काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बाढीपहिरो पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।
उपसभापति निधिले पछिल्लो तीन दिनदेखिको अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न ठाउँमा भएको मानवीय क्षतिसहित अन्नवाली नष्ट भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। यो विपत्को घडीमा तीनवटै सुरक्षा निकायलाई परिचालन गरी उद्धार र राहतको कार्यलाई शीघ्रातीशीघ्र अघि बढाउन संघीय, प्रदेश र स्थानीय तीनवटै सरकारको उनले ध्यानाकर्षण गराएका छन्।
हिउँद सुरु हुँदै गर्दा परेको बेमौसमी वर्षाबाट देशका अधिकांश जिल्ला प्रभावित भएका छन्। पहाडी क्षेत्रमा पहिरोमा परी धेरै सर्वसाधारणको मृत्यु भएको छ भने कयौं बेपत्ता भएका छन्। तराईका अधिकांश भूभाग डुबानमा परेका छन्।
उनले बाढीका कारण जोखिममा परेका व्यक्तिहरुलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।
बाढीपहिरोले खासगरी पश्चिम नेपालका धेरैजसो सडक अवरुद्ध हुनुका साथै भौतिक संरचना ध्वस्त बनेका छन्। उपसभापति निधिले यसैगरी विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन्। अवरुद्ध सडक, विद्युत् र सञ्चार सेवा तत्काल सञ्चालनको व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।