मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने १४ न्यायाधीशको निर्णय, दलहरू मौन [२०७८–७–८]

प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने १४ न्यायाधीशको निर्णय, दलहरू मौन [२०७८–७–८]

फूलकोर्ट बहिस्कार गरेका सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग राजीनामा माग्ने भएका छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं– फूलकोर्ट बहिस्कार गरेका सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग राजीनामा माग्ने भएका छन्। 

आज (सोमबार) बसेको १४ न्यायाधीशको बैठकले भोलि बिहान ११ बजे प्रधानन्यायाधीशलाई भेटेर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेको हो। सोमबार प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक बहिष्कार गर्ने घोषणा गरेका न्यायाधीशहरूको छुट्टै बैठक बसेको थियो। साढे २ घण्टा बसेको बैठकमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, डा विश्वम्भरप्रसाद श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा सहभागि थिए। स्वास्थ्य अवस्था प्रतिकूल भएर न्यायाधीश नहकुल सुवेदी बैठकमा सहभागी नभएको बताइएको छ। 

स्रोतका अनुसार बैठकमा केही न्यायाधीशले जबरालाई केही सुधार नगर्ने भएकाले भेट्नुको अर्थ नभएको धारणा राखेका थिए। तर केहीले भने मुद्दाको फैसला गर्दा त आरोपित पक्षलाई आफ्नो धारणा राख्न दिइन्छ भने यति गम्भीर आरोपबारे जबराको पनि धारणा सुन्नुपर्ने मत राखेका थिए। बैठकपछि न्यायाधीशहरु भोलि प्रधानन्यायाधीश जबरासँग भेट्ने, उनका कुरा सुन्ने र राजीनामा माग्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ। प्रधानन्यायाधीश जबराले सोमबार आफूबाहेक उपस्थित १३ न्यायाधीशका लागि  ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए। तर सोमबार ती कुनै पनि इजलास बस्न सकेन।

बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्यो

कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ। 

सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो। प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए आन्दोलन गर्ने निर्णयसमेत बारको बैठकले गरेको छ।  यसको औपचारिक निर्णय र सार्वजनिक भोलि हुने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। बारको आकस्मिक बैठकबाट भएको यो निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि थप परिपक्व हुने अध्यक्ष श्रेष्ठको भनाइ छ। आफ्नै सहकर्मी न्यायाधीशहरुले समेत सहयोग गर्न नसकिने बताइसकेका बेला प्रधानन्यायाधीश जबरा पदमा बसिरहनु उचित नहुने बारको ठहर छ। 

सर्वोच्च अदालत गुटबन्दीको अखडाः ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालत गुटबन्दीको अखडा भएको बताएका छन्। 

गृहजिल्ला झापाको गौरादहमा भएको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले सर्वोच्चले लोकतन्त्रको हुर्मत लिएको बताए। सर्वोच्च अदालतमा न्यायशीधका गुटबन्दीसहितका बैठक सुन्दा अचम्म लागेको पनि उनले बताए। न्यायाधीशहरूले हामीलाई न्याय दिनुहोला, संविधानको रक्षा गर्नुहोला, फैसला गर्दा निष्पक्ष ढंगले गर्नुहोला भनेको त आफ्नो नेतृत्वले निष्पक्ष गरेन भनेर गुटगत भेलामा लाग्नु भएछ, उनले भने। प्रधानन्यायाधीशले निष्पक्ष गरेन भन्नेहरूका अनुहार कत्तिको निष्पक्ष छ ? त्यो जनताले देखेको टिप्पणी गरे। 

सर्वोच्च अदालतले दुनियाँमा नभएको जात्रा देखाइरहेको उनको दाबी थियो। न्यायाधीशबाटै अदालतको हुर्मत लिने काम भइरहेकोे भन्दै उनले सर्वोच्च अदालत सट्टापट्टामा चलिरहेको समेत आरोप लगाए। 

दलहरु मौन

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कार्यशैलीलाई लिएर न्याय क्षेत्रमा चर्को विरोध भइरहेका बेला राजनीतिक दलहरु भने यस विषयमा मौन देखिएका छन्। 

राणाको कार्यशैलीका कारण सर्वोच्चका न्यायाधीशहरुले फुलकोर्ट नै बहिष्कार गर्दासमेत राजनीतिक दलले भने यस विषयमा मुख खोलेका छैनन्। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानन्यायाधीश प्रकरणमा नबोल्ने भनेको छ। प्रमुख प्रतिपक्षी एमालेले पनि यसबारे धारणा बनाइनसकेको जनाएको छ। नेकपा एकीकृत समाजवादीले यो प्रकरणलाई ’नोटिस’ मा लिएको जनाएको छ। नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीलगायतका दलले पनि प्रधानन्याधीश बारे कुनै धारणा सार्वजनिक गरेका छैनन्।

स्थानीय निर्वाचन चैत पहिलो साता प्रस्ताव

निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस गरेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले कानून बमोजिम चैत पहिलो साताभित्र स्थानीय तहको चुनाव हुनुपर्ने बताएको हो। स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ। त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्छ। स्थानीय तहको निर्वाचन गर्न ६ महिना भन्दा कम समय रहेकाले अब रिक्त ठाउँमा भने उपचुनाव हुने छैन। त्यस्तै फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न आयोगले सरकार समक्ष सिफारिस गरेको छ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले भने राष्ट्रियसभा सदस्यको निर्वाचन मिति सरकारले छिट्टै तोक्ने बताएका छन्। उनले प्रतिनिधिसभा र प्रदेशसकाको रिक्त सदस्य चयनका लागि उपनर्वाचनबारे सत्ता साझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने पनि बताएका छन्। प्रधानमन्त्री र आयोग पदाधिकारीको भेटका क्रममा राष्ट्रियसभा सदस्य निर्वाचन, प्रतिनिधिसभा, प्रदेशसभाको उपनिर्वाचनबारे छलफल भएको निर्वाचन आयोगका प्रवक्ता यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन्। त्यस्तै निर्वाचनसम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुन निर्माणका विषयमा पनि छलफल भएको उनले बताए।

११ शरणार्थी पक्राउ

काठमाडौंको सिनामंगलबाट अफगानी शरणार्थी पक्राउ परेका छन्। 

अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर कालिकास्थानस्थित अध्यागमन विभागमा लगेको छ। उनीहरुलाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले बताए। तालिबानले अफगानिस्तान कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको बताइएको छ। उनीहरु बिना अनुमति नेपाल आएको पुष्टि भए अध्यागमन कानुन अनुसार कारबाही हुनेछ।

एक लाख फाइजर आइपुग्यो

अमेरिकाले नेपाललाई एक लाख ६२० मात्राको कोभिडविरुद्धको फाईजर खोप प्रदान गरेको छ। 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गरेको हो। अनुदान सहायता स्वरुप युनिसेफमार्फत् खरिद गरी टेकूस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा सो खोप भण्डारण गरिएको छ। कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पोखरेलले अमेरिकाले एक लाखभन्दा बढि मात्राको कोभिडविरुद्धको फाईजर खोप उपलब्ध गराएकोमा आभार व्यक्त गरे।

अमेरिकाले यस अघि नेपाललाई असारमा एक मात्रा मात्र लगाए पुग्ने १५ लाख ३० हजार मात्राको जोन्सन एण्ड जोन्सन खोप पनि अनुदान स्वरुप उपलब्ध गराइएको थियो। 

बढ्यो सेयर बजार

सोमबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ। 

साताको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको नेप्से परिसूचक सोमबार ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ अंकमा पुगेको हो। नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदर वृद्धिमा लगाम लगाएसँगै सेयर बजार उकालो लागेको हो। त्यसैगरी धमाधम विभिन्न कम्पनीहरुले बोनस लाभांश दिने घोषणा गरेपछि बजार उकालो लागेको बजार विश्लेषकहरुको दाबी रहेको छ। यसदिन दिनभर २२९ कम्पनीको चार अर्ब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। सोमबार १७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। बढेको बजारमा पनि मेरो लघुवित्त वित्तिय संस्थाले सबैभन्दा बढी गुमाएको छ। 

सुडानमा सैन्य कू

सुडानमा ‘सैन्य कू’ पछि संक्रमणकालीन सरकारका प्रमुख र सरकार समर्थित नेताहरूलाई सेनाले नियन्त्रणमा लिएको छ। रोल...

प्रधानमन्त्री अब्दुल्लाह हमदोक र मन्त्रीहरूलाई आज उनीहरूकै घरमै नजरबन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। ‘ज्वाइन्ट मिलिटेरी फोर्सेस’को संयुक्त कारवाहीमा नेताहरुलाई पक्राउ गरिएको बताइएको छ। राजधानी खार्तुममा नागरिकहरुलाई हिँड्न रोक लगाइएको छ भने सडकमा सेना र अर्धसैनिक बल तैनाथ गरिएको छ। यसका साथै सरकारी टेलिभिजन र रेडियो मुख्यालय पनि कब्जामा लिएको छ। खार्तुम विमानस्थल हाललाई बन्द गरिएको र अन्तर्राष्ट्रिय विमान सेवा रद्द गरिएको छ।

यसैबीच, संयुक्त राष्ट्रसंघले सुडानमा गैरकानुनी रुपमा हिरासतामा राखिएका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छ। सुडानको सेनाले सोमबार प्रधानमन्त्री अब्दाल्लाह हाम्दोकसहित अन्य नेताहरुलाई घरमै नजरबन्द गरिएका छन्।  

प्रकाशित: Oct 25, 2021| 19:25 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।