बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बंगुर व्यवसायीको पीडा : नगरपालिकाको निर्णयले १७ करोड लगानी डुब्यो

बंगुर व्यवसायीको पीडा : नगरपालिकाको निर्णयले १७ करोड लगानी डुब्यो

फाँटमा आँखैले नभ्याउने जस्ताको टहरा, टहराभित्र राखिएका छन् बंगुरहरू। त्यही टहरा (बंगुरको खोर)भित्र बंगुरका पाठा नाच्दै छन् त कुनैमा माउ बंगुर आफ्ना पाठालाई सुम्सुम्याउँदै।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

भक्तपुर- फाँटमा आँखैले नभ्याउने जस्ताको टहरा, टहराभित्र राखिएका छन् बंगुरहरू। त्यही टहरा (बंगुरको खोर)भित्र बंगुरका पाठा नाच्दै छन् त कुनैमा माउ बंगुर आफ्ना पाठालाई सुम्सुम्याउँदै। कसैले केही खानेकुरा दिन्छन् कि भनेर हेरिरहेका बंगुर। यो दृश्यलाई नजिकैबाट नियाल्दै छन्, सुरेश लामा। 

विगत पाँच वर्षदेखि बंगुर फार्म सञ्चालन गर्दै आएका उनले अहिले करिब २५ लाखभन्दा बढी लगानी गरिसकेका छन्।   चाँगुनारायण नगरपालिका-९ ताथलीका चुनदेवीमा उनीसँगै ३५ वटा परिवारले बंगुर पाल्दै आएका छन्। 

उनको हरेक दिन बंगुरको स्याहारसुसारमा समय बित्ने गर्छ। उनलाई मानिसले भन्दा पनि बंगुरले बढी चिन्न थालिसकेको छ। तर, अब ती बंगुरलाई पनि कहिले छोडेर जानुपर्ने हो, कुनै टुंगो छैन। उनी भन्छन्, ‘चाँगुनारायण नगरपालिकाले केही दिन अगाडि बंगुर फार्म बन्द गर्न सूचना जारी गरेको छ। सूचना अनुसार हामीले बंगर पाल्न नपाइने भयौँ।’ 

अनुहार मलिन पार्दै उनले भने, ’जीवनभरीको पसिनाको कमाइ यसैमा लगानी गरेका छौँ। यतिधेरै लगानी छाडेर हामी कहाँ जाउँ, कसरी जाउँ। भर्खर जन्मिएका पाठाहरू छन्। उनीहरूलाई कहाँ कसरी स्थानान्तरण गरौँ?’ 

केही दिन अगाडि चाँगुनारायण नगरपालिकाले बंगर पालन बन्द गर्न निर्देशन दिएको छ। सूचनाअनुसार ३० दिनभित्र बंगुर फार्म नहटाए पालिकाले कारबाही गर्नेछ। तर, पालिकाले गरेको सो निर्णय अपरिपक्व रहेको व्यवसायीहरूको दाबी छ। पालिकाले कृषकलाई प्रोत्साहनको लागि सहयोग र अनुदान दिनुको साटो स्थापित भएका व्यवसायीहरूलाई नियमविपरीत उठाउन खोजेको उनीहरूको गुनासो छ। 

वैदेशिक रोजगारीबाट कमाएको पैसा फार्ममा लगानी गरेको र फार्मको ऋण अझ तिर्न बाँकी रहेको सुरेश लामा दुखेसो पोख्छन्। उनीसँगै कुमार लामाले पनि सोही क्षेत्रमा बंगुर पालन गरेका छन्। उनका फार्ममा सयभन्दा बढी बंगुरहरू छन्।

मलेसियाको तातो खडेरीमा पसिना बगाएर कमाएको पैसा बंगुर फार्ममै खन्याए। नगरपालिकाको उक्त सूचना देख्नेबित्तिकै उनले भने, ’गरिबको पीडा बुझ्ने को नै छ र? ’ उनले नगरपालिकाले पटकपटक बंगुर पाल्ने व्यवसायीलाई मर्कामा पार्दै आएको गुनासो गरे।

‘हामीलाई नगरपालिकाले गैरनागरिक जस्तो व्यवहार गरेको छ। तर, हामी पनि यही देशको नागरिक हौँ। हाम्रो बंगुरबाट स्थानीयलाई असर गरेको छैन। नगरपालिकालाई मात्र कसरी गर्‍यो?’, उनले भने, ‘लगानी उठेको छैन। ऋणमै छौँ। त्यो पैसा कसरी चुक्ता गर्ने? हामीमाथि नगरपालिकाले अन्याय गरेको छ।’ 

करिब ४० रोपनी क्षेत्रफलमा फैलिएको सो फार्ममा करिब १७ करोड लगानी गरिएको दाबी उनीहरूको छ। नगरभित्र मात्रै करिब पाँच सयवटा फार्म सञ्चालनमा रहेको अनुमान पालिकाको छ। स्थानीय जनस्तरबाट बंगुर फार्मबाट फोहोर भएको र स्वास्थ्यमा नकरात्मक असर परेकोले पालिकाले सो सूचना जारी गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए। 

मानववस्ती र बंगुर पालन सँगसँगै बस्न नहुने भएकोले पटकपटक बंगुर फार्म सार्नको लागि निर्देशन गर्दै आएको बताए। तर, नगरपालिकाको निर्णयलाई नै चुनौती दिएकोले अहिले बन्द गर्न निर्देशन गरेको उनले बताए। 

नगरपालिकाको सार्वजनिक सूचनाअनुसार ५ मंसिरभित्र नगरभित्रका सबै बंगुर व्यवसायीले फार्म पूर्ण रुपमा बन्द गर्नुपर्ने छ। नगरसभाबाट नै नगरभित्रका बंगुर फार्म बन्द गर्ने निर्णय गरेको उक्त सूचनामा उल्लेख गरिएको छ। -न्युज कारखाना

प्रकाशित: Nov 06, 2021| 19:30 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।