एमसीसीबारे देउवाको नयाँ खुलासा
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता पास गर्छौं भनेर आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेरै दिएको खुलासा गरेका छन्।
बेलायत भ्रमणबाट बिहीबार स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो खुलासा गरेका हुन्। उनले सत्ता साझेदार दलहरु बीचमा कुराकानी भइरहेकाले चाडै प्रक्रिया पुर्याएर एमसीसी पास गर्ने बताएका छन्। जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायत गएका प्रधानमन्त्री देउवालाई एमसीसीकी डेपुटी सीईओले स्कटल्याण्डमा भेटेका थिए। भेटमा उनले नेपालमा अब छिटै पत्रकार सम्मेलन गरी एमसीसी पास गर्ने बताएको जानकारी दिए।
प्रधानमन्त्री देउवाले बेलायतमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग एयरस्पेस लगायत दुई देशका विभिन्न समस्याहरुका बारेमा कुरा गरेको बताए। भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनी अन्तर्र्राष्ट्रिय विमानस्थल सञ्चालनपछि भारतको भूमि हुँदै विमानहरु अन्यत्र जानुपर्ने भएकोले त्यस सम्बन्धमा पनि कुरा गरेको बताउँदै नेपालप्रति भारतको सद्भाव देखिएको जानकारी दिए। मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको बताउँदै मोदीले आफूलाई भारत भ्रमणको निम्तो दिएको जानकारी दिए।
प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नेपाललाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको बताए। उनले नेपालमा हरित ग्याँस घटाउने कुरा आफूले कोप २६ मा राखेको बताउँदै सबै देशले यसमा सहयोग गर्ने र कार्बन उत्सर्जन कम गर्नेमा प्रतिवद्धता जनाएको जानकारी दिए।
सक्रिय बन्दै नेकपा एस
आफ्नो पार्टीमा आउन चाहने राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न नेकपा एकीकृत समाजवादीले ३ सदस्यीय वार्ता टोली गठन गरेको छ।
एकिकृत समाजवादीले महासचिव बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो। बिहिबार विज्ञप्ति जारी गरेर दिएको जानकारी अनुसार यो निर्णय बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले गरेको हो। वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव पेश गरी पार्टी सचिवालय समितिमा पेश गर्ने पनि विज्ञप्तिमा जनाइएको छ।
यस्तै नेकपा एकीकृत समाजवादीले विदेश विभाग प्रमुखको जिम्मेवारी नेता झलनाथ खनाललाई दिएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकल विदेश विभाग उपप्रमुखमा प्रमेश हमाल, सदस्यहरुमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर वाईपी संग्रौला र शंकर खतिवडा रहेका छन्। एकीकृत समाजवादीले संगठन विभाग प्रमुखमा महासचिव बेदुराम भुसाललाई जिम्मेवारी दिएको छ। शिक्षा र विपद व्यवस्थापन विभागको प्रमुखमा डा. गंगालाल तुलाधर र सहकारी विभाग प्रमुखमा गोविन्द कोइरालालाई जिम्मेवारी दिइएको छ।
निर्वाचन तोकिएकै समयमा हुन्छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकेकै समयमा हुने बताएका छन्।
बिहीवार नेकपा(एकीकृत समाजवादी) मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल सम्वत् ११४२ र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले कसैले चाहादैमा संघीय संसदको निर्वाचन चाडैँ नहुने बताए। उनले संघीय संसदको निर्वाचन संविधानले तोकिएकै समयमा बताए।
अध्यक्ष नेपालले केपी ओलीको दम्भकै कारण एमालेले केन्द्रिय सरकार र प्रदेश सरकारमा एमालेले हैसियत गुमाउनु परेको बताए। उनले नवौं महाधिवेशनमा ओलीलाई जिताएर साथीहरुले भूल गरेको कारणले नै एमाले पार्टीको दुर्भाग्य सुरु भएको टिप्पणी समेत गरे। एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरु निसास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएको उनको भनाइ छ।
अध्यक्ष नेपालले एमाले पार्टीमा रहेका असन्तुष्टहरुलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने समेत बताए। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नराम्रो काम गरेमा तत्काल कारवाही गरी मन्त्री पदबाट हटाउने पनि उनले बताए।
न्यायपालिकाको समस्या सरकारले समाधान गर्नुपर्छ : प्रकाशमान सिंह
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका छन्।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका हुन्। उनले न्यायालयमा भएको बेथितीलाई गठबन्धन सरकारले हटाउनुपर्ने बताए। न्यायालयको यो अवस्था भइसक्दा समेत राजनीतिक दलका नेताहरुले न्यायालयमा दखल गर्नु हुँदैन भनेर बस्न नमिल्ने उनको भनाइ छ।
नेता सिंहले नेपाली काँग्रेसको कलहका कारण कम्युनिष्टहरुलाई फाइदा भएको समेत बताए। उनले आफूले पार्टी सभापतिमा दाबी गर्दा गलत दुष्प्रचार गरिएको समेत बताए। धाँदलीरहीत प्रतिष्पर्धामा उत्रिन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले चुनौति दिए। नेतृत्वले काम गर्न नसक्दा पार्टीमा बेथिती मौलाएको उनको दाबी छ।
मिश्र पक्षलाई वैधता
निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र पक्षलाई दिएको छ।
मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो। त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको हो। विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ भने संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ। विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो। संशोधित विधानमा बैठक बोलाउने अधिकार अध्यक्षलाई मात्र दिइएको छ।
यसैबिच, निर्वाचन आयोगको निर्णयप्रति संयोजक मिलन पाण्डे पक्षले असन्तुष्टि जनाएको छ। पाण्डे पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध अदालतमा पुनरावेदन दिने तयारी गरेको छ। जुम बैठकको ‘स्क्रिनसट’लाई आयोगले आधिकारिकता दिनु पनि अनौठो रहेको पाण्डेले बताएका छन्।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई राजनीतीकरण गर्नुहुन्न : निमग
नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका छन्।
बिहीवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गरेका हुन्। अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वभाविक भएको उनको भनाइ छ। उनले नेपालमा तेलको मूल्य वृद्धि भएको विषयलाई अनर्गल ग्रचार गरिरहेको बताउँदै राजनीतिक दल र तिनका भातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको आरोप लगाए। अन्तर्राष्ट्रिय बजारमा प्रतिलिटर ७ रुपैयाँ तेलको मूल्य बढ्दा नेपालमा ३ रुपैयाँ मात्र बढाइएको बताउँदै कार्यकारी निर्देशक पौडेलले यसले जनतालाई मारमा नपार्ने दाबी गरे।
कार्यकारी निर्देशक पौडेलले नेपाल आयल निगम गत वर्षको जनवरीदेखि नै घाटामा रहेको बताए। उनले मूल्य बढेपछि अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको बताउँदै पछिल्लो २ वर्षमा १७/१८ रुपैयाँ घटाएको बताए। निगमले अहिलेसम्म तथ्यांक नलुकाएको दाबी गर्दै निगमलाई तथानाम गाली गलौज गर्नु अर्थतन्त्र सिध्याउने काम मात्र भएको उनको भनाइ छ।
कार्यकारी निर्देशक पौडेलले अहिले निगम डिजेलमा प्रतिलिटर १५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र एलपी ग्याँसमा ७२० रुपैयाँ नोक्शानमा रहेको बताए। यस वर्षमा पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १४० रुपैयाँ पुग्ने बताउँदै यसलाई अन्यथा मान्नु नहुने बताए। उनले यस आर्थिक वर्षमा निगमले जति नै मूल्य बढाएपनि २० अर्ब नोक्शानमा जाने दाबी समेत गरे।
भारतीय फूल भित्रिएपछि स्वदेशी व्यापारी मारमा
भारतबाट धेरै परिमाणमा फुल आए पछि नेपाली ब्यबसायी मारमा परेको गुनासो गरेका छन्।
काठमाडौँको अधिकांश बजार क्षेत्रमा भारतीय फूल देखिएको छ। भारतीय फूल प्रतिमाला दुई हजार रुपैयाँसम्म विक्रि हुँदा नेपाली फूलको प्रतिमाला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसान ब्यापारीले गुनासो गरेका छन्। काठमाडौँमा लक्ष्मी पूजा र गोबर्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलहरुको बिक्रि धेरै हुने गर्छ। कात्तिक पहिलो साता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बाली सँगै फूल खेतीमा पनि क्षति गरेको थियो। काठमाडौंको न्यू रोडमा फूल बेच्ने र किन्नेहरुको अत्याधिक भिडभाड देखिए पनि नेपाली किसान ब्यापारी भने निराश देखिएका छन्।
यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले पाउने अनुमान गरिएको थियो। तर बेमौसमी वर्षाको कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भएपछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ। नेपालमा वार्षिक रूपमा करिब ३ अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको बिभिन्न अध्ययनले देखाएको छ।
भाइमसलाको व्यापार
काठमाडौंको व्यस्त शहर न्यूरोड, असन लगायतका शहरमा भाइ मसला किन्नेहरुको चहल पहल बाक्लिएको छ।
भाइ टिकाको दिन चेलिबेटीले आफ्ना दाजुभाईलाई भाइ मसला दिने गर्दछन्। दाजुभाईलाई सप्तरंगी टिका र माला लगाइदिइसकेपछि चेलिबेटीले भाइमसला लगायतका मिठा मिठा परिकार दिने प्रचलन रहेको छ। भाइ मसलामा नरिवल, मिश्री, काजु, किसमिस, ओखर, देशी बदाम, सुकुमेल, पेस्ता, ल्वाङ, मख्खना, छोकडा, सुपारी, मरिच लगायत राख्ने गरिन्छ। यी मसलाहरु किनमेल गर्न सुरु भइसकेका छन्। विगत दुई दिन यता भाइ मसला किन्नेहरुको भीड बढेपनि असनमा भने अघिल्लो वर्षको तुलनामा व्यापार कम नै भएको मसला व्यापारी सजिव बज्राचार्यले बताए। उनले भाइ मसला प्रायः विदेशबाट आउने र नेपाली उत्पादन कम नै हुने बताए।
सडक पेटीहरुमा सानादेखि, ठुलासम्मका प्याकेट बनाएर बेचविखन भइरहेको पनि देख्न सकिन्छ। हरेक सामान किन्न हरेक पसल पुग्नुपर्ने झन्झटबाट मुक्त हुन उपभोक्ताहरु सबै सामग्री मिसिएको रेडिमेट प्याकेटमै आकर्षित भएका छन्।
नेपाली टोली बंगलादेश प्रस्थान
आइसिसी वुमन्स टी–२० विश्वकप छनोट प्रतियोगिताको तयारी नेपालले बंगलादेशमा गर्ने भएको छ।
तयारीका लागि नेपाली महिला टिम आज बिहीबार बंगलादेश प्रस्थान गरेको छ। एक साता बंगलादेशमा तयारी गर्दा नेपालले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। नेपाली टिम आगामी ११ नोभेम्बरसम्म बंगलादेशमा रहनेछ। छनोट प्रतियोगिता युएईमा नोभेम्बर १९ देखि २९ तारिखसम्म हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ। नेपालले दोस्रो खेल भुटानविरुद्ध २३ तथा तेस्रो खेल कुवेतविरुद्ध २५ तारिखमा खेल्नेछ। चौथो खेल मलेसियासँग २६ तारिख तथा पाँचौ खेल २८ तारिखमा युएईविरुद्ध खेल्ने तालिका रहेको छ। प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ।
भिडियोमा हेर्नुहोस्