दुई मुख्यमन्त्रीले दिए राजीनामा, एमाले सत्ताविहीन
प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन्।
गठबन्धनमा सामेल दलका सांसदहरूको समर्थनमा नेता राइले प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका हुन्। मुख्यमन्त्रीमा दाबी पेस गरेका राईको पक्षमा ४९ जना सांसदले हस्ताक्षर गरेका छन्। सरकार बनाउँन प्रदेश १ मा ४६ सांसद्को समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै आउँदो मङ्गलवार २३ गते दिउँसो २ बजेका लागि शपथ ग्रहणको समयसमेत तोकेका छन्।
९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन्। त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक जना सांसद रहेका छन्। प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै अल्मतमा परेका एमाले सचिव भीम आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
उता कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि पदबाट राजीनामा दिएका छन्। इमानको राजनीति लागू गर्नका लागि आफूले राजीनामा दिएको उनले बताएका छन्। कांग्रेसहितको गठबन्धनमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो।
असार अन्तिम साता केन्द्र सरकाबाट बहिर्गमित भएको नेकपा (एमाले) प्रदेशमा पनि सत्ताविहीन भएको छ। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले प्रदेशमा पनि प्रतिपक्षी बनेको हो। गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका हुन्। प्रदेशसभाको सोमबारको बैठकमा आफ्नो ६७ दिने कार्यकालको प्रगति सुनाउँदै उनले राजीनामा घोषणा गरे। मुख्यमन्त्रीको राजीनामा घोषणासँगै संसद् बैठक कात्तिक २३ गतेसम्मका लागि स्थगित भएको छ।
उता, बागमती प्रदेशमा पनि एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले विश्वासको मत पाइनन्। गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री थिइन्। उनले पनि विश्वासको मत नपाउने अवस्था देखेपछि १० कात्तिकमा राजीनामा दिइन्। उनीअघि एमालेकै डोरमणि पौडेल उक्त प्रदेशका मुख्यमन्त्री थिए। शाक्य र आचार्यले अल्पमतमा परेर राजीनामा दिएसँगै ४ प्रदेश र केन्द्रमा सत्ताको बागडोर सम्हालेको एमाले सत्ताविहीन बनेको हो। यसअघि नै लुम्बिनी र गण्डकी प्रदेशमा एमालेले सत्ता गुमाएको थियो।
ओली गणतन्त्र उल्ट्याउन लागिपरेका छन् : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन्।
सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका हुन्। उनले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको आरोप लगाए। उनले पार्टी अब नयाँ संकल्पसहित फेरि अघि बढ्ने बताए। प्रचण्डले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको दाबी गरे।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले धेरै राम्रा काम गरेपनि बिक्री गर्न नजानेको बताए। माओवादीलाई पुनः नेतृत्व दिलाउन अब नेता कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने उनको भनाइ छ। प्रचण्डले काठमाडौं उपत्यकाको मुख्य समस्या स्ववासीहरुले लालपूर्जा नपाएको रहेको बताउँदै त्यो समस्या समाधानका लागि माओवादी लागि पर्ने र सम्बन्धित मन्त्रालयलाई पनि खबर गरिएको बताए।
एमालेसँग एकल प्रतिस्पर्धा गर्न गठबन्धनलाई एमाले महासचिवको चुनौती
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौति दिएका छन्।
सोमबार नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौति दिएका हुन्। उनले एमालेको बिरुद्धमा अहिले एउटा गठबन्धन तयार रहेको बताउँदै उक्त गठबन्धनले संविधान र कानूनलाई ठाडो उल्लंघन गरिरहेको आरोप समेत लगाए। अहिलेको गठबन्धन सरकार विदेशीको अघि घुँडा टेक्नसमेत पछि नपरेको उनको दावी छ।
महासचिव पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा विदेशी पार्टीहरुलाई बोलाएको र लगभग ५ लाख जनताको उपस्थितीमा महाधिवेशनको उद्घाटन गर्ने बताउनुभयो। उहाँले देशबासीको नाममा नेकपा एमाले विगतको भन्दा सशक्त ढंगले अघि बढ्ने बताउँदै मुलुकलाई नयाँ संकल्पसहित अघि बढाउने योजनामा रहेको बताउनुभयो।
राज्यका सबै संगमाथि प्रश्न : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेको बताएका छन्। सोमवार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको बताएका हुन्।
संसद, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरु समेतले आफ्नो भुमिका प्रभावकारी रुपमा खेल्न नसकेको उनले बताए। राजनीतिक पार्टीहरु जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरुले आफ्नो भुमिकालाई प्रभावकारी बनाउन नसकेको उनको भनाई छ। बरिष्ठ नेता पौडेलले देशमा पार्टी, संवैधानिक निकायहरु व्यवस्थित रुपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने बताए।
वरिष्ठ नेता पौडेलले आफुले अहिले लोकतन्त्रको एजेण्डालाई बोकेर हिडेको बताए। वर्तमान समयमा आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने आवश्यकता रहेको भएपनि राजनीतिक मुद्दामै अल्मल्लिनु परेको भन्दै उनले प्राप्त राजनीतिक परिवर्तन र व्यवस्थालाई सुनिश्चिता दिनका लागि काम गर्नुपर्नेमा जोड दिए।
बरिष्ठ नेता पौडेलले नेपालको व्यवस्था अस्थिर हुनाको बिडम्बना नेपालले भोगिरहेको टिप्पणी गरे। बर्तमान राजनीतिक प्रणाली र व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा उनको जोड छ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि बारको विरोध
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि बिरोध प्रदर्शन गरेको छ।
प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै आईतबारदेखि आन्दोलनमा उत्रिएका न्यायाधीश, अधिवक्ता, वरिष्ठ अधिवक्ता, वकीलहरुले आज (सोमबार) पनि बिरोध प्रदर्शन जारी राखेका हुन्। प्रदर्शनमा वरिष्ठ अधिवक्ता तथा पूर्व सभामुख दमननाथ ढुंगानाले सम्पूर्ण कानून व्यवसायीहरुको दबावलाई प्रधानन्यायाधीशले कुनै न कुनै हिसावले निकास दिनुपर्ने बताए। उनले राजनीतिक दलहरु अदालतको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न मिल्दैन भनेर पन्छिएको आरोप लगाए। देशको परिस्थिती यो अवस्थामा आइपुग्दा समेत राजनीतिक दलहरुले न्यायाधीशहरुको बहुमतलाई वेवास्ता गरेको बताए।। वरिष्ठ अधिवक्ता ढुंगानाले राजनीतिक पार्टीहरु निरपेक्ष भएर र अनसुनी भएर बस्ने हो भने राजनीतिक दलहरुतिर नै आन्दोलन लक्षित हुने बताए।
नेपाल बार एशोसिएशनकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशले आफ्नो इजलाशमा पेशी नराख्नु राम्रो शुरुवात भएको बताइन्। उनले बारले प्रधानन्यायाधीशको राजीनामा मागिसकेकोले अब पछि नहट्ने बताइन्।
‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देउ’ भन्ने ब्यानरसहित कानुन व्यवसायीहरुले बिरोध गरेका थिए। बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणवद्धरुपमा बिरोध कार्यक्रम शुरु गरेको हो।
जलवायु परिवर्तनमा नेपालको भूमिका छैन, तर मारमा परेको छ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनमा नेपालको कुनै भूमिका नभएपनि नेपाल त्यसको मारमा परेको बताएकी छिन्।
सोमबार मनाङ पुगेकी राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले सञ्चालन गरेको नेपालकै सबैभन्दा ठूलो स्याउ फार्मको अवलोकनपश्चात् बोल्दै जलवायु परिवर्तन सामान्य परिवर्तन मात्रै नभएर संकटतर्फ उन्मुख गइराखेको बताइन्। विश्वका अन्य देशहरुले प्रकृतिको दोहन गरेका कारण भएको जलवायु परिवर्तनको असर भने नेपालले भोग्नुपरेको उनको भनाइ छ। उनले बेलायतमा जारी कोप २६ मा भाग लिन पुगेका प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनको सम्बन्धमा नेपालको विषयवस्तु उठाउने विश्वास व्यक्त गरिन्।
राष्ट्रपति भण्डारीले जलवायु अनुकुलनका लागि विश्व समुदायको ध्यान जानुपर्ने बताइन्। विशेषगरी शक्ति राष्ट्रहरुको ध्यान जानु जरुरी रहेको उनको भनाइ छ। यस्तै उनले कृषि प्रणालीमार्फत् हरियाली प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइन्। राष्ट्रपति भण्डारीले कृषिप्रधान देश भएर पनि किनेर खानुपर्ने अवस्था लज्जाको विषय भएको भन्दै कृषिमा आत्मनिर्भर हुनुपर्ने बताइन्।
५३३ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप ५३३ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। ११ हजार ६६४ जनाको नमुना परीक्षण गर्दा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।
मन्त्रालयका अनुसार यस अवधिमा ४९० जना कोरोना मुक्त भएका छन्। यस्तै थप नौ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट ११ हजार ४१६ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या नौ हजार ३१८ छ।
अर्थको दबाब झेल्न नसकेर पछि हट्यो राष्ट्र बैंक
अर्थ मन्त्रालयको दबाबपछि झेल्न नसकेपछि नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन २४ घण्टा नपुग्दै फिर्ता लिएको छ।
स्वार्थ बाझिएका व्यापारीका दबाबमा अर्थमन्त्रीले सो निर्देशन खारेज गर्न ठाडो आदेश दिएपछि राष्ट्र बैंकले आफैँले गरेको निर्णयमा २४ घण्टा पनि टिक्न नसकेको हो। गत शुक्रबार साँझ नेपाल राष्ट्र बैंकले केराउ, मरिच र सुपारी आयातमा लाग्दै आएको प्रतिबन्ध हटाएको थियो। तर, निर्देशन जारी भएको २४ घण्टा नबित्दै बिदाकै दिन (शनिबार) राष्ट्र बैंकले अर्को निर्देशन जारी गरेर शुक्रबारको निर्णय खारेज गरिएको जानकारी दिएको हो।
अर्थ मन्त्रालयको दबाबमा राष्ट्र बैंकले जारी गरेको निर्देशन परिवर्तन गर्नु परेको गभर्नर महाप्रसाद अधिकारीले स्वीकार गरेका छन्। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ‘राजनीतिक दबाब’मा सो निर्देशन हटाइएको बताए। उनले विगतको र हालको कार्यशैलीमा कुनै परिवर्तन आउन नसकेको स्पष्ट पारे।
नेपाल राष्ट्र बैंककै अर्को प्रसंगमा आयातित वस्तुमा ५० प्रतिशतभन्दा बढि लोन प्रवाह हुँदा बैंकिङ क्षेत्रमा तरलताको समस्या आएको जनाएको छ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दापनि बढि मात्रामा आयातित बस्तुमा लोन प्रवाह हुँदा सो समस्या देखिएको बताए। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा आयोजना गरेको ‘गहिरिँदो तरलता अभाव : कारण र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले कोभिडका कारण रेमिट्यान्स घटनु, लोन प्रवाहको समय थप गर्नु, सरकार परिवर्तनसँगै बजेट पुनर्विचार हुँदा पनि त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रको तरलतामा देखिएको बताए।
गभर्नर अधिकारीले उत्पादनमूलक क्षेत्रमा लोन प्रवाह गर्न पनि बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराए। उनले सस्तो ब्याजदरमा लोन दिने कामले पनि बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिने अवस्था आएको स्पष्ट पारे। कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावका कारण ४५ लाख लगानीकर्ता प्रभावित भएको बताए। उनले ब्याजदर बढ्नुले साना उद्यमी, व्यवसायीहरुको पुनर्उत्थान तत्काल गर्न सकिने अवस्था नरहेको गुनासो समेत गरे।
२०७६ चैत्र देखि कात्तिकसम्म कर्जाको माग खासै नभएपनि त्यसपछि माग ह्वात्तै बढ्दा बैकिङ क्षेत्रमा तरलताको अवस्था आएको हो। २०७६ साल चैत्रदेखि हालसम्म १२ खर्व ३ अर्ब रुपैयाँ कर्जा जारी भएको छ। तर सोही अनुपातमा निक्षेप संकलन नभएको गर्भनर अधिकारले स्पष्ट पारेका थिए।
गोदावारी फूल प्रदर्शनमा ८० लाखको कारोबार
१४ औं गोदावरी फुलको प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नजिकिँदै गरेको तिहारलाई लक्षित गरी फ्लोरिकल्चर एशोसियशन अफ नेपालको आयोजनामा जावलाखेल मैदानमा भएको चार दिने गोदावरी पुष्प प्रदर्शनीमा करिब ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
एशोसियशनले ५० लाखको कारोबार हुने अनुमान गरेको थियो। यस्तै, अवलोकनकर्ताको सहभागीता पनि उत्साहजनक नै देखिएको छ। प्रदर्शनीमा करिब ३५ हजार जनाले अवलोकन गर्ने अनुमान गरेकोमा करिब ३८ हजारले अवलोकन गरेको एशोसियशनका सचिव हिरामणी शर्मा जानकारी दिए।
प्रदर्शनीमा ४४ वटा व्यवसायीक र ४ वटा सूचनामूलक गरि ४८ वटा स्टल राखिएको थियो । प्रदर्शनीमा नेपालमा विगत बर्षदेखि नै व्यवसायीक उत्पादन हुदै आएका विविध जातका गोदावरी फूल विरुवाका साथै यस बर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल विरुवाहरुको समेत प्रदर्शनी तथा विक्रि, वितरण भएको छ।
तालिवानको आतंक बढ्दै
अफगानिस्तानमा तालिबानको आतंक दिनहुँ बढ्दै गइरहेको छ। हाल मात्रै तालिबानले अर्को नरसंहार गरेको छ। विवाह समारोहमा गाना बजाएको भन्दै तालिबानले १३ जनाको हत्या गरेको छ।
पूर्व उपराष्ट्रपति अमरुल्लाहले यसको जानकारी दिएको छ। संगीतको विरोधमा तालिबान पहिले देखिनै रहेको बताइएको छ। अगस्ट महिनामा मात्रै तालिबानले टेलिभिजनमा पहिलाहरूलाई गीत गाउन प्रतिबन्ध लगाएको थियो।
सालेहले ट्वीटमा लेखेका छन्, ’नांगरहारमा तालिबानले १३ जनालाई बिहेमा संगीत बजाएको अभियोगमा हत्या गरिदिएको छ। पछिल्लो २५ वर्षदेखि तालिबानले यही ट्रेनलाई आत्मसाथ गरेको छ। जसले अफगानिस्तानको संस्कृतिलाई नष्ट गरेको छ।’
टी-२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थानमा माथि उक्लिएको छ।
आईसीसीले सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल एक स्थान उक्लिदै १३ औं स्थानमा पुगेको हो। यस अघि अक्टोबर २६ तारिखमा आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो। वरीयतामा इंग्ल्यान्ड पहिलो, पाकिस्तान दोस्रो र भारत तेस्रो स्थानमा रहेको छन्।