काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) लाई १४ जना न्यायाधीशहरुले बहिष्कार गर्ने भएका छन्।
आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरुको बैठकले भोलि सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेको हो। नेपाल बार एसोसिएसनको सहयोग लिएर विषयान्तर गर्न फुलकोर्टको बैठक डाकिएकाले सो बैठकमा सहभागी नहुने निर्णय भएको स्रोतको दाबी छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आइतबार नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको छलफलमा सोमबारका लागि आफूले सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक डाक्ने र त्यसमा बारका पदाधिकारीहरु पनि बोलाउने प्रतिवद्धता जनाएका थिए।
यस्तै उनले न्यायालय सुधारका विषयमा बारले उठाउँदै आएका सम्पूर्ण विषयमा आफू गम्भीर रहेको पनि बताएका थिए। बारका पदाधिकारीसँगको छलफलमा प्रधानन्यायाधीश राणाले गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै पनि संलग्नता नहरेको प्रस्ट पारेका थिए। बारले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बनाएको प्रतिवेदन कार्यान्वयन नगरेको, स्वतन्त्र न्यायपालिका निर्माणमा तदारुकता नदेखाएको भन्दै प्रधानन्यायाधीशलाई भेट गरी ध्यानाकर्षण गराएको थियो।
न्यायपालिकामा विकृति, विसंगति, भ्रष्टाचार, अनियमितता र विचौलियालाई रोक्ने प्रशंगमा प्रधानन्यायधीश राणाको राजीनामाको कुरा आएको बताउँदै न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष बनाउन आवश्यक परे प्रधानन्यायधीशले छोड्नु पर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए।
पहिलाका खराबीलाई सुधार गर्नको लागि प्रधानन्याधीशलाई सोधेको र प्रधान्यायाधीश राणाले सकारात्मक प्रतिक्रिया दिएको अध्यक्ष श्रेष्ठले बताए। भेटपछि आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले बारको एजेन्डा न्यायपालिकामा देखिएको समस्या समाधान हुनुपर्ने रहेको बताए।
महाधिवेशन धकेलिन सक्छः देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन केहि दिन पर धकेलिन सक्ने संकेत गरेका छन्।
उनले २–४ दिन अघिपछि भएपनि कांग्रेसको महाधिवेशन भने गराएरै छाड्ने बताएका छन्। पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री देउवाले महाधिवेशन पर सार्ने पक्षमा आफू नरहे पनि केहि दिन पर सर्दैमा केहि नबिग्रिने बताएका हुन्। उनले पार्टीको आन्तरिक अधिवेशन हार्दिकताका साथ सम्पन्न गर्नसमेत निर्देशन दिएका छन्।
यस्तै प्रधानमन्त्री देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन्। आज आईतबार प्रदेश १ को बाढी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुगेका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरुको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताए। प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गास, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताए।
प्रधानमन्त्री देउवाले बाढीपहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुटने काम गरेकोमा सुरक्षाकर्मीहरुको समेत प्रशंशा गरे। सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताए।
प्रचण्ड र माधव नेपालले चुनाव जित्नै सक्दैनन्ः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अर्को चुनाव जित्न नसक्ने दावी गरेका छन्।
झापामा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–माधवलाई आफूहरूले टाँसिदिएको जुँगामा ताउ नलगाउन सुझाव दिए। उनले भने– हामीले चुनाव जिताइदिएर संसदमा ल्याएको हो। प्रचण्डको फुर्ती हामीले जगाइदिएको हो। अब जितेर देखाउन्। उनीहरूलाई कसले भोट दिन्छ ? ओलीले एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई अपराधिक तत्व संज्ञा दिँदै अब एमालेमा उनको स्थान नभएको बताए।
‘बिग्रिएका तत्व पार्टीमा थुपारेर काम छैन। माधव नेपालबाहेक अरु फर्किए हुन्छ, तर माधव नेपालजस्ता आपराधिक तत्वलाई एमालेमा स्थान छैन। उनले भने। माधव नेपालको पछि लागेका दुई–चार जना अझै अलमलमा परिरहेको उनको टिप्पणी छ।
सामाजिक विभेद रुचाउनेले माओवादीको विरोध गरेः प्रचण्ड
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउनेले माओवादीको विरोध गरेका बताएका छन्।
आइतवार पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको ‘ज्योति स्पर्श’ र ‘रातो बारुद’ नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व अर्थसचिव रामेश्वर खनालप्रति लक्षित गर्दै सामाजिक विभेदलाई रुचाउने तथा सामन्ती उत्पीडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहानेहरुले माओवादी पार्टीको विरोध गरीरहेको बताए। माओवादीले दलित, जनजाति, आदिबासी समुदाय र महिलाको हक अधिकारको निम्ति लडेको भन्दै उहाँले दलित समुदाय आफुलाई अत्याचार गर्नेहरुको पछाडी लागेर हिड्दा भने आफुलाई नमिठो लाग्ने तर्क गरे।
उनले कतिपयले जातिय विभेदको अन्त्य गर्न भनि भएको बिद्रोहलाई बदनाम गर्न र संघीयता उल्ट्याउन चाहेको पनि बताए।
भारत र पाकिस्तान भिड्दै
विश्व क्रिकेटमा दुई चिरप्रतिद्धन्द्धी भारत र पाकिस्तान टीट्वेन्टी विश्वकपको आ–आफ्नो पहिलो खेलमा आइतबार आपसमा भिड्दैछन्।
यूएईको आबुधावीमा नेपाली समयअनुसार पौने ८ बजे सुरु हुने खेलमा पाकिस्तान प्रतियोगिताको इतिहासमा भारतसँग लगातार पाँच खेलको हार टुंग्याउने प्रयाशमा रहने छ। वेस्ट इन्डिजले इंग्ल्याण्डसँग र पाकिस्तानले बंगलादेशसँग पनि टीट्वेन्टी विश्वकपका पछिल्ला लगातार पाँच खेल जितेका छन्। सन् २०११ को एकदिवशीय विश्वकपको सेमिफाइनलयता यी दुई टोलीबीच विश्वकपमा मात्र ५ पटक प्रतिस्पर्धा भएको छ भने ती सबैमा भारत विजयी भएको छ।