शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • जनकपुरधाम उपमहानगरपालिकामा किन बस्न मान्दैनन् प्रशासकीय अधिकृत?

Siddartha premir insuranceSiddartha premir insurance

जनकपुरधाम उपमहानगरपालिकामा किन बस्न मान्दैनन् प्रशासकीय अधिकृत?

जनकपुरधाम उपमहानगरपालिकामा प्रदेश २ को अस्थायी राजधानी हो। राजधानीमा बसेर कर्मचारीहरू काम गर्न रुचाउँछन्। तर, जनकपुरधाम उपमहानगरपालिकाको केसमा यो कुरो ठिक उल्टो छ।
 |  बुधबार, कात्तिक १७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकामा प्रदेश २ को अस्थायी राजधानी हो। राजधानीमा बसेर कर्मचारीहरू काम गर्न रुचाउँछन्। तर, जनकपुरधाम उपमहानगरपालिकाको केसमा यो कुरो ठिक उल्टो छ। 

triton college

उपमहानगरपालिकामा अधिकृत भएर आउनेहरूका लागि यो ठाउँ काम गर्न निकै असज हुने गरेको छ। जनकपुरधामका स्थानीयले स्थानीय सरकार पाएको चार वर्षमा उपमहानगरमा आठ अधिकृत फेरिएका छन्। यस्तै ९औं अधिकृत सरुवा गराउनकै लागि बिदा काठमाडौं पुगेका छन्।

उपमहानगरमा दीपावलीको पूर्व सन्ध्यामा सरसफाइ नभएकै कारण केही दिन अगाडी मात्रै वडाध्यक्षहरूले फोहोर संकलन गरेर नगरप्रमुख लालकिशोर साहकै घर अगाडी थुपारेका थिए। यसका साथै नगरको विभिन्न योजनाहरू कार्यान्वयन गर्नमा समेत अहिले समस्या हुँदै आएको उपप्रमुख रिता झाले सार्वजनिक मञ्चबाटै बताउँदै आइरहेकी छन्। 

नगरमा नगरप्रमुखको चर्को आलोचना भइरहेको समयमा उनी अहिले काठमाडौंमा छन्। यसका साथै प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खतिवडा जनकपुरधाम नबस्ने सोचेरै काठमाडौं पुगी सकेका छन्।

उपमहानगरपालिकाको चुनावताका अर्जुन सुवेदी यहाँका प्रमुख प्रशासकीय अधिकृत थिए। त्यसपछि मदन घिमिरे, उमेश ढुंगाना, प्रदीप साह, सीता परियार, धर्मानन्द जोशी,  गोपालप्रसाद रेग्मी आए।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजनाहरू नै अलपत्र परेको उपप्रमुख झा बताउँछिन्। तर, यहाँ कुनै प्रमुख प्रशासकीय अधिकृत ६ महिनाभन्दा बढी टिक्दैनन्। यो प्रश्न जनप्रतिनिधिहरूदेखि स्थानीयमा समेत उब्जिएको छ। कतिपय वडाध्यक्षहरूका अनुसार नगरप्रमुख साहले मनोमानी ढंगले योजना चलाउन, बजेट खर्च गर्न प्रमुख प्रशासकीय अधिकृतहरूलाई दबाब दिने गरेका कारण केही महिनामै उनीहरूले सरुवा प्रक्रिया थाल्छन्।

नगर प्रमुख साहकै दबाब सहन नसकेर प्रमुख प्रशासकीय अधिकृत खतिवडा बस्न नचाहिरहेको चर्चा रहेको समयमा खतिवडाले भने नियमित सरुवाको समय भई सकेकोले आफू सरुवाका लागि काठमाडौं आएको बताए। उनी २०७७ साल भदौ ३० गते प्रमुख प्रशासकीय अधिकृत भएर जनकपुरधाममा हाजिरी भएका थिए। स्थानीय सरकार पाएपछि सबैभन्दा बढी समय अधिकृत भएर बस्ने खतिवडा नै हुन्।   

Metro Mart
vianet

उपमहानगरपालिकाको चुनावताका अर्जुन सुवेदी यहाँका प्रमुख प्रशासकीय अधिकृत थिए। त्यसपछि मदन घिमिरे, उमेश ढुंगाना, प्रदीप साह, सीता परियार, धर्मानन्द जोशी,  गोपालप्रसाद रेग्मी आए।

यी सबै प्रमुख प्रशासकीय अधिकृतहरू बढीमा सात महिनासम्ममात्र उपमहानगरमा काम गरे। त्यसपछि कतिपयले काम गर्न नसकेको भन्दै सरुवा मागेर गए, कतिलाई सरुवा गरियो।

उपमहानगरमा वर्षमा दुई वटा प्रमुख प्रशासकीय अधिकृत फेरिनु अस्वाभाविक भएको टिप्पणी हुन थालेको छ।

अहिले जनकपुर उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत रहे पनि पद रिक्त जस्तै छ। यस्तो समयमा कर्मचारीका प्रमुख नै नहुँदा धेरै काम प्रभावित हुने वडाध्यक्षहरू बताउँछन्।

जनकपुरधाम उपमहानगरमा चार महिना पनि नटिकेका प्रमुख प्रशासकीय अधिकृत हुन् गोपालप्रसाद रेग्मी। उनी झन्डै डेढ वर्ष अगाडी उपमहानगरको कार्यालयमा हाजिर भएका थिए।

२०७७ सालको चैत, वैशाख, जेठ र असार पुरै महिना कार्यालयमा बसेर रेग्मीले काम गरे। २०७७ साउन ७ गते बिदामा बसे। असार मसान्त सकिए लगत्तै बिदामा गएका उनी पुनः कार्यालयमा हाजिर भने भएनन्।

रेग्मीअघि प्रमुख प्रशासकीय अधिकृत थिए धर्मानन्द जोशी। उनी ठ्याक्कै अढाई वर्षअघि जनकपुर आएका थिए।

सामान्य प्रशासन मन्त्रालयलाई आग्रह नै गरेर उनी सरुवा गराएर जनकपुरधाम उपमहानगरपालिकामा हाजिर भएको बताउँछन्। उपमहानगरमा हाजिर हुँदा स्थानीय सरकारसँग मिलेर काम गर्ने सोचेका जोशीले दुई–चार दिन मेयरलगायत जनप्रतिनिधिको राम्रो सहयोग पाए।

उनी हाजिर भएको १०–१५ दिन भएपछि नगरप्रमुख साहसँग विवाद हुनथाल्यो। सामान्य दर्ता चलानीको काम गर्दा पनि आफूलाई नराम्रो व्यवहार गरेको उनी बताउँछन्।

‘सामान्य दर्ता चलानीको काम गर्दा पनि अभद्र शब्द प्रयोग गरी बिना मेरो स्वीकृति दर्ता चलानीसमेत नगर्नु भन्दै चेतावनी दिनुहुन्थ्यो,’ जोशीले भने। नगरप्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतको गाडी आफ्नो निजी कामका लागि प्रयोग गर्न लैजाने गरेको पनि जोशी बताउँछन्।

‘मेयर साबको निर्देशनमा मेरो आवासबाट बिहान ५ बजे नै गाडी लगिन्थ्यो,’ जोशीले भने ‘मेरो कार्यालय जाने बेलासम्म गाडी आउँदैनथ्यो। म हिँडेरै कार्यालय जान थालेँ।’

चार महिना पनि काम गर्न नपाउँदै उनलाई जनकपुरधाम उपमहानगरबाट सरुवा गरी उदयपुरको बेलाका नगरपालिका पठाइएको थियो। त्यसपछि जोशी महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगे।

जोशी आउनुभन्दा अघि जनकपुरधामको प्रमुख प्रशासकीय अधिकृतको रूपमा सीता परियार थिइन्। उनी २०७५ सालको पुसतिर जनकपुर आएकी थिइन्। ०७६ असार सकिए लगत्तै उनले आफ्नो अन्तै सरुवा गराइन्।

उनी पनि करिब ७ महिना प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेर सरुवा भएकी थिइन्। कार्यालय स्रोतका अनुसार नगरप्रमुख साहको अनावश्यक दबाबकै कारण बाध्य भएर उनी पनि सरुवा गराएकी थिइन्।

'हरेक प्रशासनिक काममा नगरप्रमुखले हस्तक्षेप गरेकै कारण तत्कालीन प्रशासकीय अधिकृत परियारले पटक–पटक प्रतिवाद गरिरहन्थिन् र अन्त्यमा सरुवा गराएर गइन्,’ स्रोतको दाबी छ।

जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्र भने विवादकै कारण प्रमुख प्रशासकीय अधिकृतको सरुवा नभएको बताउँछिन्।

‘सीताज्यूले म काठमाडौँमा कानुन पढ्दै छु, मेरो सरुवा गरिदिनुस् भनेर भन्नुभएको थियो', उपप्रमुख मिश्रले भनिन् ‘धर्मानन्दज्यूको बारेमा मलाई जानकारी भएन, उहाँको सरुवा के कारणले भयो।’

केन्द्रीय सरकारले वर्षभरि कर्मचारी नपठाई पुसको अन्त्यतिर कर्मचारी पठाउँदै आएको र कर्मचारीहरू पनि असार मसान्त सके लगत्तै सरुवा गराएर जाने गरेको उपप्रमुख मिश्रको भनाई छ। 

वर्षमा २ वटासम्म प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुनु आफैंमा लज्जास्पद रहेको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंह बताउँछन्।

यसबारे बोर्ड बैठकमा जिज्ञासा राख्दा नगरप्रमुख साहले केन्द्रबाट आएका कर्मचारीले आफूहरूलाई कामै गर्न नदिएको प्रतिक्रिया दिँदै आएको वडाध्यक्ष सिंहले बताए।

‘यस विषयमा म लगायत अन्य वडाध्यक्षले पटक–पटक मेयर शावलाई सोध्दै आएका छौं। तर, उहाँको एउटै जवाफ हुन्छ केन्द्रले पठाएका सबै कर्मचारी विभेदकारी सोचका साथ यहाँ आउँछन्,’ सिंहले भने, ‘होलान् एक वा दुई वटा सबै त त्यस्तो नहोला नि?’

प्रशासन शाखाको हरेक काममा नगरप्रमुख साहको हस्तक्षेपकै कारण कर्मचारीहरू आजित भएर बस्न नमानेको वडाध्यक्ष सिंहको आरोप छ।

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले पनि आफूहरूले बोर्डको बैठकमा नगरप्रमुख साहसँग कुरा राख्दा उनले गोलमटोल जवाफ फर्काउँदै आएको बताए।

‘४ वर्षमा ८ जना प्रमुख प्रशासकीय अधिकृतहरू सरुवा गराएर गइसकेका छन्,’ उनले भने, ‘सबैले हाम्रो मेयर शावलाई कामै गर्न दिँदैनन् रे!’

प्रमुख साहले सबै कुरालाई समुदाय र राजनीतिक विभेदसँग जोड्दै आफैंले विवाद खडा गर्दै आएको वडाध्यक्ष जानकीरामको आरोप छ।

‘प्रमुख प्रशासकीय अधिकृत भनेको कानुन संगत चल्ने व्यक्ति हो, अब उहाँले कानुनमा नभएका कुरामा पनि सहीछाप लगाउन भन्नु हुन्छ,’ वडाध्यक्ष जानकीरामले भने, ‘अधिकृतज्यूहरूले मान्नुहुन्न जसकारण मेयर र अधिकृतबीच विवाद हुन्छ र अन्ततोगत्वा कि त उनीहरूको सरुवा गरिन्छ कि त उनीहरू आफैं गराएर जान्छन्।’

नगरप्रमुख साह र प्रशासकीय अधिकृतबीचको विवादकै कारण आ–आफ्नो वडामा आएको लाखौं रकम खर्च हुन नसकेर फ्रिज हुने गरेको वडाध्यक्षहरूको आरोप छ।

प्रकाशित: Nov 03, 2021| 08:54 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।