काठमाडौं– अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेर पछिल्लो ३ दिनमा ९२ जनाको मृत्यु भएको छ। २२ घाइते भएका छन् भने ३६ जना बेपत्ता छन् । सुदूरपश्चिमदेखि पूर्वसम्मका १७ जिल्लामा बाढीपहिरोबाट मानवीय क्षति भएको छ । सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा भएको छ। जहाँ २४ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता छन्। ६ जना घाइते भएका छन्।
यस्तै डोटीमा १५ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। इलाममा १३ जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता र दुई जना घाइते भएका छन्। बझाङमा सात जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन्।
यस्तै हुम्लामा सात, धनकुटामा ६, सुनसरीमा पाँच, बैतडीमा चार, उदयपुरमा दुई, डडेल्धुरामा दुई जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ। त्यस्तै मोरङ, भोजपुर, कपिलवस्तु, कैलाली, कालिकोट, सोलुखुम्बु र प्युठानमा एकएक जनाको मृत्यु भएको छ।
रोकिन थाल्यो वर्षा
तीन दिनसम्म देशका अधिकांश भेगमा भएको ‘अति भारी’ वर्षा क्रमिक रूपमा रोकिएको छ। बिहीबारदेखि मौसममा सुधार हुँदै जाने र अब तत्कालै ठूलो वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार रातिदेखि अधिकांश स्थानमा पानी पर्न रोकिएको मौसमविद् वरुण पौडेलले जानकारी दिए। भारी वर्षा गराउने प्रणाली बाहिरिसकेकाले अब तत्कालै ठूलो वर्षाको सम्भावना उनले बताए।
महाशाखाका अनुसार बिहीबारदेखि अधिकांश स्थानमा घाम लाग्नेछ। यद्यपि आगामी २४ घण्टा प्रदेश नं १, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै
बागमती प्रदेश सभाको बैठक आज बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकबाट अल्पमतमा पर्नु परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनेछ। प्रदेशसभा सचिवालयले विश्वासको मत लिनका लागि आन्तरिक तयारी गरेको जनाएको छ। सत्तारुढ नेकपा एमाले संसदीय दलले आजको प्रदेशसभा बैठक सार्न आग्रह गरे पनि बैठक बस्ने भएको हो। विपक्षी गठबन्धनले सदन चलाएर मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन सभामुख सानुकुमार श्रेष्ठलाई आग्रह गरेको छ।
सोहीबमोजिम आज मत विभाजन हुने भएको छ। मुख्यमन्त्री शाक्यले गत असोज २४ गतेको प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यका लागि प्रस्ताव पेस गरेकी थिइन्।
बागमतीमा नयाँ सरकार गठनबारे छलफल
बागमती प्रदेशमा नयाँ सरकार गठनका विषयमा छलफल गर्न गठबन्धनको बैठक आज बस्दै छ। दिउँसो बस्ने प्रदेशसभा बैठक अगाडि नै नयाँ सरकार गठनका विषयमा निर्णय लिन गठबन्धनबीच छलफल हुन लागेको हो। कांग्रेसका एक प्रदेश सभा सदस्यका अनुसार आजको गठबन्धनको बैठकले प्रदेशको नेतृत्व र मन्त्रालय बाँडफाँटको टुंगो लगाउनेछ। गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) छन्।
बागमती प्रदेशमा मुख्यमन्त्री शाक्य स्पष्ट अल्पमतमा रहे पनि विपक्षी गठबन्धनले भने विकल्पमा निर्णय गर्न सकेको छैन। गठबन्धनमा बागमती प्रदेशको नेतृत्व नेकपा एकीकृत समाजवादीले पाउने सहमति भए पनि कांग्रेसले पुनः दाबी गरेपछि किचलो मिल्न सकेको छैन।
एमाले स्थायी कमिटी बैठक ३ बजे
नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दै छ। दिउँसो ३ बजे बस्ने बैठकमा विधान महाधिवेशनको समीक्षा, कात्तिक ६ गते हुने वडा अधिवेशन, कार्तिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशनका विषयमा छलफल हुने भएको छ। त्यसैगरी, देशका विभिन्न स्थानमा हालैको अविरल वर्षका कारण भएको जनधनको क्षतिका विषयमा पनि बैठकमा छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
महामारी अझै एक वर्ष लम्बिने डब्ल्यूएचको चेतावनी
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओले) कोरोना महामारी अझै एक वर्ष बढी समयसम्म रहन सक्ने चेतावनी दिएको छ। डब्ल्यूएचओले विपन्न मुलुकले आफूलाई चाहिने कोरोनाविरुद्धको खोप नपाइरहेकाले सन् २०२२ को अन्त्यसम्म महामारी लम्बिन सक्ने चेतावनी दिएको हो।
डब्ल्यूएचओका अनुसार अफ्रिकामा पाँच प्रतिशतभन्दा कम जनसंख्याले मात्रै कोरोना खोप पाएका छन् भने अन्य अधिकांश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन्।