काठमाडौं- विराटनगरमा एक जना युवकको शव फेला परेको छ। विराटनगर महानगरपालिका-१६ स्थित दरैया मुसहरी वस्ती नजिक खदम खोला किनारमा करिब २५/२६ वर्षका युवकको शव फेला परेको हो।
प्रहरीका अनुसार कालो रंगको टि-सर्ट र कालै रंगको ट्राउजर लगाएको, गोरो अनुहार, कालो कपाल, पाँच फिट चार इन्च उचाइ, घाटीमा गणेशको टाउको भएको खैरो रंगको माला लगाएको र बायाँ कानमा पहेँलो धातुको कुन्डल लगाएका व्यक्तिको शव फेला परेको हो।
शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरको शव गृहमा राखिएको छ।