काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन्। बिहीबार धादिङमा भएको कांग्रेस धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले १३ औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधि, पद्धति र मूल्यमान्यता अनुसार नचलेको बताएका हुन्।
उनले विधिसम्मत् र संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउनको लागि सक्षम नेतृत्वको आवश्यकता रहेको समेत बताए। पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाइ थियो। साथै उनले पार्टीको आसन्न १४ औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने बताए।
‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नुपर्दछ। क्रियाशील सदस्यता विधि र पद्धति अनुसार वितरण हुनुपर्छ,’ उनले भने, ‘यसअघिको सहमति अनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनुपर्दछ। यसमा नेतृत्वले ध्यान दिन जरुरी छ।’
अधिवेशन त समयमा नै गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको उनको भनाइ थियो। पार्टी सभापतिको गृह जिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि बिग्रिएको उनको आरोप छ। अधिवेशन हुँदा सबैलाई पद चाहिने तर पदमा पुगिसकेपछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नुपर्ने उनको भनाइ छ।
गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको भन्दै उनले अब पार्टीको नेतृत्व पनि गर्ने बताए। हरेक आन्दोलनमा आफूले संघर्ष गर्दै आएको भन्दै उनले गणेशमानको छोरा भएर मात्र राजनीतिमा नआएको बताए।