काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले संसद् सुचारु गराउन नेकपा एमालेसँग छलफलको लागि तयार रहेको बताएका छन्।
सभामुख सापकोटाले संसद् चलाउनका लागि संवादको विकल्प नभएकोले सरोकारवाला सबै पक्ष संवादमा आउनुपर्ने बताए। उनले संसदको गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको बताए।
सभामुख सापकोटाले आफूले सकेसम्म तटस्थ बसेर निर्णय लिएको बताउँदै सबैले आफूले गरेको कामको समिक्षा गरेर संवादमा आउनुपर्नेमा जोड दिए।
उनले भने, ‘दशैँको अवसरमा छौँ, यो अवसरले हामी सबैमा सकारात्मक सोचको विकास होस्, हामीले यस्तो बेलामा कामना गर्ने कुरा यो हो। सभामुखको जिम्मेवारी प्राप्त भइसकेपछि कहीँकतै मैले पनि बल त गरेको छु। तटस्थ, निष्पक्ष र स्वतन्त्र भूमिका खेल्नुपर्छ मैले। संविधान र खासगरी प्रतिनिधिसभाको नियमावलीमा टेकेरै आफ्ना कार्य सम्पादन गर्नुपर्छ। उहाँहरुले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ, हामी सबैले समीक्षा गरौँ र सकारात्मक सोचका साथ संवाद थालौं। जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प छैन, समन्वय, सहकार्य र समझदारी नै हो। १५ दिनको समय पनि छ, कार्तिक ९ गतेको बैठकसम्म सकारात्मक वातावरण बन्छ भन्नेमा म आशावादी छु।’
सभामुख सापकोटाले राजनीतिमा आग्रह, पूर्वाग्रह हुनु सामान्य भएको बताउँदै विजया दशमीले सकारात्मक सोचको विकास गराउने बताए। उनले संसद सुचारु रुपमा चलाउनका लागि नेकपा एमालेसँग संवाद गर्न आफू सकेसम्म पहल गर्ने बताउँदै संसद पुनस्र्थापना गर्न लागि परे जस्तै संसद सुचारु रुपमा चलाउन संसदहरुले पहल गर्नुपर्ने बताए।
सभामुख सापकोटाले संसदमा सभामुखले प्रभावकारी भूमिका नखेलेको भन्दै संचारमाध्यमहरुमा आएको कुरा सही नभएको बताए। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले एक किसिमले राष्ट्रका संवेदनशील विषयहरु अगाडि बढ्न आफूले नरोकेको सहजीकरण नै गरेको बताए। उनले सभामुखले नै सबै समस्या हल गर्नुपर्छ भनेर अन्य दलका नेताहरु उदासीन नभएको बताउँदै संसद सुचारु गर्नका लागि शान्तपूर्वक लागिपर्ने प्रतिवद्धता जनाए। उनले यसका लागि सरकार, गठबन्धन दल र सबै सांसदहरुले समिक्षा गर्नुपर्ने बताए।
संसद लोकतन्त्रको आत्मा हो त्यसैले सभामुख र सांसदहरुको भूमिका बढाउन आवश्यक रहेको बताउँदै सभामुख सापकोटाले प्रवचन र प्रशिक्षणको विषय मात्र बनाइएको बताए। उनले लोकतन्त्र संघीय संसदमा कमै मात्र प्रयोग भएको बताए।