आज गाई, गोरु, गोवर्द्धन र हलि पूजा
यमपञ्चक अर्थात तिहारको चौथो दिन आज एकै दिन गाई–गोरू र गोवर्द्धन पूजा गरिँदैछ। वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आइएको छ। गाईको पूजा गरी यस दिन मिठा–मिठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। यस्तै आजका दिन घर आागनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्द्धन पर्वतको आकृति बनाई पूजा समेत गरिन्छ। द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो। आजको दिन वर्षभरि जमिन जोत्न र गाडा तान्न सहयोग गर्ने गोरुको पनि वभिन्न परिकार खुवाएर पूजा गरिन्छ।
नेपाल संवत् ११४२, र म्ह : (आत्म) पूजा
प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शंखधर साख्वाःले वि.सं. ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराएका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिए। यसैबिच, नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ।
नेवार समुदायले आज म्हः पूजा गर्दै छन्। कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायले आफ्नो आत्मा पूजा गर्दै म्हः पर्व मनाउने प्रचलन छ। आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन सार्थक हुने धार्मिक विश्वास छ। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमको भनाइ छ।
जाजरकोटमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु
जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक गए राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो। दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र नाम नखुलेका एक अर्का जनाको ज्यान गएको छ। मिनी ट्रकमा १० जना सवार रहेकोमा एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन्। धनबहादुर चालक हुन्।
अनामनगरस्थित कार्की भवनमा आगलागी
लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्किदा काठमाडौंको अनामनगरस्थित कार्की भवनमा आगलागी भएको छ। भवनको फर्निचर सोरुममा हिजो बेलुका दियो बालेर छाड्दा आगलागी भएको स्थानीयले बताएका छन्। दमकल, प्रहरी र स्थानीयको प्रयासमा करिब ३ घण्टापछि आगो नियन्त्रणमा आएको थियो। आगलागीबाट करिव ५० लाख रुपैयाँबराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ।
राष्ट्र बैंकद्वारा तीन हजार एक सय थान सुनका सिक्का बिक्री
यस वर्षको तिहारको अवसरमा राष्ट्र बैंकले विभिन्न दरका गरी ३ हजार १ सय थान सुनका सिक्का (असर्फी) बिक्री गरेको छ। १० ग्रामका असर्फी ५ सय थान, ५ ग्रामका १ हजार थान र साढे २ ग्रामका १ हजार ६ सय थान गरी ३ हजार १ सय थान असर्फी बिक्री भएको राष्ट्र बैंक टक्सार विभागले जनाएको छ। तिहारका लागि राष्ट्र बैंकले गत अस्ति सोमबार र हिजो मंगलबार सुन तथा चाँदीका सिक्काको बिक्री खुला गरेको थियो।
युरोपमा कोरोना संक्रमण उच्च सक्ने डब्लुएचओको चेतावनी
विश्व स्वास्थ्य संगठन डब्लुएचओले आगामी तीन महिनामा युरोपमा कोरोना संक्रमणबाट ५ लाख बढी मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ। डब्लुएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोपका ५३ देशमा कोरोना संक्रमणको वर्तमान गति चिन्ताको विषय भएको बताएका हुन्। उनका अनुसार गत साता विश्वभर कोरोना संक्रमणका आधाभन्दा बढी घटना र झण्डै आधाको मृत्यु मध्य एसियालगायत युरोप क्षेत्रमा भएको थियो। उनले खोपको गति बढाउनु पर्नेमा जोड दिएका छन्।
टी–२० विश्वकपबाट बाहिरियो वेस्ट इन्डिज
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा श्रीलंकासँग पराजित भएपछि वेस्ट इन्डिज समूह चरणाबाटै बाहिरिएको छ। बिहिबार राति यूएईमा भएको खेलमा श्रीलंकासँग २० रनले पराजित भएपछि वेस्ट इन्डिज समूह चरणबाटै बाहिरिएको हो। १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै केवल १ सय ६९ रन जोड्न सक्यो। यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन जोड्न सफल भयो। यस्तै हिजो नै भएको खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित जित निकालेको छ।