मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री ज्यू, जलविद्युत्‌मा कहिलेदेखि सेयर हाल्न पाइन्छ ?

मुख्यमन्त्री ज्यू, जलविद्युत्‌मा कहिलेदेखि सेयर हाल्न पाइन्छ ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- जलविद्युत्‌मा दिल खोलेर सेयर हाल्न सर्वसाधारण तयार देखिन्छन् । चिलिमे, सानिमा माई र बुटवल पावर कम्पनीका जलविद्युत् आयोजनाको सेयरमा लगानी उत्साहले पनि त्यही देखाउँछ । 

तर, राज्यले वातावरण नमिलाउँदा नेपालीले दुःख गरेर कमाएको रकम दैनिक उपभोग्य वस्तु र गैरउत्पादक क्षेत्रमा मात्रै खर्च भइरहेको छ । 

बरु, देशको अमूल्य पानीमा विदेशी लगानीले नेपाली स्वामित्व कमजोर बनेको छ । बेलाबखत राज्यले ल्याउने केही उत्साहप्रद नीति तथा कार्यक्रमले भने जनतामा ऊर्जाको क्षेत्रमा लगानी गर्ने ऊर्जा थपिएको छ । 

जनार्दन शर्माको नारादेखि प्रदेश-१ को नीतिसम्म

तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले ल्याएको 'नेपालको पानी जनताको लगानी' कार्यक्रम लोकप्रिय बन्यो । त्यसको कारण थियो, लोडसेडिङको मारबाट पार पाइने सर्वसाधारणको आशा । नेपाली जलविद्युत्को मालिक नेपाली जनता नै बन्न पाउने आधार तयार हुने कुराले पनि सर्वसाधारणमा उत्साह देखिएको थियो । 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगको साझेदारीबाट मन्त्री शर्माले गणतन्त्र स्थापनायताकै पहिलो सफल योजनाको रूपमा लोडसेडिङ अन्त्य गराए । र, 'नेपालको पानी जनताको लगानी' अवधारणा अगाडि सारे । 
 
३३ लाख जनसंख्याले डेढ लाखका दरले सेयर खरिद गर्दा चार खर्ब ९५ अर्ब रुपैयाँ जुट्छ । १० लाखको मात्र रकम हिसाब गर्दा पनि एक खर्ब ५० अर्ब रुपैयाँ संकलन हुन्छ ।


तर, जब शर्मा ऊर्जा मन्त्रीबाट हटे, उनको अवधारणा पनि हरायो । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले संसद्मा प्रस्तुत गरेको बजेटमा यो विषय समेटिएकोसम्म छैन । 

प्रदेश १ मा भने शर्माकै मोडेलअनुसार जलविद्युत् विकासको नीति तयार भएको छ । २७ जेठमा प्रदेश प्रमुख गोविन्द सुब्बाले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा जनताको लगानीबाट जलविद्युत् आयोजना निर्माण गर्ने एजेन्डालाई प्रमुखता दिइएको छ । 

३३औं बुँदामा सरकारले स्थानीय जनतालाई जल, जमिन र जंगलको मालिक बनाउँदै समाजवादको पूर्वाधार तयार गर्न 'प्रदेशको पानी जनताको लगानी- घर-घरमा बिजुली जनजनमा सेयर' नीति लागू गरिने उल्लेख छ । 

त्यसका लागि प्रदेश सरकारले विद्युत् आयोजना सञ्चालनमा सार्वजनिक-निजी तथा सार्वजनिक-सहकारी अवधारणा अपनाउने लोभलाग्दो नीति पनि ल्याएको छ । वैदेशिक रोजगारीमा रहेका र गैरआवासीय नेपालीलाई पनि यसमा सामेल गराउने नीति प्रदेश सरकारको छ । 

समस्या छैन लगानी उठ्न

साविकको पूर्वाञ्चल क्षेत्र दमित आर्थिक विकासको चरणबाट गुज्रिइरहेको छ । ठूला जलविद्युत् आयोजना निर्माणको प्रचुर सम्भावना भएर पनि प्रदेश-१ यस पाटोमा पछाडि पर्दै आएको छ । 

सर्वसाधारणको उत्साह हेर्दा जलविद्युत् विकासका लागि यो प्रदेश लगानी जुटाउने कुरामा पछाडि देखिँदैन । प्रदेश सरकारले ल्याएको कार्यक्रम पनि सर्वसाधारणको रकम सदुपयोग गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ । 

सरकारी तथ्यांक विश्लेषण गरौं । प्रदेश-१ को जनसंख्या ४५ लाख हाराहारी छ । र, साक्षरता दर ७० प्रतिशतभन्दा बढी छ । गरिबीको रेखामुनि रहेकाबाहेकको लगानी उठ्दा पनि ३३ लाखभन्दा बढी जनसंख्या जलविद्युत्मा लगानी गर्न तयार देखिन्छ । 

३३ लाखको एक तिहाइ मात्रको सेयर आउँदा पनि १० लाखभन्दा बढी लगानी गर्न तयार हुन्छन् । ३३ लाख जनसंख्याले डेढ लाखका दरले सेयर खरिद गर्दा चार खर्ब ९५ अर्ब रुपैयाँ जुट्छ । १० लाखको मात्र सेयर सोही दरमा आउँदा पनि एक खर्ब ५० अर्ब रुपैयाँ संकलन हुन्छ । 
 
नेपालको कुल जलविद्युत् उत्पादनको ३० प्रतिशत हिस्सा प्रदेश-१ मै छ ।
 

पछिल्लो रकम अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि पर्याप्त छ । अर्थात्, प्रदेश-१ ले जनताको रकम सदुपयोग गरेर मात्र पनि ठूला जलविद्युत् आयोजना निर्माण गर्न सक्छ । 

जागिर र रोजगारीको सिलसिलामा मुलुककै विभिन्न भागमा रहेका प्रदेश-१ का युवाबाट पनि ठूलो परिमाणमा लगानी उठाउन सकिने सम्भावना नभएको होइन । 

राष्ट्रिय युवा परिषद्को तथ्यांकलाई आधार मान्दा प्रदेश-१ मा १८ लाखभन्दा बढी जनसंख्या काम गर्ने उमेरको छ । उक्त जनसंख्याको २५ प्रतिशतबाट मात्रै सेयर संकलन गर्न सक्दा करिब ४५ अर्ब रुपैयाँ जुट्छ । 

यी सबै आधार विश्लेषण गर्दा प्रदेश-१ सरकारकै पहलमा पनि अरुण तेस्रोजस्ता दुई ठूला आयोजना निर्माणमा कुनै समस्या देखिँदैन । प्रदेश सरकारले जलाशययुक्त तमोर आयोजना तथा सुनकोशी र अरुण करिडोरका केही जलविद्युत् आयोजनामा यो मोडेलमा काम गर्न सक्छ । 

एक पटक सेयर हाल्नेले अर्को आकर्षक आयोजनाको सेयर खरिद नगर्ने भन्ने हुँदैन । खाली, सरकारले लगानीमैत्री वातावरण तयार पार्छ कि पार्न सक्दैन भन्ने कुराले यसमा महत्व राख्ने देखिन्छ । 
लगानी गर्ने ठाउँ नपाउँदा अहिले सामान्य सहकारीमा पनि लाखौंको सेयर खरिद गर्न लाइन लागेको देख्न पाइन्छ । सरकारले विश्वासको वातावरण तयार पार्दा जलविद्युत्मा लगानी नआउने सम्भावना देखिँदैन । 

दुई सय मेगावाटसम्मका साना र मझौला आयोजना निर्माणका लागि त निजामति कर्मचारी, सुरक्षाकर्मीहरू र सहकारीहरू पनि सक्षम देखिन्छन् । 

भोजपुरबाट प्रदेश सभा सदस्य उम्मेदवार बन्दा मुख्यमन्त्री शेरधन राईले जलविद्युत्लाई नै प्रदेश-१ को समृद्धिको आधार बताएका थिए । नेपालको कुल जलविद्युत् उत्पादनको ३० प्रतिशत हिस्सा प्रदेश-१ मै छ । 

आफ्नै नेतृत्वमा सरकार बनाएका मुख्यमन्त्री राईले विगतका विषयगत तर्कलाई तथ्यांकमा ढाल्न ढिलाइ गर्नु हुँदैन । प्रदेशमा सम्भावित विद्युत्गृहहरूको सदुपयोगका लागि स्वदेशी लगानी र विश्वस्तरीय व्यवस्थापनमा मुख्यमन्त्रीको जोड रहनुपर्ने देखिन्छ । 

एक पटकको लगानीले दीर्घकालीन आम्दानीको प्रत्याभूति गर्ने कुरातर्फ प्रदेश सरकारको ध्यान तत्काल जानु आवश्यक देखिन्छ । जनताको क्रयशक्ति बढाउँदै अनुत्पादक क्षेत्रको लगानी घटाएर प्रदेशको जलविद्युत्मा स्वदेशी स्वामित्व कायम राख्न सकिने प्रशस्त सम्भावना छ । 

प्रदेश-१ का खोलानालाबाट वर्षौंदेखि ठूलो परिमाणमा पानी बगेको बग्यै छ । र, अर्बौं लगानी त्यत्तिकै जमेर बसेको छ । जनसंख्याको बढ्दो दर र त्यससँगै बढेको बिजुली माग । प्रदेश-१ मा उत्पादन हुने बिजुलीको बजार यहीं छ । र, त्यसबाट उद्योग, कलकारखाना स्थापना र सञ्चालनको प्रचुरता पनि छ । प्रदेशका बासिन्दाको प्रश्न छ, 'मुख्यमन्त्रीज्यू, हामीले जलविद्युत्मा सेयर हाल्न कहिलेदेखि पाउने ?'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।