काठमाडौं- नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक भीम रावलले राजीनामा दिने भएका छन्।
केन्द्रीय कमिटीले निर्णय गरेर अन्तरपार्टी निर्देशनबाटै जारी भएको १० बुँदे सहमति कार्यान्वयन नभएकामा असन्तुष्टि जनाउँदै रावलले राजीनामा दिने भएका हुन्।
'यो मेरो व्यक्तिगत कुरा होइन। अपानिबाट जारी भएको कुरा कार्यान्वयन गर्ने कि नगर्ने भन्ने कुरा हो। र, त्यसको कार्यान्वयन नगर्ने तर्क आएको हुनाले म त्यसप्रति सहमत हुन सकिनँ', उनले भने।
रावलले थपे, 'एकातिर भीम रावललाई कार्यदल संयोजकको जिम्मा छ कार्यान्वयन गरे भइहाल्यो भन्ने, अर्कोतिर पार्टीमा भएका छलफल र केन्द्रीय कमिटीले गरेको निर्णय मान्ने नभएपछि त्यो कार्यदलमा बसिरहनुको कुनै औचित्य नभएको हुनाले त्यसबाट राजीनामा दिने बैठकमा घोषणा गरेको छु र लिखित रूपमा भोलि अध्यक्षलाई पठाउने जानकारी गराएको छु।' -न्युज कारखाना