काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई बटमलाइन बनाएका सर्वोच्च अदालतका बहालवाला १५ न्यायाधीशको बैठक आज पनि बस्दैछ।
न्यायालयमा देखिएको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकालेका उनीहरुको बैठक बिहान साढे ११ बजे बस्न लागेको हो। औपचारिक रूपमै इजलास बहिष्कार गर्ने, अदालतमै नआउने, भद्र विरोध जनाउने वा अन्य विकल्पमा जाने भन्ने विषयमा न्यायाधीशहरूले छलफल गर्ने बताइएको छ। हिजोको बैठकले प्रधानन्यायाधीशको राजीनामा माग्ने सामूहिक अडानमा कायमै रहने र थप निणर्यका लागि आज छलफलमा जुट्ने निर्णय गरेको थियो।
वकिलले गरे सर्वोच्चमा बहस बहिष्कार
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरूले आजदेखि सर्वोच्च अदालतमा बहस नगर्ने भएका छन्।नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश जबरा कर्तव्य विमुख भएको निष्कर्ष निकाल्दै आजबाट बहस नै नगर्ने निर्णय गरेको हो। कानुन व्यवसायीहरुले इजलास बहिष्कार गरेसँगै आजदेखि सर्वोच्च अदालतमा मुद्दा दर्ताका काम मात्रै हुने भएको छ।
सल्लाहकार समितिका ३६ जनाले हिजोको बैठकमा प्रधानन्यायाधीश जबराको राजीनामा माग्नुपर्ने र इजलास बहिष्कार गर्नुपर्ने सुझाएका थिए । सोही सुझावअनुसार कानुन व्यवसायीहरुले इजलास बहिष्कार गर्न लागेका हुन्। सुरुमा सर्वोच्च अदालतमा मात्र विरोधका कार्यक्रम गर्ने र त्यति गर्दा पनि राजीनामा नआए देशभरै बेन्च बहिष्कार गर्ने बारको योजना छ।
विश्वासको मत लिँदै अष्टलक्ष्मी शाक्य
अल्पमतमा रहेकी बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदैछिन्। शाक्यले असोज २४ गते विश्वास मत माग्दै पेस गरेको प्रस्तावमा आज मतदान हुन लागेको छ। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मतविभाजन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
मुख्यमन्त्री शाक्यले राखेको विश्वासको प्रस्ताव गत ४ मा प्रदेशसभामा टेबुल गरिएको थियो। बागमतीमा सभामुखसहित १०९ सांसद छन्। शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनुपर्ने भए पनि एमालेसँग ४३ मत मात्र छ। त्यसैले उनी पदमुक्त हुने करिब निश्चित छ । मुख्यमन्त्री शाक्यको बहिगर्मन कुरेर बसेको विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा प्रदेश सरकार बनाउने तयारी गरेको छ।
११९ कामदार लैजाँदै कोरिया
कोरियाले नेपालबाट एक सय १९ जना कामदार मात्रै लैजाने भएको छ । यसअघि कोरियामा चार वर्ष काम गरी नेपाल फर्केका कामदारलाई सोही रोजगारदाताले बोलाएमा मात्रै कामदार कोरिया प्रवेश पाउने व्यवस्था गरेको थियो।
सोही व्यवस्थाअनुसार आज पहिरो चरणमा ४८ जना कामदार कोरिया जाँदैछन्। उनीहरु बेलुकी ७ बजेको उडानमार्फत कोरिया जाने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ। कोरोना महामारीका कारण कोरियाले विदेशी कामदारलाई प्रवेशमा रोक लगाएको थियो । करिब १९ महिनापछि पुराना कामदारलाई कोरिया प्रवेश खुला गरेपछि उनीहरु जान लागेका हुन्।
मलेसियामा श्रमिक भर्ना प्रक्रिया खुला
मलेसियाले कोरोना महामारी सुरु भएपछि रोकेको नेपाल र इन्डोनेसियाबाट नयाँ श्रमिक भर्ना गर्ने प्रक्रिया मंगलबारबाट आंशिक रूपमा खुला गरेको छ ।
जसअनुसार नयाँ श्रमिक लैजाने रोजगारदाताले पीसीआर परीक्षण, कोरोना संक्रमण भए उपचार खर्च, क्वारेन्टिनसहित सम्पूर्ण लागत खर्च बेहोर्नुपर्नेछ। यो प्रावधानपछि कामदारको नभए सञ्चालन गाह्रो परेका कम्पनीले मात्रै श्रमिक भर्ना गर्ने बुझाइ मलेसिया सरकारको छ।
काठमाडौंस्थित मलेसियाली दूतावासले पनि डेढ वर्षपछि नेपाली श्रमिक लैजान बाटो खुलेको जनाएको छ । मलेसियाले २०७६ चैत पहिलो साताबाट नेपाली श्रमिक लैजान रोकेको थियो। केही समययता श्रमिक अभाव भएपछि मलेसियाका सबै क्षेत्रका रोजगारदाताहरूले नयाँ श्रमिक भर्नाको अनुमति दिन त्यहाँको सरकारलाई दबाब दिइरहेका थिए ।
फेसबुकको नाफा ९ अर्ब डलर
सामाजिक सञ्जाल फेसबुकले ९ अर्ब डलर नाफा कमाएको छ। कम्पनीको उक्त मुनाफा अपेक्षाभन्दा धेरै रहेको बताइएको छ। तेस्रो त्रैमासमा कम्पनीले अपेक्षा गरेभन्दा धेरै मुनाफा कमाएको हो। गत वर्षको सोही अवधिमा यस्तो मुनाफा ७ अर्ब ८० करोड डलर रहेको थियो। अनलाइन विज्ञापनमा भएको वृद्धिका कारण समीक्षा अवधिमा कम्पनीको आम्दानी पनि ३५ प्रतिशतले बढेर २९ अर्ब १ करोड डलरमा पुगेको छ। सेप्टेम्बर ३० सम्मको १२ महिनामा कम्पनीको मासिक यूजर बेस ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोडमा पुगेको छ।
क्रिकेटमा पाकिस्तानको लगातार दोस्रो जित
पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। यूएईको सारजाहमा मंगलबार राति भएको खेलमा न्युजिल्यान्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित निकालेको हो। यसअघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो।
न्युजिल्यान्डले भने हारबाट विश्वकपको सुरुआत गरेको छ। न्युजिल्यान्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो। अर्को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ८ विकेटले हराउँदै जित निकालेको छ।