न्यायाधीशमाथि वकिलको प्रश्न
न्यायालयमा देखिएको विवादको विषयमा सत्तारुढ नेपाली कांग्रेस र विपक्षी नेकपा एमाले निकट कानुन व्यवसायी संगठन एक ठाउँमा उभिएका छन्।
नेपाली कांग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) र नेकपा एमाले निकट कानुन व्यवसायीहरुको संगठन प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले सर्वोच्च अदालतले अविलम्ब मुद्दाको सुनुवाइ गर्नुपर्ने बताएका छन्। न्यायिक उपचार प्रदान गर्ने दायित्वबाट सर्वोच्च अदालतका न्यायायाधीश पन्छिन नमिल्ने उनीहरुको भनाइ छ। स्रोतका अनुसार दुबै संगठनले सल्लाह गरेर बुधबार अदालतको विषयमा एकै आशयको विज्ञप्ति जारी गरेका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषद र राज्यका विभिन्न निकायमा भाग खोजेको, न्यायपालिका सुधारको काम गर्न नसकेको, न्यायपालिकाप्रति जनआस्था जगाउन नसकेको भन्दै सर्वोच्च अदालतकै न्यायाधीशले उनको राजीनामा माग गरेका छन्। सर्वोच्चका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणबाहेकका अन्य मुद्दा हेरेका छैनन्। पीपीएलएले प्रधानन्यायाधीशको कारण न्यायाधीशहरु न्याय सम्पादनबाट विमुख हुनुको जिम्मेवारी प्रधानन्यायाधीशले लिनुपर्ने र उनले नै निकास दिनुपर्ने बताएको छ।
प्रजातन्त्र दलहरूको कम्पनीका रूपमा विकासित भयो : कल्याण श्रेष्ठ
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको प्रजातन्त्र दलहरुको कम्पनीको रुपमा विकसित भएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित ‘नेपालको राजनीतिक सन्दर्भ (घट्नाक्रमहरुको संगालो)’ पुस्तक बिमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको टिप्पणी गरेका हुन्। उनले प्रजातन्त्र दलहरुको बाँडफाँडमा परेको बताए। राजनीतिक दलहरुले हरेक विषयको निर्णय गर्दाखेरी आफ्नो भागमा के पर्छ भन्ने स्वार्थले हेर्ने गरेको उनको भनाइ छ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले राजनीतिक दलहरुले जनतालाई तर्साउदै हिडेको बताए। राजनीतिक दलहरुले जनतामाथि आफ्नो अधिपत्य जमाउनका लागि थर्काउने र तर्साउने गरेको उनले बताए। राजनीतिक दलहरुको यस्ता गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सहि दिशाबोध गर्न नसकेको उनको भनाइ छ।
उनले एक टेलिभिजन कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई विवेक नभएको मान्छे भनेको तर्फ इंकित गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले आफ्नो विवेक बारे आफुले दाबी नगर्ने बताए। आफूले गरेका निर्णयहरुमा कति विवेक पुगे, पुगेनन् भन्ने विषय जनताको माझमा रहेको भन्दै जनताले नै निर्णय गर्न सक्ने बताए।
एमालेले डाक्यो महाधिवेशनका लागि विदेशी प्रतिनिधि
नेकपा एमालेले आफ्नो दसौँ राष्ट्रिय महाधिवेशनमा विभिन्न देशका प्रतिनिधिलाई आमन्त्रण गरेको छ।
यस्तै, नेपालका प्रमुख राजनीतिक दलहरूलाई पनि निमन्त्रणा गरिने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। तर, एमालेबाट विद्रोह गरेर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई नबोलाउने स्पष्ट पारे। चितवनमा हुने महाधिवेशनमा प्रमुख राजनीतिक दलहरूलाई मात्र बोलाउने बताउँदै अवैध सम्बन्ध गर्भधारणबाट जन्मिएको एकीकृत समाजवादी पार्टीलाई बोलाइरहनु नपर्ने उनको भनाइ थियो।
प्रचार विभाग प्रमुख भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरुमाथि हस्तक्षेप भएको बताएका हुन। गठबन्धन सरकारले संवैधानिक अंगहरुमा स्वेच्छाचारिताको गम्भीर प्रश्न उठेको बताउँदै शक्तिहरुको स्वार्थमा देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोप लगाए।
प्रचार विभाग प्रमुख भट्टराईले महाधिवेशन ऐतिहासिक र भव्य हुने बताउँदै उक्त महाधिवेशनमा विधान महाधिवेशन भएको दुई महिनामा भएका ठूला राजनीतिक घटनाहरुको बारेमा पनि पार्टीले स्पष्ट धारणा राख्ने उनको भनाई छ।
५ महिनापछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुन्छ : प्राधिकरण
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन्।
बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिती) को काम लगभग सकिसकेको बताउँदै अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका हुन्। उनले अबको एक महिनामा परीक्षण उडान गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताए ।
महानिर्देशक क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फिजिकल एन्फास्ट्रक्चरको काम ८० प्रतिशत सकिएको बताएका छन्। सरकारले रिट्ठेपानी डाँडा काट्ने काम गरिदिए र ल्याण्डफिल्ड बनाइदिए अबको ६ महिनामा परीक्षण उडान हुने बताउँदै एक वर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भर्न सकिने बताए। महानिर्देशक क्षेत्रीले युरोपियन युनियन (इयू)ले नेपालको एयरलाइन्सलाई ब्ल्याक लिस्ट (कालोसूची)मा राखेकोले त्यसबाट हटाउन आफ्नो नेतृत्वमा काम भइरहेको बताएका छन्।
पोखरा विमानस्थलमा भैरहवा भन्दा राम्रो विमानस्थल बन्न लागेको र निकट भविष्यमै सञ्चालनमा आउने बताए। उनले निजगढ विमानस्थलको काम पनि शुरु भइसकेको र लगानीको जोहो कसरी गर्ने ? कुन मोडलमा गर्ने ? भन्ने निर्णय गरे प्राधिकरण तयार रहेको बताए। महानिर्देशक क्षेत्रीले अहिले नेपालमा हरेक जिल्लामा विमानस्थल चाहिन्छ भन्ने कुरा विकास भएको भएपनि यो सम्भव नभएको उनको भनाई छ।
व्यापारीले बढाए हवाई भाडा
वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ। संघले बुधबार एक सूचना जारी गर्दै आन्तरिक उडान तर्फको नयाँ भाडादर सार्वजनिक गरेको हो।
नयाँ भाडादर अनुसार आन्तरिक उडान तर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ३४५ रुपैयाँसम्मले वृद्धि गरिएको संघले जनाएको छ। संघका अनुसार सबैभन्दा बढी भाडा वृद्धि काठमाडौं–माउन्टेन फ्लाइटको ३४५ रुपैयाँले र काठमाडौं–भद्रपुर ३०० रुपैयाँले वृद्धि गरिएको छ भने सबैभन्दा कम डोटी–साफेबगर ४५ रुपैयाँले वृद्धि भएको छ।
बढेको भाडादर अनुसार अब काठमाडौं–माउन्टेन फ्लाइटको भाडा ३ हजार २९५ रुपैयाँ र काठमाडौं–भद्रपुरको २ हजार ८८० रुपैयाँ पुगेको छ। यस्तै डोटी–साफेबगरको ४०० रुपैयाँ पुगेको छ। यसअघि माउन्टेन फ्लाइटको २ हजार ९५० रुपैयाँ, काठमाडौं–भद्रपुरको २ हजार ५८० रुपैयाँ र डोटी–साफेबगरको ३५५ रुपैयाँ रहेको थियो।
१६ लाख डोज खोप नेपाललाई हस्तान्तरण
चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदुत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गर्नु भएको हो।
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै नेपालीलाई खोप दिईसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गर्नु भयो। उनले त्यस अवसरमा हालसम्म चीन सरकारले नेपाललाई ३४ लाख सो खोप अनुदान सहायताको रुपमा उपलब्ध गराएको पनि जानकारी दिए।
उता, चिनियाँ राजदुत यान्छीले नेपाल सरकारको कोभिडविरुद्धको अभियानमा साथ दिन चीन सरकारले आवश्यक सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले २ दिन पछि चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने जानकारी समेत दिइन्।
४४७ संक्रमित थपिए
गत २४ घण्टाभित्र नेपालमा थप ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल नौ हजार ९१३ जनाको नमूना परीक्षण गर्दा ४४७ जनामा कोरोना ’पोजिटिभ’ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३९५ र एन्टिजेन विधिबाट ५२ संक्रमित पहिचान भएका छन्। उक्त अवधिमा कोरोना संक्रमणका कारण सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी, ४३९ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।
उपत्यकाबाट बाहिरिनेलाई खोप
तिहार मनाउन गाउँ फर्किनेहरुलाई धमाधम कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ। रोल...
सरकारले तिहार तथा छठ मनाउन काठमाडौं उपत्यकाबाट गाउँ फर्किने नागरिकहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरुलाई काठमाडौं उपत्यकाको बल्खु, कोटेश्वर, गोंगबु र कलंकी चोकमा कोरोनाबिरुद्धको खोप अभियान सञ्चालन भइरहको छ। सर्वसाधारणहरुले सरकारले गरेको यो कार्यक्रम उचित रहेको प्रतिक्रिया दिएका छन्।
मन्त्रालयका अनुसार दुई दिनसम्म सञ्चालन हुने खोप अभियान बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ। मंगलबारबाट शुरु भएको खोप अभियान नागरिकले आफ्नो परिचयपत्र देखाएर लगाउन सक्नेछन्।
राजेश हमालको स्वरमा गीत सार्वजनिक
अभिनेता राजेश हमाल आफैंले स्वर दिएको म्युजिक भिडियो सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच अभिनेता हमाल आफैले स्वर दिएको र आफ्नै अभियन रहेको ‘मन बूढो भएन’ नामक पहिलो म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
दीपक शर्माको गीत तथा संगीत तथा देवेन्द्र पाँण्डको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा अभिनेता हमालसँगै एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलको पनि स्वर छ। कार्यक्रममा बोल्दै अभिनेता हमालले आफैले स्वर दिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएकोमा खुसी लागेको प्रतिक्रिया दिए।
यता, हमालसँगै अभिनय गरेकी रेश्मा घिमिरेले राजेश हमालसँग अभिनय गर्न पाउनु आफ्नो लागि भाग्यको विषय भएको प्रतिक्रिया दिएका हुन। उनले सो अवसर प्रदान गरेकोमा म्युजिक भिडियोका निर्देशक पाण्डेसहितको टिमलाई पनि धन्यवाद दिएका हुन।
भिडियोमा अभिनेता हमाल र अभिनेत्री घिमिरेको जोडि जमेको देख्न सकिन्छ।
थप कठोर बन्दै तालिवान
तालिवान सरकारले अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाएको छ।
पहिलेदेखि नै धर्मराइरहेको अर्थव्यवस्थामा यो कदमपछि झनै खराव अवस्था निम्तिन सक्ने आँकलन गरिएको छ। तालिवानका प्रवक्ता जबीउल्लाह मुजाहिदले यदि कुनै पनि नागरिकले घरेलु लेन–देनमा विदेशी मुद्राको प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएका छन्।
अफगानिस्तानभित्र कयौं व्यापारिक कारोबार अमेरिकी डलरमार्फत भइरहेको छ। तालिवानले सत्ता हत्याएपछि अन्तर्राष्ट्रिय समूदायले सहयोग रोक्का गर्दा अफगानी मुद्राको मूल्यका ठूलो गिरावट आएको छ। तत्कालै तालिवानी सत्ताले अन्तर्राष्ट्रिय समर्थन पाउने संभावना पनि देखिँदैन।
राखेपमा सदस्यसचिव सिफारिस गर्न समिति गठन
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ।
बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको हो। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिलवस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाण्डौं नगरपालिका १३, ताहाचल) सदस्य रहने गरि समिति गठन गरिएको हो।