काठमाडौं- नेपाली कांग्रेसका युवा नेता गगन थापा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा संसदीय नेटवर्कको बोर्ड सदस्यमा निवार्चित भएका छन्।
नेता थापाले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत आफू निर्वाचित भएको जानकारी गराएका हुन्। उनले भनेका छन्, 'वर्ष २०२१-२०२३ का लागि विश्व बैंक र आईएमएफमा संसदीय नेटवर्कको बोर्ड मेम्बरका रुपमा निर्वाचित भएको कुरा जानकारी गराउन पाउँदा खुसी लागेको छ।'
यस नेटवर्कको बोर्डमा रही विश्वका १४० भन्दा बढी देशका सांसदहरूसँगै अबको दुई वर्ष समावेशी विकासका लागि काम गर्न आफू उत्साहित भएकोसमेत बताएका छन्।
अन्तर्राष्ट्रिय वित्तिय संगठन विश्व बैंक र आईएमएफमा सन् २००० देखि सदस्य राष्ट्रका सांसद्हरुको नेटवर्क बनाएर विकास र सुक्ष्म आर्थिक चुनौती तथा अन्य विभिन्न मुद्दाहरुलाई सम्बोधन गर्ने गरिएको छ।