काठमाडौं- नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन कात्तिक ६ गते देशभर एकैपटक गर्ने निर्णयप्रति असन्तुष्टि जनाएकी छन्।
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको उनले बताएकी हुन्। काठमाडौंमा बुधबार आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताएकी हुन्।
नेकपा एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिएकी हुन्। उनले आफूले पार्टी भित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटक-पटक दोहोर्याएकी छन्।
उनले भनिन्, ‘अब ६ गतेदेखि वडा तहमा एकैचोटी अधिवेशन, पालिकाहरुको अधिवेशन भन्ने कुराहरु निर्देशनमा आइसकेको छ। सम्पूर्ण कमरेडहरु त्यसका लागि तयार हुनै पर्दछ। त्यतिमात्र होइन वडा कमिटीको अधिवेशन, पालिकाको अधिवेशन भनेको केन्द्रीय कमिटीको महाधिवेशनभन्दा पनि महत्वपूर्ण छ भन्ने मैले ठानेको छु। किन भन्दाखेरी यो हाम्रो आधार हो, हाम्रो धरातल हो। वडा अधिवेशन भनेको हाम्रो टेक्ने धरातल हो। अधिवेशनको हतारो किन? हाम्रो पाइला कस्तो ठाउँमा राख्ने? कहाँ राख्दाखेरी बलियो हुन्छ? भन्ने कुराहरु सोच्ने बेला आएको छ। त्यसैले पालिका र वडा अधिवेशन यो सामान्य हो, केही पनि होइन र हतार हतारमा गरिहालौं, जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा म चाँही छैन।’
उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनु पर्ने आवश्यक्ता औंल्याएकी छन्। समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उनको तर्क थियो। उपाध्यक्ष शाक्यले बागमती प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिइन्।