काठमाडौं- लगातारको वर्षाले पुर्याएको क्षतिको अवस्थाबारे बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वमन्त्रीहरुको टोलीसहित बिहीबार गृहप्रदेश सुदूरपश्चिम जाने भएका छन्। उनी एक मन्त्री र तीन जना पूर्वमन्त्रीका साथ गृहप्रदेशमा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जाने भएका हुन्।
बुधबार बिहान सुदूरपश्चिमबाट फर्किएका नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री देउवालाई भेटेर त्यहाँको अवस्थाबारे जानकारी गराएका थिए। नेता साउदसँग बुधबार अपरान्ह भएको सरसल्लाहका क्रममा उनले बिहीबार बिहान सुदूरपश्चिमको क्षतिबारे निरीक्षणका लागि जाने तय गरेका हुन्।
नेता साउदका अनुसार मेलम्चीमा बाढी र पहिरोले पुर्याएको विपत्तिमा सरकारले दिएको क्षतिपूर्तिकै मोडलमा सुदूरपश्चिममा पनि क्षतिपूर्ति उपलब्ध गराइने भएको छ।
प्रधानमन्त्री देउवासँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई लिएर सुदूरपश्चिम जाँदै छन्। प्रधानमन्त्रीको उक्त टोलीमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्रीहरु साउदसहित रमेश लेखक र वीरबहादुर बलायर पनि रहने छन्। टोली काठमाडौंबाट सोझै कुन जिल्ला जाने भन्ने बारेमा भने तय भइनसकेको नेता साउदले जानकारी दिए।
उनले छलफलका क्रममा आफूले प्रधानमन्त्रीलाई नदी किनारका बस्तीहरु जोखिममा रहेका, पहाडी जिल्लाहरुमा पहिरोको उच्च जोखिम रहेको, सडक सञ्जाल भताभुंग भएको, विद्युत–टेलिफोन सेवा अवरुद्ध भएकोबारे ‘ब्रिफिङ’ गरेको बताए।
‘सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरका किसनाहरुले धानको एकतिहाइ खेतबाट घर ल्याउन सकेका छैनन। कतै धान बगाएको छ भने कतै डुबाएको छ। यसका बारेमा मैले प्रधानमन्त्रीलाई अवगत गराएको छु,’ नेता साउदले भने।