मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • प्रधानन्यायाधीशविरुद्ध उत्रिए पूर्वन्यायाधीशहरु, बाढीपहिरोले सवा ७ अर्बको क्षति [२०७८–७–५]

प्रधानन्यायाधीशविरुद्ध उत्रिए पूर्वन्यायाधीशहरु, बाढीपहिरोले सवा ७ अर्बको क्षति [२०७८–७–५]

पूर्वन्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण न्यायालयको स्वतन्त्रता संकटमा परेको बताएका छन्।
 |  शुक्रबार, कात्तिक ५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौं– पूर्वन्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण न्यायालयको स्वतन्त्रता संकटमा परेको बताएका छन्।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनीहरूले प्रधानन्यायाधीश राणले नै न्यायपालिकाको संकट समाधानका लागि निकास दिनुपर्ने समेत उल्लेख गरेका छन्।न्यायपालिका जोगाउन तीन विकल्प अघि सार्दै उनीहरुले पहिलो विकल्पका रुपमा प्रधानन्यायाधीश राणाले राजीनामा दिएर सहज निकास दिनु पर्ने उल्लेख गरेका छन्। पूर्वन्यायाधीश फोरमले प्रधानन्यायाधीश जबराले निकास नदिए उनीमाथि महाअभियोग प्रस्ताव अघि बढाउन समेत अपिल गरेको छ।  

यस्तै दोस्रो विकल्पका रुपमा अहिलेसम्म उठेका सबै सवालमाथि छानविन गर्न समिति गठन गर्नुपर्ने उनीहरुको माग छ। यस्तै तेस्रो विकल्पका रुपमा न्यायपालिकालाई आफ्नै नेतृत्वबाट जोगाउने जिम्मेवारी सबै तहका न्यायाधीशहरू निर्वाह गर्नु पर्ने उनीहरुले बताएका छन्। पूर्व न्यायाधीशहरूले ‘गठबन्धनमा न्यायाधीश’, ‘मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा’ भन्ने खबरहरु आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न गराएको ठहर गरेका छन्।

अर्लि इलेक्सनबारे छलफल गर्छुः प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले बैशाखमा अर्लि इलेक्सन गर्ने विषयमा सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका छन्।
कैलालीको धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू एक्लैले भनेर नहुने भन्दै यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका हुन्। सत्तारुढ काँग्रेस र विपक्षी एमालेमा अर्ली इलेक्सनको चर्चा हुँदै आएको छ।  

यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संघीय संसदबाट पारित हुने बताएका छन्। एमसीसी सहयोग परियोजना भएकाले यो नेपालकै कानुन अनुसार लागू हुने उनको भनाइ छ। अनुदान आउनु राम्रो हो, सित्तैमा आएको पैसा लिनु हुँदैन भनेर हल्लिखल्लि गर्नुको कुनै तुक नभएको उनले बताए।

त्यस्तै बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने पनि प्रधानमन्त्री देउवाले घोषणा गरेका छन्। बेमौसमी वर्षातले सुदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको बताउदै उनले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत उपलब्ध गराउने बताए।

बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री देउवा हिजो बिहिबार सुदूरपश्चिम पुगेका थिए।

विपत्तिको सामना गर्न आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिड्नुपर्ने चुनौती रहेको बताएका छन्।

आज शुक्रवार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरु भोग्नुपरेको बताए। उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरुपनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको टिप्पणी गरे  

गृहमन्त्री खाँणले विपत व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताए। सबै नेपाली एकजुट भएर विपतको सामना गर्नुपर्नेमा उनले जोड दिए।

पानि बिनाको जिवन नहुने भन्दै गृहमन्त्री खाँडले प्राकृतिक विपत्तिबाट सर्वप्रथम नदीलाई बचाउनुपर्ने र पानिको रक्षा गर्नुपर्ने बताए।

बाढीपहिरोले सवा ७ अर्बको क्षति

असोज ३१ गतेदेखिको बेमौसमी वर्षाका कारण तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब रुपैयाँ बराबरको धानबाली नष्ट भएको छ।

सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ मा ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी र वर्षाले क्षति पु¥याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।क्षतिको अनुमानित रकममा मूल्यांकन ७ अर्ब २२ करोड रुपैयाँ हाराहारी रहेको कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश सञ्जेलले बताए। वर्षाका कारण एक लाख ९८ हजार ५२१ हेक्टर क्षेत्रफलमा लगाइएको धानलाई भने असर मात्रै पु¥याएको मन्त्रालयले जनाएको छ।

दुई लाख ५८ हजार ९२ मेट्रिकटन धान वर्षातका कारण क्षति भएको प्रारम्भिक अनुमान छ।अनुमानित विवरणअनुसार लुम्बिनी प्रदेशका चार जिल्लामा वर्षातको असर धेरै छ। यो प्रदेशमा ४२ हजार ४२७ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको छ।सुदूरपश्चिमप्रदेशभर ५५ हजार हेक्टर क्षेत्रफलको धानमा असर पुगे पनि क्षति भने १८ हजार हेक्टरमा मात्रै छ। यस्तै प्रदेश १ को ६७ हजार ९१९ हेक्टर क्षेत्रफलमा वर्षाको असर र क्षति देखिएको छ।

सरकारको कामपप्रति गगनको असन्तुष्टि

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन्। पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाए। नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराए।

काँग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे। उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाढि ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारे। नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह गरे।

खानेपानीका हाकिमलाई दुर्व्यवहार गर्नेविरुद्ध मुद्दा

खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ जना कार्यकर्ताविरुद्ध प्रहरीले अनुसन्धान शुरु गरेको छ।

जनमत पार्टीका कार्यकर्ताले कुशवाहलाई बिहीबार शरीरमा हिलो छ्यापेर अर्धनग्न अवस्थामा जनकपुरधाम बजार घुमाएका थिए। उनीमाथि दुर्व्यवहार गर्ने १७ जनालाई आपराधिक उपद्रवसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत धनुषाबाट अनुमति लिएको छ।जिल्ला अदालतबाट उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति लिइएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।अभियोग पुष्टि भएमा उनिहरुलाई अधिकतम ४ वर्ष कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रहरीले जनाएको छ।

यसैबीच, आफ्ना कार्यकर्ता पक्राउको विरोधमा जनमत पार्टीले शुक्रबार जनकपुरधाममा प्रदर्शन गरेको छ। प्रदर्शनकारीले पक्राउ परेका पार्टी कार्यकर्ता रिहाइको माग गरेका छन्।

प्रकाशित: Oct 22, 2021| 20:23 शुक्रबार, कात्तिक ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।