काठमाडौं– सत्ता गठबन्धनबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने सहमति भएको छ। गठबन्धनको बिहीबार बसेको हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अगाडि बनाउने निर्णय गरेको हो।
मुख्यमन्त्रीका लागि कांग्रेस नेता इन्द्र बानियाँ र पाण्डेबीच प्रतिस्पर्धा थियो। बानियाँ प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन्। देउवाले मुख्यमन्त्रीको विषय टुंग्याउन र सम्झौता गर्न कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतलाई बिहीबार बिहान हेटौंडा पठाएका थिए।
महत मुख्यमन्त्रीमा पाण्डेलाई अगाडि बढाउने समझदारी बनाएर काठमाडौं फर्केको बताइएको छ। एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि प्रदेशका विपक्षी गठबन्धनले पाण्डेलाई अघि सार्न लागेका हुन्।
प्रदेशसभाको अंकगणितअनुसार मुख्यमन्त्री शाक्य अल्पमतमा छिन्। प्रदेशसभामा १ सय ९ सांसद छन्। विश्वासको मत प्राप्त गर्न ५५ सांसदको समर्थन चाहिन्छ। एमालेमा ४३ सांसद मात्र छन्। प्रदेशसभामा विपक्षी गठबन्धनको स्पष्ट बहुमत छ।
सत्ता गठबन्धन माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ गरी प्रदेश सभामा ५८ मत छ। यी तीन दलबाहेक नेमकिपा दुई, राप्रपा दुई, विवेकशील साझा तीन र स्वतन्त्र एकको समर्थन जुटाए पनि शाक्यका पक्षमा ५१ मत मात्रै हुनेछ। विश्वासको मतबारे छलफल गर्न बिहीबार ३ बजेदेखि प्रदेशसभा बैठक जारी छ। एक बजेका लागि डाकिएको बैठक एमाले सांसदहरुको आग्रहपछि ३ बजेका लागि सारिएको थियो।