काठमाडौं– बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन अपिल गरेको छ।
बृहत् नागरिक आन्दोलनका तर्फबाट बुधबार जारी विज्ञप्तिमा प्रधानन्यायाधीश जबरा न्यायपालिकाको नेतृत्व गर्न असक्षम भएको भन्दै महाअभियोग लगाउन राजनीतिक दलहरुको ध्यानाकर्षण गराइएको छ। संवैधानिक अंगहरुमा भागबण्डा गरेको घटनाले न्यापालिकाको मर्यादा गिरेको नागरिक आन्दोलनको भनाइ छ।
नागरिक आन्दोलनले प्रधानन्यायाधीश जबरामा व्याप्त न्यायिक विचलनका कारण न्यायपालिकाप्रति घट्दो जनआस्थाबीच सर्वोच्च अदालतमा इजलास बस्न नसक्ने दुरावस्था सिर्जना भएको उल्लेख गरेको छ। आन्दोलनले प्रधान्यायाधीश जबरा प्रतिनिधि सभा असमयमै र संविधानविपरीत विघटनको घोषणा गर्ने पूर्ववर्ती सरकारका अध्यादेशलगायत बलजफ्तीपूर्ण व्यवहारको मतियार बनेको आरोप लगाएको छ। न्यायपालिका सुधार गरी जनताको न्यायिक आस्थाको केन्द्र बनाउनेतर्फ समेत सम्बद्ध सबै पक्षहरूसँग आन्दोलनको आह्वान गरेको छ।
अदालतको बारेमा बोल्दिनँः प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने टिप्पणी गरेका छन्।
नेपाल तरुण दलले बुधबार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढने पनि स्पष्ट पारे। अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको उनको भनाइ छ। प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे।
प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दावी गर्दै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई सचेत गराए। उनले नेपाली काँग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गरे।
मुद्दा हेन नछाड्ने राणाको अडान
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन्।
बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु।’ बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले अहिले देखिएका विवाद र प्रश्नबारे केही नबोल्ने उनले बताए। ‘सर्वोच्चका न्यायाशीशको मृत्युले शोकमा भएकाले आज केही भन्दिनँ, मेरा सबै कुरा भोलि राख्छु,’ प्रधानन्यायाधीश जबराले भनेका छन्।
प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले मुद्दाको सुनुवाइ बहिष्कार गरेका छन्। दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन। बुधबार प्रधानन्यायाधीश जबराले पाँचवटा मुद्दाको सुनुवाइ गरेर आदेश पनि दिएका छन्। उनले भोलि पनि निरन्तर मुद्दाको सुनुवाइ हुने बताए।
बागमतीको मुख्यमन्त्री बन्दै राजेन्द्र पाण्डे
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले दावी पेश गरेका छन्।
५९ सांसदको समर्थनसहित उनले मुख्यमन्त्रीमा दावी पेश गरेका हुन्। १०९ सांसद रहेको प्रदेशमा मुख्यमन्त्री बन्न ५५ मत आवाश्यक पर्छ। ५९ सांसद्को समर्थन पाएका उनी मुख्यमन्त्री हुने करिब निश्चित छ। उनलाई कांग्रेस, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादीलगायत विपक्षी गठबन्धनमा रहेका दलहरुले समर्थन गरेका छन्। पाण्डे भोलि मुख्यमन्त्रीमा नियुक्त हुने छन् भने भोलि नै सपथ खुवाउने तयारी छ। पण्डेले भोलि नै मन्त्रिमण्डल गठन गर्ने पनि तयारी गरेका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो मात्रै बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेको थियो।
नेकपा (एस)लाई चुनाव चिह्न कलम
नेकपा (एकीकृत समाजवादी) ले कलम चुनाव चिन्ह पाएको छ। निर्वाचन आयोगले आज एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो।
नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले पत्रमार्फत पार्टीलाई जानकारी गराएको छ। आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झण्डाका रूपमा मान्यता दिएको छ।
यसैबीच, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई १० बुँदे निर्देशन दिएका छन्। बुधबार अन्तर पार्टी निर्देशनमार्फत् उनले विवादमा पर्ने कुनै पनि काम नगर्न, निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहन लगायतका निर्देशन दिएका हुन्।
लगातार चौथो दिन बढ्यो सेयर बजार
सेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन बढेको छ।
साताको चौथो दिन बुधबार समेत शेयर बजार १८.०६ अंकले बढेर बन्द भयो। बजार २७६९.१३ बिन्दुमा पुगेको छ। बुधबार बजार ०.६६ प्रतिशतले वृद्धि भयो। बजार बढ्न थालेसँगै कारोबार रकममा समेत सूधार देखिएको छ। अघिल्लो साता दुई–तीन अर्बमा सिमित दैनिक कारोबार बुधबार भने ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँको भयो। यो रकम मंगलबारको तुलनामा समेत बढेको छ।
बुधबार कुल २२८ वटा कम्पनीको ७५ हजार ६ सय १२ वटा कारोबार भयो। यी कारोबारमा कुल १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर किनबेच भएको छ। बुधबार जिवन बिमा कम्पनी उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। बैंकिङ, ट्रेडिङ, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, म्यूचअल फण्ड र इन्भेष्टमेन्ट उपसमूहको परिसूचक समेत हरियो रह्यो। तर, होटेल र पर्यटन, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने राताम्मे रह्यो।
फर्किने भए अल्मुताइरी
नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी तीन वर्षे सम्झौताका लागि तयार भएका हुन्। ’कर्मा छिरिङ शेर्पा (एन्फा अध्यक्ष) र कतार फुटबल एसोसिएसनसँगको छलफलपछि मैले नयाँ सम्झौता गर्ने निर्णय गरेको छु,’ उनले लेखेका छन्। अलमुताइरीले चाँडै आगामी दुई वर्षका लागि योजना सार्वजनिक गर्ने पनि फेसबुकमा लेखेका छन्।
एन्फाका उपाध्यक्ष पंकज नेम्वाङसँग असहमति रहेको भन्दै उनले राजीनामा दिने घोषणा गरेका थिए। यो विषयमा एन्फाले छानबिन समिति बनाएर छानबिन गरेपनि अल्मुताइरीले चित्त नबुझाएपछि आफू नेपाल नफर्कने बताउँदै आएका थिए। अल्मुताइरीको पछिल्लो निर्णयसँगै उनी थप दुई वर्ष नेपाली टिमको मुख्य प्रशिक्षक बन्ने भएका छन्।