५ दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश राणालाई बारको अल्टिमेटम!
नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ। आज बसेको कार्यसमितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्दै प्रधानन्यायाधीश जबरालाई ५ दिन भित्र राजीनामा दिन अल्टिमेटम दिएको हो। आइतबारदेखि बुधबारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने र १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ। थप बद्नाम हुन नदिन आन्दोलनको अवधिभर जबराले राजीनामा दिइसक्ने बारको दाबी छ।
अदालतमा हुने विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको गरीमा कायम गर्न नसकेकाले राजीनामा मागिएको भन्दै बार एशोसिएसनले सर्वोच्चको इजलासमा बसेर आदेश वा फैसला नगर्न जबरासँग माग गरेको छ।
कांग्रेसका १२ नेताको एकैस्वर- प्रधानन्यायाधीशबारे मूकदर्शक बन्न मिल्दैन
नेपाली कांग्रेसका १२ जना युवा नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विषयमा कांग्रेस मौन बस्न नमिल्ने बताएका छन्।
उनीहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै न्यायालय र न्याय प्रणालीभित्रैबाट उठेको विरोधसम्बन्धमा कांग्रेस मौन बस्न नमिल्न बताएका हुन्। न्यायालयको स्वतन्त्रता र निष्पक्षता लोकतान्त्रिक शासन प्रणालीको पूर्वसर्त र प्रमुख आधार भएको उनीहरुको भनाइ छ। यसको मर्यादालाई बचाइराख्नु सबैको राजनीतिक, सामाजिक तथा नैतिक दायित्व भएको उनीहरुले बताएका छन्। न्यायपालिकाको नेतृत्वको शुद्ध न्यायिक आचरणविना न्यायपालिकाको स्वतन्त्रता सम्भव नहुने भन्दै उनीहरुले न्यायपालिकाको स्वतन्त्रताविना नेपाली कांग्रेसले विश्वास गरेको उदार लोकतन्त्रको संरक्षण सम्भव नहुने तर्क गरेका छन्।
यसरी विज्ञप्ति जारी गर्ने नेताहरुमा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादव रहेका छन्।
एमाले महाधिवेशन प्रतिनिधिको संख्या बढ्यो
नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको संख्या बढाएको छ।
शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि संख्या १५३६ बाट बढाएर १९९९ पुर्याउने निर्णय गरेको हो। बिहीबार बसेको स्थायी कमिटीले १५३६ प्रतिनिधि सहभागी गराउने प्रस्ताव गरेको थियो। तर, केन्द्रीय कमिटीमा नेताहरुले संख्या बढाउन माग गरेपछि प्रतिनिधि संख्या बढाइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
यस्तै आजको बैठकले महाधिवेशन मुल व्यवस्थापन समितिमा २ जना थपेर २३ सदस्यीय बनाएको छ। नयाँ थप भएका सदस्यहरूमा नेता रघुजी पन्त र शेरबहादुर तामाङ थपिएका हुन्। त्यस्तै शुक्रबारको बैठकले आगामी कात्तिक २७ गते एकैदिन एमाले प्रतिनिधि छनोटका लागि निर्वाचन गर्ने गरी मिति तय गरेको छ। मंसिरमा हुने महाधिवेशनमा एमालेले विधुतीय मतदान मेसिन प्रयोग गर्ने जनाएको छ। त्यसका लागि शुक्रबारको बैठकअघि उक्त मेसिनको परीक्षण गरेको थियो।
तीनै तहको निर्वाचन एकैपटक गर्न नेपालको जोड
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तिनै तहको निर्वाचन एकै पटक गर्नु पर्नेमा जोड दिएका छन्।
पार्टी कामको शिलशिलामा पोखरा पुगेका अध्यक्ष नेपालले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्नु पर्ने बताएका हुने। यसो गर्दा कम खर्च हुने र राष्ट्रको सम्पति जोगिने उनको भनाइ छ।
अध्यक्ष नेपालले १० बुँदे सहमतिका नाममा आफ्नो समुह छाडेर एमालेमा बस्ने नेताहरुको हरिबिजोग हुने समत दाबी गरेका छन्। एमालेमा कुनै नीति र विधि नभएको उल्लेख गर्दै उनले त्यहाँ रहनेहरु नीजि कम्पनिको सदस्यका रुपमा रहने जिकिर गरे। केपी ओलीप्रति बफादार नहुनेहरुको हरिबिजोग हुने उनको भनाइ छ।
अध्यक्ष नेपालले एमाले छाड्नेहरुको भविष्य सुरक्षित रहने पनि बताए। एमालेमा बस्नेहरुको भविष्य नभएको भन्दै उनले अब एमालेलाई टर्च बालेर खोज्नुपर्ने स्थिति आउने दाबी गरे। ओलीसँगै एमालेपनि सकिने उनको भनाई छ।
मलामी जाँदा हास्ने ओली प्रवृत्ति हो : प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन्। शुक्रवार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिलाई निरंकुश प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका हुन्। उनले ओली प्रवृत्ति नेपाल र नेपाली जनताको लागि घातक हो भन्ने कुरा स्थापित भएपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली बालुवाटारबाट बालकोट जानुपरेको बताए। अध्यक्ष दाहालले ओली बालुवाटारबाट बालकोट जानुभनेको ठूलो पराजय भएको टिप्पणी गरे। अध्यक्ष दाहालले ओली प्रवृत्तिलाई मलामी जाँदा हास्ने प्रवृत्ति भएको तर्क गरे।
अध्यक्ष दाहालले राजनीतिलाई स्थिरता दिनुपर्ने बेलामा ओली प्रवृत्तिले त्यो हुन नदिएको बताए। अध्यक्ष दाहालले राजनीतिक अस्थिरता देशले थेग्न सक्दैन भनेर स्थिरताको प्रस्ताव गर्दा ओली प्रवृत्तिले सफल बनाउन नदिएको आरोप लगाए।
'स्टिल उद्योग धराशायी बनाउने निर्णय मान्य हुँदैन'
प्रतिनिधिसभाका सांसदहरुले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी आयातित बिलेटमा अन्तशुल्क बढाउने सरकारको नीतिगत निर्णय मान्य नहुने चेतावनी दिएका छन।
सांसदहरु प्रकाश रसाईली, भिमसेनदास प्रधान र प्रमोद साहले स्वदेशी स्टिल उद्योगलाई धराशायी बनाउने गरी आएको सो नीति तत्काल फिर्ता नलिए अर्थमन्त्री जनार्दन शर्मालाई माफी नदिन नसकिने स्पष्ट पारे। सांसद रसाईलीले सरकारले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमार्फत् ल्याएको सो नीतिले स्वदेशी स्टिल व्यवसायलाई धराशायी बनाउने सुनिश्चित भएको भन्दै आक्रोश व्यक्त गरे।
अर्का सांसद भिमसेनदास प्रधानले सरकारले स्वदेश स्टिल उद्योगलाई हतोत्साही बनाउने गरी नीति सरकारले ल्याएको भन्दै आपत्ति जनाए। उनले स्वदेशी उद्योगलाई धराशायी बनाउने र रोजगारी सृजना गरिरहेका ती उद्योगहरु चल्न नसक्ने गरी आयातित बिलेटमा अन्तशुल्क बढाउने गरी सरकारले भारतपरस्त नीति ल्याएको आरोप समेत लगाए।
पञ्चकन्या स्टिल प्रालिका प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठ र साखः स्टिलका प्रबन्ध निर्देशक किरणप्रकाश साखःले स्वदेश स्टिल उद्योगमा वार्षिक करिव ३० अर्व नोक्सान हुने गरी सरकारले नीति ल्याएको भन्दै आपत्ति जनाए। प्रबन्ध निर्देशक साखःले सरकारले स्वदेशी स्टिल उद्योगको विकासका लागि चासो नदिएको आरोप समेत लगाए।
भूउपयोग नियमावली संशोधन गर्ने सरकारको तयारी
भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भुउपयोग ऐनले तर्जुमा गरेको उद्देश्य पुरा गर्न नियमावली परिमार्जन गर्न लागिएको बताएकी छिन्।
शुक्रवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले भुउपयोग नीति र भु उपयोग ऐनले राखेको उद्देश्य हासिल गर्नका लागि र ऐनलाई कार्यान्वयनका लागि केही व्यवहारीक कठिनाईहरु रहेको बताइन्। उनले ति कठिनाईहरुलाई हटाउनका लागि नियमावलीमा परिमार्जन गर्न छलफल भइरहेको जानकारी दिइन्।
मन्त्री श्रेष्ठले मन्त्रालय अन्र्तगतको जुन कुनै आयोगहरुले विगतमा राष्ट्रहित र जनहितको पक्षमा काम गरेको छ भने त्यसको स्वामित्व आफुले लिने बताइन्। बैठकमा बोल्दै राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले भुमिहिनहरुको नाम कम्युटर सफ्टवेयर सिस्टममा प्रवेश गराएको बताए। आयोगले आन्तरिक गृहकार्य गरिरहेको, सरकारी ऐन, नियम, कानूनको अध्ययन तथा अनुसन्धान गरिरहेको तथा स्थानीय जनप्रतिनिधिसँग छलफल गरिरहेको जानकारी दिए।
अध्यक्ष निरौलाले पुरानै ढंगले काम गर्ने हो भने ३ वर्षमा पनि आयोगले काम सम्पन्न गर्न नसक्ने भन्दै काममा नयाँ र वैकल्पिक ढंगले जानका लागि विज्ञहरुसँग छलफल गरिरहेको बताए। आयोगमा हाल ३ जना पदाधिकारी र ४३ जना अन्य जनशक्ति रहेको जानकारी दिदैँ उनले अरु ३ सय ७२ जना प्राविधिक आवश्यक रहेको बताए।
५४९ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ५४९ जना कोरोनाा भाइरसका संक्रमित थपिएका छन्।
९ हजार ७४६ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। सोही अवधिमा ५६९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा देशभर सक्रिय संक्रमितको संख्या १० हजार १५१ छ। पछिल्लो २४ घण्टामा एक लाख २५ हजार ५२७ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।
विश्व सहर दिवस मनाइने
‘सुन्दर र सुखी जीवनको आधारः जलवायु उत्थानशीलताका लागि सहरको अनुकूलन’ भन्ने नारासहित विश्व सहर दिवस मनाइने भएको छ।
शुक्रवार काठमाडौंमा विश्व सहर दिवस २०७८ को उपलक्ष्यमा आयोजित पत्रकार सम्मेलन गर्दै सहरी विकास तथा भवन निर्माण विभागले विश्व सहर दिवस मनाइने भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रकाश शर्माले यस दिवसको मुख्य उद्देश्य दिगो सहरी विकास हासिल गर्नका लागि अवसरको खोजी र सहरी समाधानको चुनौति समाधान गर्ने रहेको बताए।
कार्तिक १४ गते आईतवार बबरमहलमा कार्यशाला गोष्ठी आयोजना गरिने उनले जानकारी दिए। विश्व सहर दिवस सन् २०१३ देखि संयुक्त राष्ट्रसंघको साधारण सभाद्वारा संकल्प स्थापित गरे बमोजिम पहिलो विश्व शहर दिवस अक्टोबर २०१४ मा मनाइएको थियो। नेपालमा भने २०१९ देखि यो दिवस मनाउन थालिएको हो।
पोखरामा बढ्न थाल्यो पर्यटकीय चहलपहल
पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ। कोभिड – १९ का कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड हुन थालेको छ। अहिले पोखराको मौसम पनि निकै खुलेको छ।
माछापुच्छ्रे र अन्नपूर्णलगायत हिमशृङ्खलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाउने गरेका छन्। सधै विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइड र आसपासका क्षेत्रमा कोरोना संक्रमण कम भएसँगै लामो समयपछि आन्तरिक पर्यटकको चलहपहल देखिन थालेको पर्यटन व्यवसायी सोम थापा वताउँछन्।
पोखरा आसपास र पदयात्रामा जाने आन्तरिक पाहुनाको आगमन राम्रो देखिएको छ। पोखरा आउने अधिकांश पाहुना पोखराको प्रमुख पर्यटकीय गन्तव्यसँगै घान्द्रुक, मार्दी ट्रेक, अन्नपूर्ण बेसक्याम्प, अष्ट्रेलियन क्याम्पतिर छोटो तथा लामो दूरीका पदमार्गका लागी निस्किने गरेका छन्। पोखरामा हाल निजी क्षेत्रको ५ अर्व रुपैयाँ बढीको पर्यटन क्षेत्रमा लगानी रहेको छ। करिव सात सय पर्यटकीय होटेल सञ्चालनमा छन्। कोरोनाका कारण सवै होटल भने खुलिसकेका छैनन्। कोरोनाका कारण सुस्ताएको पर्यटन क्षेत्रमा गति लिन अझै केही समय लाग्ने भएपनि आन्तरिक पर्यटकको आगमनले यस क्षेत्रलाई केही राहत मिलेको छ।
पुष्पमेला सुरु
कोरोना भाइरसको जोखिमका कारण विगत दुई वर्ष यता सुनसान रहेको मेला शुरु भएपछि पुष्प व्यावसायीहरु खुशी भएका छन्।
शुक्रवारबाट ४ दिनसम्म चल्ने १४ औँ गोदावरी पुष्प प्रदर्शनी २०७८ शुरु भएसँगै पुष्प व्यावसायीहरु खुशी भएका हुन्। मेलामा ४४ वटा स्टलहरु रहेका छन्। प्रदर्शनीमा सहभागी पुष्प व्यावसायी सुमन महर्जनले २ वर्षपछि मेला हुँदा सबै व्यापारीहरुसँग भेट भएको र अब पुष्प व्यावसाय फस्टाउने बताइन्। उनले भारतबाट ल्याएर बजारमा सस्तो दरमा बिक्री गरिदिँदा स्वदेशमा उत्पादन भएका फूल र मालाले बजार नपाएको गुनासो समेत गरिन्।
पुष्प व्यवसायी महर्जनले सरकारले भारतबाट जथाभावि फूल आयात गरेर बिक्री गर्नेहरुको निगरानी गरी निरुत्साहीत गरे नेपाली फूलले बजार पाउने दाबी गरिन्। उनले काठमाडौं उपत्यकामा रहेका खाली सरकारी जग्गालाई भाडामा पुष्प व्यावसाय गर्न दिनुपर्ने बताइन्।
खोप लगाए पनि संक्रमण हुन सक्छ : अध्ययन
बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ।
त्यस्ता व्यक्तिबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ। अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नलगाएका व्यक्तिले जत्तिकै सङ्क्रमण फैलाउन सक्ने सम्भावना देखिएको छ। लक्षण भए पनि नभए पनि खोप लगाइसकेका तर सङ्क्रमण भएका मानिसले सँगै बस्ने खोप नलगाएका अरू मानिसमा कोरोनाभाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले देखाएको छ।
उनीहरूले पाँच मध्ये दुई जनालाई कोभिड सार्न सक्छन्। तर सँगै बस्ने सबै जनाले पूर्ण मात्रामा कोभिड विरुद्धको खोप लगाएका छन् भने त्यस्तो सम्भावना २५ प्रतिशत मात्र हुने पनि अध्यननले देखाएको छ। खोपले कोरोनाभाइरस सङ्क्रमणबाट हुने गम्भीर समस्या र मृत्युबाट जोगाउन सहयोग गर्ने अध्ययनले देखाएको छ। तर सङ्क्रमण रोक्न भने पूर्ण रूपमा त्यति प्रभावकारी भनरे नहुन सक्छ।
भिडियोमा हेर्नुहोस्