मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बागमतीमा नेकपा (एस) र कांग्रेसको आलोपालो सरकार, खानेपानीका निमित्त प्रमुखमाथि दुर्व्यवहार [२०७८–७–४]

बागमतीमा नेकपा (एस) र कांग्रेसको आलोपालो सरकार, खानेपानीका निमित्त प्रमुखमाथि दुर्व्यवहार [२०७८–७–४]

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित भएको छ।
 |  बिहीबार, कात्तिक ४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ४, २०७८

काठमाडौं– नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित भएको छ। 

विपक्षी गठबन्धनको आज बिहीबार हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको हो। मुख्यमन्त्रीमा एकिकृत समाजवादीसँगै कांग्रेसले पनि दाबी गरेको थियो। तर, बिहिबारको बैठकमा कांग्रेस ब्याक भएसँगै पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको हो। सहमति जुटाउनका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतलाई हेटौंडा पठाएका थिए। 

गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा एकिकृत समाजवादीले नयाँ मुख्यमन्त्री चयनका लागि हस्ताक्षर समेत संकलन गरिसकेका छन्। प्रदेशसभाको अंकगणितअनुसार मुख्यमन्त्री शाक्य अल्पमतमा छिन्। प्रदेशसभामा १ सय ९ सांसद छन्। विश्वासको मत प्राप्त गर्न ५५ सांसदको समर्थन चाहिन्छ। एमालेमा ४३ सांसद मात्र छन्। प्रदेशसभामा विपक्षी गठबन्धनको स्पष्ट बहुमत छ। उनीहरुसँग ५८ मत छ। 

पाण्डे ७ महिना मात्रै बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन्। बिहीबार गठबन्धनको बैठकमा कांग्रेससँग आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै उनी ७ महिना मात्रै मुख्यमन्त्री हुने भएका हुन्।

अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको बर्हिगमनपछि समाजवादी र कांग्रेसले आलोपालो सत्ताको नेतृत्व गर्ने लिखित सहमति गरेका हुन्। प्रदेश सभाको निर्वाचन हुन अब करिब १४ महिना मात्रै बाँकी छ। त्यसमध्ये ७ महिना एकिकृत समाजवादी र ७ महिना कांग्रेसले बागमती प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको हो। 

पहिलो कार्यकालको नेतृत्व एकिकृत समाजवादीका तर्फबाट पाण्डेले गर्ने र दोस्रो कार्यकालको नेतृत्व कांग्रेस संसदीय दलका नेता इन्द्र बाँनियाले गर्ने भएका हुन्। यसअघि समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेश सरकारको नेतृत्व आफुहरुले गर्ने सहमति भइसकेको दाबी गरेका थिए। कांग्रेसले आफ्नो दाबी नछोडेपछि सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको उपस्थितिमा बसेको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटाएको हो। 

विश्वासको मत लिने प्रक्रिया रोकियो

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतमाथि मतदान नगरी बागमती प्रदेशको प्रदेशसभा बैठक कात्तिक १० गतेसम्म स्थगित भएको छ। 

बिहीबारको बैठकमा मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएपछि सभामुख सानुकुमार श्रेष्ठले कात्तिक १० गतेसम्मका लागि बैठक स्थगित गरिदिएका हुन्। आजको बैठकमा बोल्दै माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले गठबन्धनले निर्णय गरेर आइसकेको भन्दै राजीनामा दिन मुख्यमन्त्री शाक्यसँग आग्रह गरे। 

कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले पनि मार्गप्रशस्त गर्न आग्रह गरे। दुई चार दिन भएपनि सत्ता लम्ब्याउन पाए हुन्थ्यो भने जसरी प्रस्तुत नहुन सुझाव दिए।  गठबन्धनद्वारा नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएका एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले पनि मार्गप्रशस्त गर्नु नै राम्रो हुने बताए।

माओवादीका ३३ विभाग गठन

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले ३३ वटा केन्द्रिय विभाग गठन गरेको छ। 

पार्टीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रिय विभाग गठन गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिको गठन गरेको  बताए। बैठकले ३५ सदस्यीय रहने गरी विभाग गठन गरेको उनले जानकारी दिए। त्यस्तै विभाग बाहेक रामचन्द्र झाको नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान बनाउने निर्णय गरिएको छ। 

प्रवक्ता महराका अनुसार पार्टी स्कूल विभागको संयोजकमा गिरिराजमणि पोखरेल र इन्चार्जमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल तोकिएका छन्। यस्तै अर्थ तथा योजना विभागको प्रमुखमा वर्षमान पुन, उद्योग विभागमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेलको संयोजकत्वमा विभाग गठन गरिएको प्रवक्ता महराले बताए। 

प्रवक्ता महराले पार्टी सदस्यताको काम ५० प्रतिशत सकिएको बताउँदै अबको एक हप्तामा पार्टी सदस्यताको काम पूरा हुने  बताए। उनले राष्ट्रिय महाधिवेशनमा ५ देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य राखेको पनि बताए।  

बाढीपहिरो पीडितका लागि राहत प्याकेज चाँडै

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन्। 

आज बिहीबार बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन्। देउवाले अमरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूसँग जिल्लामा बाढीपहिरो पीडितहरुका बारेमा जानकारी लिएका थिए।

देउवाले बाढीपहिरो पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न पनि गृहजिल्लाका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त्री देउवाले पीडितहरूको व्यवस्थापन गर्न आवश्यक पर्ने बजेट संघीय सरकारले उपलब्ध गराउने आश्वासन पनि दिएका छन्। आइतबारबाट परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता छन्। यस्तै, बाढीपहिरोमा परेर १६ जना घाइते भएको प्रहरी तथ्यांकमा उल्लेख छ।

मृतकको संख्या सय नाघ्यो

गत आइतबारदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १०० नाघेको छ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको हो। मृतकमा  १ नम्बर प्रदेशका ६० जना, बागमती प्रदेशका १ जना, कर्णाली प्रदेशका ७ जना र सुदूरपश्चिम प्रदेशका ३१ जना गरी जम्मा १ सय १ जना रहेका छन्। यस्तै १ नम्बर प्रदेशमा १९ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन्। 

यसैगरी बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना वेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बाढीका कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन्। 

खानेपानीका निमित्त प्रमुखमाथि दुर्व्यवहार

ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुखलाई कुटपिट गर्दै नगर घुमाएका छन्। 

दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेताकार्यकर्ताले गुण्डाशैलीमा नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुश्वाहालाई कुटपिट गर्दै नगर परिक्रमा गराएका हुन्। जनकपुरधामको रामानन्द चोकस्थित कार्यालयमा लाठीसहित पुगेका जनमत पार्टीका दर्जनौं कार्यकर्ताले कुश्वाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए। उनीहरुले निमित्त प्रमुख कुश्वाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए।

यसैबिच, खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुखलाई कुटपिट गरी दुर्व्यवहार गर्ने जनमत पार्टीका १० जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले कार्यालय प्रमुख कुश्वाहालाई दुर्व्यवहार गर्ने १० जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा राखिएको जानकारी दिए।

नाम परिवर्तनको तयारीमा फेसबुक

सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो नाम परिवर्तन गर्ने भएको छ। 

सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको हो। यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने बताइएको छ। पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले सुलसुलेको रुपमा अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ। साथै फेसबुकले आफुलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहन्छ।


प्रकाशित: Oct 21, 2021| 19:21 बिहीबार, कात्तिक ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।