काठमाडौं– अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर देशभर ५० जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता भएका छन्।
प्रदेश १ मा मात्रै २७ जनाको मृत्यु भएको छ भने सुदुरपश्चिम प्रदेशमा १५ जनाको बाढीपहिरोमा परेर ज्यान गएको छ। कर्णाली प्रदेशमा ७ र बागमति प्रदेशमा एक जनाको मृत्यु भएको छ। जिल्लागत हिसावमा प्रदेश १ को इलाममा १२, पाँचथरमा ७, धनकुटामा ६ र सुनसरीमा २ जनाको पहिरोमा पुरिएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस्तै सुदुरपश्चिम प्रदेशको डोटीमा ९, बैतडीमा ४ जना र डडेलधुरामा २ जनाको मृत्यु भएको छ। त्यस्तै कर्णाली प्रदेशको हुम्लामा ६ र कालिकोटमा १ जनाको पहिरोमा पुरिएर मृत्यु भएका छ। बागमति प्रदेशको सिन्धुलीमा पनि एक जनाको मृत्यु भएको छ।
बाढीपहिरोमा परेर बझाङमा २३, कैलालीमा ४, इलाममा ३ र डोटीमा एकजना बेपत्ता भएका छन्। बझाङको थलारा गाउँपालिका–४ को डिख्लामा मंगलबार बिहान परेको पहिरोले घर बगाउँदा चार परिवारका २३ जना बेपत्ता छन् भने कैलालीमा नदीमा बगेर चार र डोटीमा एक जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। यस्तै इलाममको माङसेबुङ गाउँपािलकामा २ र फाकफोकथुम गाउँपालिकामा एक जना बेपत्ता भएका छन्।
सुपका सात जिल्लाको यातायात ठप्प
लगातारको वर्षापछिको बाढी र पहिरोका कारण सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको यातायात सेवा ठप्प बनेको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अबिरल बर्षाका कारण डोटीको जोरायल गाउँपालिका स्थित बुडर नजिकै भीमदत्त राजमार्गमा पहिरो खस्दा ७ वटै जिल्ला जोड्ने सडक अबरुद्ध बनेको हो। भीमदत्त राजमार्ग अन्तरगत नै कैलालीको चुरे गाउँपालिका स्थित भासु भिर नजिक पनि पहिरो गएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।
बर्षापछि पहिरो जाँदा डोटीस्थित कालागार, बैतडीको खोड्पे अन्तर्गतको जयपृथ्बी राजमार्ग सडक खण्ड अबरुद्ध छ। यसैगरी, बैतडीको सतबाझ सडकखण्ड, दार्चुलाको महाकाली नगरपालिकास्थित खिम्त सडक खण्ड, अछामको कैलासखोला, ठूलासैनी सडक खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ। सुदूरपश्चिमका ७ पहाडी क्षत्रेमा विगत ३ दिनदेखि विद्युत र सञ्चार सेवा समेत अबरुद्ध बनेको छ।
फेरि भासियो कमला पुल
सिरहा जोड्ने कमला नदीको पुल फेरि भासिएको छ। दुई दिनदेखि भइरहेको अबिरल वर्षाले नदीमा बढेको पानीको बहाव थेग्न नसकेर पुलको पिलर भासिएको हो।
हुलाकी सडकको मेरुदण्डको मानिने यो पुलको पश्चिमतिरबाट तेस्रो नम्बरको पिलर भासिएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए। यसअघि गएको असारमा आएको बाढीले पूर्व तर्फबाट यो पुलको दोस्रो नम्बरको स्पान भासिएको थियो।
९९ प्रतशित काम सकेर उद्धघाटनको तयारीमा रहेको यो पुल भासिएपछि ठेकेदार कम्पनी पप्पु–लुम्बिनी जेभीलेले केही दिनभित्रै मर्मत गर्ने जनाएको थियो। ४७० मिटर लामो यो पुल निर्माणका लागि २०६८ सालमा पानै २५ करोडमा ठेक्का सम्झौता भएको थियो।
मृतक परिवारलाई दुई लाख क्षतिपूर्ति
सरकारले बाढी पहिरोका कारण मृत्यु भएकाका परिवारलाई कम्तीमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आज (बुधबार) बसेको बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक लाख रुपैयाँका दरले अतिरिक्त रकम दिने निर्णय गरेको हो। सिंहदरबारस्थित प्रधानामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए। बैठकले राहत र उद्धार कार्यलाई प्रभावकारी बनाउँन राज्यका सबै संयन्त्र परिचालन गर्ने पनि निर्णय गरेको छ।
यस्तै सरकारले बाढी पहिरोबाट घर भत्केकाहरूको घर निर्माणका लागि ५ लाखसम्म आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि भएको छ। मन्त्रिपरिषद्को बैठकले पहाडमा घर बनाउन ४ लाख, हिमालमा ५ लाख र तराईमा ३ लाख उपलब्ध गराइने गृहमन्त्री खाँणले बताए। उनका अनुसार विपद् व्यवस्थापन समितिको तर्फबाट घरबारविहीन भएकाहरुलाई तत्काल ५० लाख पनि उपलब्ध गराउने निर्णय भएको छ।
एक सातामै सरकार ढाल्न सक्छुः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका छन्।
एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका हुन्। तर एमाले सत्ता प्राप्तीलाई नभई निर्वाचनको जितलाई पहिलो मान्ने उनको भनाइ छ। यस्तै अध्यक्ष ओलीले वर्तमान सरकार आलोचना गर्नसमेत लायक नरहेको टिप्पणी गरेका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारलाई निमित्त नायवी सरकारको संज्ञा दिदै उनले यो सरकार कसले चलाइरहेको छ भनेर भन्न नसकिने बताए।
अध्यक्ष ओलीले देशलाई आगामी निर्वाचनबाट एमालेको विजय चाहिएको बताए। अन्य पार्टीसँग देशलाई अघि बढाउने कुनै दृष्टिकोण नभएको उनको दावी थियो। ओलीले आगामी चुनावमा काँग्रेस र एमाले बीच प्रतिश्पर्धा हुने बताए। तर काँग्रेससँग जनतालाई भन्ने एजेण्डा नरहेको उनको भनाइ छ। बाँकी दलहरुले भने चुनावमा च्याँखे थाप्ने ओलीले बताए। तर च्याँखे थाप्ने दलहरु आगामी चुनावबाट पराजित उनको दाबी छ।
अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई निर्वाचनबाट जनताले बदर गरिदिने चेतावनी समेत दिए। उनले अदालतले जनताबाट विश्वास गुमाईसकेको उल्लेख गर्दै आक्रोश समेत व्यक्त गरे।
नेपाल फर्कन अलमुताइरी सकारात्मक
अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकको रुपमा नेपाल फर्कन सकारात्मक देखिएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार छलफल गरेपछि अलमुताइरी नेपाल फर्कन सकारात्मक भएका हुन्। अध्यक्ष शेर्पा र अलमुताइरीबीच बुधबार कतारमा छलफल भएको थियो। छलफलपछि उनी नेपाल फर्कन सकारात्मक देखिएको अध्यक्ष शेर्पाले बताएका छन्।
शेर्पाले सामाजिक सञ्जालमा अलमुताइरीसँग छलफल भएको भन्दै तस्बिर समेत सार्वजनिक गरेका छन्। यसअघि अलमुताइरीले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल प्रमुख प्रशिक्षकको रूपमा अन्तिम भएको बताएका थिए। अलमुताइरीको नेतृत्वको नेपाली फुटवल टिमले २८ वर्षको साफको इतिहासमा पहिलो पटक फाइनल खेल्ने अवसर पाएको थियो।