काठमाडौं– फुलकोर्ट बहिष्कार गरेका सर्वोच्च अदालतका १४ जना न्यायाधीशले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भेटेर राजीनामा माग्ने भएका छन्।
उनीहरुले जबराका कुरा सुन्ने र राजीनामा माग्ने तयारी गरेका हुन्। फुलकोर्ट बहिष्कार गरेपछि न्यायाधीशहरूको छुट्टै बैठक बसेको थियो। साढे २ घण्टा बसेको बैठकले प्रधानन्यायाधीश जबरासँग भेट्ने, उनका कुरा सुन्ने र राजीनामा माग्ने निष्कर्ष निकालेको थियो। हिजोको बैठकमा नहकुल सुवेदीबाहेक १३ जना न्यायाधीश उपस्थित थिए। सुवेदीको स्वास्थ्य अवस्था प्रतिकूल भएका कारण उपस्थित नभएको बताइएको छ। प्रधानन्यायाधीशसँग हुने आजको भेटमा न्यायाधीश सुवेदीसहित १४ जना नै उपस्थित हुने तयारी गरेका छन्।
बार सल्लाहकार परिषद्को बैठक आज
कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एसोसिएसनको सल्लाहकार परिषद्को बैठक आज बस्दै छ। बैठकले हिजो बसेको बारको आकस्मिक बैठकले गरेका निर्णयलाई अनुमोदन गर्ने भएको भएको छ।
हिजो बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्ने निर्णय गरेको थियो। प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने निर्णयसमेत बारको आकस्मिक बैठकले गरेको थियो। यसको औपचारिक निर्णय र सार्वजनिक आज हुने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।
आफ्नै सहकर्मी न्यायाधीशहरुले समेत सहयोग गर्न नसकिने बताइसकेका बेला प्रधानन्यायाधीश जबरा पदमा बसिरहनु उचित नहुने बारको ठहर छ।
एमालेको पालिका अधिवेशन १ बजे उद्घाटन
नेकपा एमालेले आज एकैसाथ ७ सय ५३ स्थानीय तहमा पालिका अधिवेशन गर्दैछ। अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे सबै पालिकाको अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन्। अधिवेशनबाट ५६ हजारभन्दा बढी नयाँ नेतृत्व चुनिँदै छन्। अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र सदस्यसहित पालिका कमिटी निर्वाचित गर्नेछ। पालिका÷इलाका मातहतका वडा÷शाखा कमिटीका अध्यक्ष पालिका÷इलाका कमिटीका पदेन सदस्य हुनेछन्। नयाँ विधानअनुसार गाउँपालिका र नगरपालिका कमिटीको अधिकतम सदस्य संख्या ७५ हुने व्यवस्था छ। यस्तै, अधिकतम सदस्य संख्या उपमहानगरपालिकामा ८५, महानगरपालिकामा १ सय १ र इलाकामा ५१ हुनेछ।
काठमाडौंमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा आजदेखि
काठमाडौं जिल्लाका आठ वटा नगरपालिकामा आजदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा खोप लगाउन सुरु गरिएको छ। काठमाडौं महानगरपालिकासँगै कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा १८ वर्ष माथिका लाई एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाउन सुरु गरिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिकाको हकमा पाँच वटा अस्पतालबाट पनि एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन पाइनेछ। छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ।
उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना
आज देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन थालेको हो। बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदली रहेको छ। दिउँसो देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ। मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन थालेको हो।
क्रिकेटमा अफगानिस्तानको विजयी सुरुआत
अफगानिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ । सोमबार राति अवुधाबीस्थित सारजाह क्रिकेट स्टेडियममा भएको खेलमा स्कटल्याण्डलाई १ सय ३० रनले पराजित गर्दै अफगानिस्तानले सुखद सुरुआत गरेको हो। अफगानिस्तानले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १० ओभर २ बलमा अलआउट हुँदै ६० रनमा समेटियो। जितसँगै समूह २ मा रहेको अफगानिस्तानले १ खेलमा २ अंक जोडेको छ। अफगानिस्तान तालिकाको शीर्ष स्थानमा छ।