काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखमा अर्ली इलेक्सन गर्ने विषयमा सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताएका छन्। कैलालीको धनगढीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू एक्लैले भनेर नहुने भन्दै यसबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएका हुन्। सत्तारुढ काँग्रेस र विपक्षी एमालेमा अर्ली इलेक्सनको चर्चा हुँदै आएको छ ।
यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संघीय संसदबाट पारित हुने बताएका छन्। एमसीसी सहयोग परियोजना भएकाले यो नेपालकै कानुन अनुसार लागू हुने उनको भनाइ छ। बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने पनि प्रधानमन्त्री देउवाले घोषणा गरेका छन्।
बेमौसमी वर्षातले सुदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको बताउदै उनले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत उपलब्ध गराउने बताए।
प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिँदै
प्रदेश १ सभाको बैठक आज बस्दैछ। शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन्। विश्वासको मत लिनका लागि असोज २५ गते मुख्यमन्त्री आचार्यले प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली समक्ष सूचना दिएका थिए।
मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नु पर्ने संवैधानिक व्यवस्था छ। नेकपा एमालेका १० सांसद एकीकृत समाजवादी रोजेसँगै मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन्। मुख्यमन्त्री आचार्यलाई विश्वासको मत पाउन ४६ सांसद आवश्यक हुन्छ। ९२ सदस्यीय प्रदेशसभामा सत्तारुढ एमालेका ४१ जना सांसद छन्।
आउने भो फाइजर खाेप
कोरोनाविरुद्धको फाइजर खोप सोमबार नेपाल आइपुग्ने भएको छ। गाभीले अनुदानमा उपलब्ध गराउने भनेको एक लाख डोज फाइजर खोप सोमबार आइपुग्ने जनाइएको छ। माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप कुन समूहलाई दिने भन्ने विषय छलफल भइरहेको बताइएको छ।
खोप भण्डारणका लागि युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिज उपलब्ध गराइसकेको छ। स्वास्थ्य सेवा विभाग खोप महाशाखाका अनुसार फाइजरको पहिलोमात्रा कार्तिक २८ देखि मंसिर ३ गतेसम्म चल्ने जनाइएको छ।
अस्पतालमा तोडफोड
चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक समूहले मध्यरातमा तोडफोड गरेको छ। अस्पतालका सुरक्षा गार्डलाई पनि कुटपिट भएको छ ।
अस्पतालका प्रमुख डा. विश्ववन्धु बगालेले ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्ड एकबहादुर थापामगरलाई कुटपिट गरेको बताए । उनका अनुसार सो समूहले ड्युटीमा रहेका नर्सहरुमाथिसमेत हातपातको प्रयास गरेको थियो । तोडफोड गर्ने तथा कुटपिट गर्ने समूहको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
मौसमविद् भन्छन् - अब तत्काल पानी पर्दैन
न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा असर गर्ने उल्लेखिय मौसम प्रणाली विकसित भएको छैन। यद्यपि, स्थानीय वायुका कारण बदलीदेखि हल्का वर्षाको सम्भावना भने रहन्छ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकीमाका एकदुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कच्चा तेलको भाउ बढ्यो
अन्तरराष्ट्रिय बजारमा कच्चातेलको भाउ बढेर प्रतिब्यारेल ८६ डलरभन्दा माथि पुगेकोे छ। यो तीन वर्षकै उच्च भएको समाचारमा उल्लेख छ। सीमित आपूर्ति र विश्वभर देखिएको ऊर्जा अभावका कारण कच्चा तेलको मूल्य बढेको विश्लेषकहरुको भनाइ छ। अमेरिकाको ऊर्जा सूचना प्रशासनले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार कच्चा तेल र इन्धनको इन्भेन्टयिरज सीमित भएको छ।