काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्गअन्तर्गत चन्द्रागिरि–चित्लाङ खण्डमा भइरहेको ढुङ्गा व्यापार तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताएका छन्।
शुक्रबार राजधानीमा विभिन्न पर्वहरूका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापारका कारण भइरहेको ढिलासुस्तीको अन्त्य गर्न तत्काल पहल गर्ने बताएका हुन्।
आफूले चन्द्रागिरि–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार गरिरहेको सुनेकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम सुचारु गर्ने मन्त्री शर्माले बताए। ‘चन्द्रागिरिको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म म पहल र वातावरण निर्माण गर्ने प्रयत्न गर्नेछु’, मन्त्री शर्माले भने, ‘यहाँको अहिलेको ठूलो समस्या भनेको गणेशमान सिंह मार्गको चित्लाङ खण्डमा ढिलासुस्ती भएर यो मार्ग व्यापारतिर लागेको भन्ने सुनेको छु। त्यो ढुङ्गाको व्यापार अन्त्य गरेर छिटोभन्दा छिटो यो सडक निर्माण गर्न मैले तत्काल पहल कदमी लिनेछु।’
अर्थमन्त्री शर्माले काठमाडौंको ट्राफिक जामलाई कम गर्न चन्द्रागिरि क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहल समेत गर्ने बताएका छन्।
यसैगरी गरिब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल संवत्को सुरुवात गर्ने शङ्खधर साख्वाको सपना पूरा गर्न प्रयत्न गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। ‘११४२ वर्षअघि सुरु भएको शङ्खधरको अभियान अझै बाँकी छ। गरिबहरूको ऋण मोचन गर्न बाँकी छ, उनीहरूलाई आत्मनिर्भर बनाउनु छ’, उनले भने, ‘शङ्खधरको त्यो बेलाको सपना पूरा गर्न अझै बाँकी छ । त्यो दायित्व हाम्रो काँधमा छ। यस अभियानमा लाग्न सबैलाई आग्रह छ।’
शङ्खधर साख्वालाई तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा राष्ट्रिय विभूति घोषणा गरिएको थियो। त्यस्तै पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिइएको थियो।