बुधबार, भदौ ३, २०८३

अचार व्यवसायमा रमाउँदै वासुकला

सानो घर। सानै परिवार। आर्थिक अवस्था भने कमजोर। बिहान बेलुकी हातमुख जोड्न ज्याला मजदुरी कै भर। घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल। यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका ५ ओख्रेकी बासुकला विश्वकर्मा।
 |  शनिबार, कात्तिक २०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २०, २०७८

तेह्रथुम- सानो घर। सानै परिवार। आर्थिक अवस्था भने कमजोर। बिहान बेलुकी हातमुख जोड्न ज्याला मजदुरी कै भर। घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल। यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका ५ ओख्रेकी बासुकला विश्वकर्मा। 

जीवनका संघर्ष निकै कष्टकर नै थियो। कमाइ ल्याउने र पकाइ खानेमै पर्थ्यो उनको परिवार।  तर, उनको दैनिकी फेरिएको छ। देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेका तालिममा सहभागी बनेकी उनी यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइ नभ्याइ बन्दै आएकी छिन्। 

हातमा सिप नहुँदा अरुकै घरमा ज्याला मजदुरी गर्दै आएकी उनी घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थालेकी हुन्। शारीरिक रूपमा समस्या रहेकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकोले समस्या छैन। गत वर्षदेखि मात्र सुरु गरेको उनको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ। घरायसी प्रविधिबाट अर्ग्यानिक रूपमा उत्पादन गर्ने गरेकी छिन्। 

उनी भन्छिन्, ‘तालिमले मलाई सिप मात्र दिएन परिवार धान्न गतिलो माध्यम पनि दिएको छ। यही अचार उत्पादनले मेरो परिवारलाई सामान्य घर खर्च चलाउँदै आएकी छु।’ 

उनी थप्छिन्, ‘सुरूमा मैले थोरै लगानीमा सुरु गरेको हो। बजारमा अचारको माग बढेको लगानी थप्ने सोचमा छु। लगानी थपेर अचार व्यवसायलाई निरन्तरता दिने लक्ष्य छ।’ 

छोरा वैदेशिक रोजगारमा छन्। श्रीमान्, बुहारी र उनी घरमा छन्। व्यवसाय सञ्चालनमा उनलाई श्रीमान् र बुहारीले साथ दिने गरेका छन्। उनको उद्योगमा उत्पादन भएको अचार प्रतिकिलो एक हजार रुपैयाँले बिक्री गर्ने गरेका छन्। परिवारको साथ सहयोगसँगै व्यवसाय गर्दै आएकी उनी आफ्नो व्यवसायबाट सन्तुष्ट छिन्। 

मेलिना अचार उद्योग स्थापना गरी गाउँमै उनले व्यवसाय गर्दै आएकी छिन्। खास गरी अकबरेको अचार उत्पादन गर्दै आएका छन्। श्रीमतीले सञ्चालन गर्दै आएको अचार उद्योगमा श्रीमान् सूर्यबहादुर विश्वकर्मा पनि सँगै छन्। सूर्यबहादुर भन्छन्, ‘सुरुका दिनहरूमा अचार उत्पादन गरे पनि बजार नपाउने हो कि भन्ने डर थियो। तर, यहाँ उत्पादन गरेको अचारले राम्रो बजार पाउँदा उत्साह जागेको छ। बजारमा माग बढ्दो भए पनि परिवारले मात्र उत्पादन गरेकोले धान्न सकिएको छैन।’ 

अचार बिक्रीको लागि बजार खोजिरहनु पर्दैन। ग्राहकहरूले फोनमार्फत अडर गर्दै आएका छन्। ग्राहकले आफैँ खोजी गर्ने गरेकाले पनि अचार बिक्री हुन्न कि भन्ने डर छैन वासुकलालाई। जिल्लाको दुर्गम गाउँमा उद्योग स्थापना गरी पूर्वका विभिन्न सहरका साथै राजधानीसम्म निर्यात गर्दै आएका छन्। 

अकबरे मात्र नभई काँक्रा, मेहेल, अमला, गाँजर, बन्दालगायतका अचार उत्पादन हुने गरेको छ। अचार उत्पादनका लागि चाहिने सामग्री गाउँमै पाउने भएकाले पनि उद्योग सञ्चालन गर्न समस्या छैन। विभिन्न संघ संस्थाहरूले सञ्चालन गरेका तालिमहरू खासै उपयोगमा आएका देखिँदैनन्। आफूमा इच्छाशक्ति हुने हो भने गाउँमै उद्योग स्थापना गरे रोजगार बन्न सकिन्छ भन्ने वासुकलाले उदाहरण बनेकी छिन्।                  -न्युज कारखाना 


प्रकाशित: Nov 06, 2021| 18:00 शनिबार, कात्तिक २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।