने उक्त एक वर्षको अवधिमा ३५८३ परिवार प्रभावित भएका छन्।
घटनामा अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेमा ४२ वर्षका नीरज ताम्राकार र ३२ वर्षकी सिर्जना ताम्राकार रहेका छन्। उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। सिर्जनाको अवस्था गम्भीर छ।
प्रहरीले दियोबाट आगलागी भएको अनुमान गरेको छ। 'दोस्रो तलामा राखेको दियोको आगोले सबैभन्दा पहिला झ्यालको पर्दा टिप्यो। परिवारका सबै जना माथिल्लो तल्लामा पूजामा व्यस्त रहेकाले तल्लो तल्लाबाट आगो सल्किन थालेको कसैले चाल पाएनन्। र, माथिल्लो तलासम्मै पुगेर आगोले सिलिन्डरमा टिप्यो। त्यसपछि पड्कियो,' उनले भने। पर्दामा लागेको आगो पुरानो घर भएकाले दन्किएको उनले बताए।
आगलागीबाट वर्षमा सय जनाको मृत्यु, दुई अर्बको क्षति
गत आर्थिक वर्ष २०७७/७८ मा देशका २७६१ स्थानमा भएको आगलागीमा परी १ सय जनाको मृत्यु भएको गृह मन्त्रालयको तथ्यांकले देखाएको छ। मन्त्रालयको नेपाल विपद् व्यवस्थापन पोर्टलमा अद्यावधिक गरिएको विवरणअनुसार २०७७ साउन १ गतेदेखि २०७८ असार मासान्तसम्ममा २७६१ वटा आगलागीका घटना भएका हुन्।
यी आगलागीका घटनामा परी ४० जना पुरुष र ६० जना महिला गरी १ सय जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। यस्तै आगलागीका घटनामा परी ३७७ जना घाइते भएका छन् भने उक्त एक वर्षको अवधिमा ३५८३ परिवार प्रभावित भएका छन्।
आगलागीका घटनाबाट तीन वटा सरकारी भवन पूर्णरूपमा क्षतिग्रसत् भएका छन् भने ८ वटा भवनमा आंशिक क्षति पुगेको छ। यस्तै ११६५ वटा निजी भवन पूर्ण रूपमा काम नलाग्ने बनेका छन् भने ७४८ वटा निजी भवनमा आंशिक क्षति पुगेको मन्त्रालयको तथ्यांक छ।
वर्षभरमा भएका आगालागीका घटनामा करिब २ अर्बको क्षति भएको आकलन गरिएको छ। मन्त्रालयको विवरण अनुसार १ अर्ब ९४ करोड १७ लाख ६७ हजारभन्दा बढीको क्षति भएको आकलन मन्त्रालयको छ। यो प्रारम्भिक अनुमान मात्र हो।पछिल्लो १० वर्षमा देशभर १५ हजार २४६ घटना भएको प्राधिकरणको तथ्यांक छ।
लक्ष्मी पूज्दा आगलागी, लाखौँको क्षति
लक्ष्मीपूजाका दिन देशका विभिन्न स्थानमा आगलागी हुँदा ठूलो रकमको क्षति भएको प्रहरीको प्रारम्भिक तथ्यांकले देखाएको छ। लक्ष्मीपूजाका लागि बालेको दियो र बत्तीका कारण आगलागी हुने गरेको देखिएको छ। लक्ष्मीपूजाकै दिन काठमाडौं महानगरपालिका-२९ अनामनगरस्थित गोरखा भिमसेन थापा गाउँपालिका घर भएकी २४ वर्षीया पुष्पाञ्जली भन्तनाको फर्निचर सोरुममा आगलागी भयो। लक्ष्मीपूजाको दियो बालेर बाहिर गएको अवस्थामा बिहीबार साँझ आगलागी हुँदा फर्निचरका सामानहरू जलेर करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको आकलन छ। आगलागीबाट सोही घरमा रहेको ३८ वर्षीय सुयोभ मैनालीको काठमाडौं कस्मेटिक सर्जरीसमेत जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
बिहीबार (लक्ष्मीपूजाको दिन) साँझै ईलाम, देउमाई नगरपालिका-२ महबिर बस्ने चन्द्र प्रसाद पौडेलको घरमा विद्युत सर्ट भई बिहीबार साँझ आगलागी हुँदा घरभित्र रहेको किराना पसल र दूध डेरीमा रहेका सामानहरू जलेर करिब ६१ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ।
ईलामकै माङसेबुङ गाउँपालिका-२ भोटेडाँडा बस्ने भानुभक्त राईको किराना पसलमा विद्युत सर्ट भई बिहीबार बेलुकी आगलागी हुँदा नगद १ लाख १ हजार ५ सय रुपैयाँ, बिस्कुट, चक्लेट, चाउचाउ, भुजा, बियर लगायतका सामानहरू र दुई वटा र्याक समेत जलेर करिब ६ लाख १ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ।
सर्लाही, ईश्वरपुर नगरपालिका-७ ब्रह्म बाबा चोक बस्ने श्याम मैनालीको घरमा लक्ष्मीपूजाको लागि बालेको दियोबाट बिहीबार राति आगलागी हुँदा सोही घरमा रहेको मिनाक्षि ट्रेडर्स ट्याक्टरको सोरुममा रहेको २ वटा ट्याक्टरमध्ये १ वटा ट्याक्टर र मोटर पार्टसका सामानहरु जलेर करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
उदयपुर, त्रियुगा नगरपालिका-१२ स्थित ईस्मत अलिको घरमा सोही नगरपालिका-११ बस्ने टेक बहादुर दाहाल र राजकुमार राउतले सन्चालन गरेको रौतारानि रिकन्डिसन हाउसमा शुक्रबार बिहान आगलागी हुँदा मोटरसाइकलहरू र घर समेत जलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भयो।
सप्तरी, सप्तकोशी नगरपालिका-२ सितिपुरस्थित रौतहट दुर्गाभगवती गाउँपालिका-५ गंगापिपरा बस्ने मोहम्मद नोरेन मियाँको नेपाल कपास उद्योगमा विद्युत सर्ट भई बिहीबार साँझ आगलागी हुँदा १ थान रुई बनाउने मेसिन, १ थान मोटर र कपास समेत जलेर करिब १३ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भयो।
झापा, दमक नगरपालिका-३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरस्थित सेक्टर सी १ झुप्रो नम्बर १४६ बस्ने ४८ वर्षीय अम्बर मगरको घरमा बिहीबार बेलुकी आगलागी हुँदा सेक्टर सी ४ झुप्रो नम्बर १४७ बस्ने २७ वर्षीय रामचन्द्र चापागाईंको घरमा समेत आगो फैलिएर दुवै जनाको घरभित्र रहेका भाँडावर्तन, लत्ताकपडा, अन्नपात र नगद जलेर करिब १० लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भयो।
दोलखा, बिगु गाउँपालिका-६ आलम्पु बापाङ बस्ने चिनीमाया कामीको घरमा लक्ष्मीपूजा गरी बालेको दियोबाट बिहीबार राति आगलागी हुँदा घरभित्र रहेको नगद ५० हजार रुपैयाँ, सुन, लत्ताकपडा, अन्नपात लगायतका सामान जलेर करिब १७ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ।
सुर्खेत, लेकबेँशी नगरपालिका-२ गुमी बस्ने पबिसरा ठाडाको घरमा रहेको कस्मेटिक पसलमा बिहीबार राति आगलागी हुँदा पसलमा रहेको सामानहरु जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भयो। पर्सा, वीरगञ्ज महानगरपालिका-१० घरिअर्वा बस्ने हरेन्द्र महतोको घरमा पूजा गर्न बालेको बत्तीबाट बिहीबार राति आगलागी हुँदा घरभित्र रहेको १ थान सोफा सेट, १ थान कम्प्युटर, १ थान ल्यापटप र स्टिल दराज गरी करिब १० लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
भक्तपुर, भक्तपुर नगरपालिका-९ मालपोत कार्यालय नजिक सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने महादेव थापा र सोही नगरपालिका-१० चितापोल बस्ने सुरेश आलेमगरले संयुक्त रुपमा संचालन गरेको लेखापढी सेन्टरमा करेन्ट सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा टेबुल, कुर्सी, स्टिलको दराज, कम्प्युटर, १ थान फोटोकपी मेसिन र ४ थान सोफा जलेर करिब २ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीको भनाइ छ।
कारण र जोखिम न्यूनीकरण
सामान्यतया सुक्खा मौसममा बढी आगलागीका घटना दोहोरिन्छन्। दुर्घटना, हेलचेक्र्याईं, विद्युत् सर्ट र जानाजान कसैले लगाउनु पनि आगलागीका मुख्य कारण हुन्। रोकथाम उपचारभन्दा राम्रो हो भन्ने प्रचलित भनाइ आगलागी जस्ता अन्य विपद्मा पनि लागू हुन्छ। अर्थात् आगो लागेपछि कसरी नियन्त्रण गर्नेभन्दा पनि आगो लाग्न नदिने उपाय अपनाउनु महत्वपूर्ण हुन्छ।
बिजुलीको तार सर्ट हुनु, भान्सामा बालिएको आगो फैलनु, सलाई, लाइटरको लापरवाहीपूर्ण प्रयोग, हावाहुरीले आगो फैलाउनु आदि आगालागीका मुख्य कारण हुन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मानवीय लापरबाही नै आगलागीका मुख्य कारण हुन्। सही ढंगले आगो ननिभाउने गलत आनीबानी नै डढेलो र घर आगलागीको मुख्य स्रोत रहेको प्राधिकरणको भनाइ छ। त्यसबाहेक चट्याङ र विद्युत् सर्ट पनि आगलागीका अर्को मुख्य कारण हुन्। जंगल र पहाडी भेगमा चट्याङका कारण आगलागी धेरै हुने गर्छ।
पर्याप्त सचेतता अपनाएको खण्डमा आगलागीबाट हुने ठूलो जनधन न्यूनीकरण गर्न सकिन्छ। सतर्कता र सावधानी गर्दागर्दै पनि आगलागी हुन सक्ने भएकाले आगो नियन्त्रण गर्ने उपाय र उक्त सूचना दिने प्रणालीमा ध्यान दिन भने जरुरी छ।
विकसित देशहरूमा 'फायर अलार्म' सबै संरचनामा अनिवार्य रूपमा जडान गरिएको हुन्छ। धुवाँ र आगोको मात्राबमोजिम अलार्म बज्ने भएकाले आगो फैलिनुअघि नै नियन्त्रणमा लिन सजिलो हुन्छ। नेपालमा पनि फायर अलार्म प्रत्येक घरमा अनिवार्य रूपमा जोड्नुपर्ने कानुन बनाएर कडा कार्यान्वयन गर्नुपर्ने विषयमा बहस हुन थालेको लामै समय भएपनि यसको अभ्यास भने भएको पाईंदैन।
आगलागी वा डढेलोबाट हुने मानवीय क्षति मात्रै होइन, पर्यावरणीय क्षति पनि ठूलो हुने गरेको अनुसन्धाता उत्तमबाबु श्रेष्ठको भनाइ छ। तर यस विषयमा नेपालमा खासै अध्ययन नभएको उनको एक आलेखमा उल्लेख गरिएको छ।