शुक्रबार, भदौ ५, २०८३

सुजातालाई मन्त्री बनाउन देउवा समूहको कसरत

नेपाली कांग्रेसको संस्थापन इतर समूहमा रहेकी कोइरालालाई मन्त्री बनाउन पाए महाधिवेशनका लागि देउवालाई सहज हुने ती नेताहरूको बुझाइ छ।
 |  बिहीबार, असोज २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २८, २०७८

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा निकट नेताहरू नेत्री सुजाता कोइरालालाई मन्त्री बनाउने कसरतमा जुटेका छन्। नेपाली कांग्रेसको संस्थापन इतर समूहमा रहेकी कोइरालालाई मन्त्री बनाउन पाए महाधिवेशनका लागि देउवालाई सहज हुने ती नेताहरूको बुझाइ छ। 

सरकार गठनको तीन महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिएका देउवा क्याबिनेटमा एक मन्त्रालय खाली छ। उद्योगमन्त्रीमा नियुक्ति पाएको तीन दिनमै गजेन्द्र हमालले राजीनामा दिएपछि देउवा क्याबिनेटको एक मन्त्रालय खाली भएको हो। उक्त मन्त्रालयमा कांग्रेसबाट नै मन्त्री बन्नेछन्।

मन्त्री पद नपाएपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाप्रति असन्तुष्ट बनेकी सांसद सुजातालाई मन्त्री बनाउन देउवा निकटका नेताहरु लागिरहेका हुन्। देउवा निकटका नेताहरुले सुजातालाई मन्त्री बनाउनुपर्ने प्रस्ताव प्रधानमन्त्रीसँग राखिसकेका छन्।

‘उहाँ संस्थापन इतर समूहसँग पनि चिढिनुभएको छ। यस्तो अवस्थामा मन्त्री बनाउने हो भने सभापतिज्यूलाई सजिलो हुने देखिन्छ। त्यसैले सुजातालाई मन्त्री बनाउनुपर्ने पक्षमा लागेका छौं।’

प्रधानमन्त्री देउवाले  आफ्नो नाम पठाउन शशांक कोइरालालाई आग्रह गर्दा पनि नपठाएको सुजाताले एक टेलिभिजन अन्तर्वार्तामा बताएकी छन्। उनको अभिव्यक्तिलाई कतिपयले पौडेल समूहबाट अलग हुने चेतावनीका रूपमा लिएका छन्। देउवा निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँ संस्थापन इतर समूहसँग पनि चिढिनुभएको छ। यस्तो अवस्थामा मन्त्री बनाउने हो भने सभापतिज्यूलाई सजिलो हुने देखिन्छ। त्यसैले सुजातालाई मन्त्री बनाउनुपर्ने पक्षमा लागेका छौं।’

पौडेल समूह भने आफूलाई देउवाले कम मन्त्रालय दिएको भन्दै असन्तुष्ट छ। यस कारण उक्त मन्त्रालय आफूले पाउनुपर्ने भन्दै पौडेल समूहले देउवालाई दबाब दिइरहेको छ। पार्टी सभापतिमा दोहोरिने बताइसकेका देउवाले पार्टीभित्र धेरैलाई पद दिएर आफ्नो पक्षमा माहोल बनाउन गठबन्धनका दलहरुसँग धेरै मन्त्रालय मागेका थिए। त्यसकारण पौडेल समूहले उक्त मन्त्रालय पाउने सम्भावना कम छ। 

देउवाले भने महाधिवेशनमा प्रकाशमानलाई रिझाउने कसरत गरिरहेका छन्। यसअघि प्रकाशमान आफ्नोतर्फबाट राजन केसीलाई मन्त्री बनाउन चाहेका थिए। तर, केसी क्याबिनेटमा अटाएनन्। प्रकाशमान तयार नभएको अवस्थामा उक्त मन्त्रालय सुजाताले पाउनेछिन्। यसका लागि सुजाताले महाधिवेशनमा सघाउने  प्रतिबद्धता व्यक्त गर्नुपर्ने सर्त देउवा समूहका नेताहरुको छ।

महाधिवेशनमा कोइराला परिवारलाई विभाजन गर्न सके प्रत्यक्ष फाइदा हुने भएकाले आफूहरू उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिनुपर्ने कसरतमा लागेको प्रधानमन्त्री देउवानिकट ती नेताले बताए। ती नेताले भने, ‘हामी प्रधानमन्त्रीज्यूसँग सुजाता दिदीलाई मन्त्री बनाएर आफ्ना पक्षमा ल्याउनुपर्छ भनेर प्रयास गरिरहेका छौं। दिदीलाई ल्याउन सक्यौं भने महाधिवेशनमा राम्रै फाइदा हुन्छ।’

उपप्रधानसहितको मन्त्रीको आकांक्षी नेता कोइरालाले मन्त्री बने उपप्रधानमन्त्रीको वरीयता पाउने सम्भावना भने छैन। किनकि सत्ता गठबन्धनका दलबीच सरकारमा उपप्रधानमन्त्री पद नराख्ने सहमति भएको छ। उसो त सुजाता यसअघि उपप्रधानमन्त्री भइसकेकी व्यक्ति हुन्। 

संस्थापन समूहकै केही नेता भने हमालले पदत्याग गरेको मन्त्रालयमा देउवाका विश्वासपात्र उमेश श्रेष्ठलाई ल्याउनुपर्ने पक्षमा छन्। गत साउन १० गते स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका श्रेष्ठलाई भागबण्डाका क्रममा स्वास्थ्य मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि उक्त पदबाट हटाएर प्रधानमन्त्री कार्यालयभित्रैको जिम्मेवारी दिइएको छ। 

श्रेष्ठको भूमिकाबाट प्रसन्न प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी उनलाई दिनसक्ने सम्भावना रहेको देउवा निकटकै अर्का नेताले जानकारी दिएका छन्। मन्त्री भागबण्डादेखि पदको बाँडफाँटमा देउवाले महाधिवेशनलाई केन्द्रमा राखेका कारण आफूलाई बढी फाइदा हुने गरी रिक्त मन्त्रालयमा नियुक्ति गरिने देखिएको छ।

प्रधानान्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’मा गैरसांसद मन्त्री बनाएको भन्दै चर्को आलोचना हुनुका साथै कानुनी प्रश्नहरु उठेपछि हमालले राजीनामा दिएका थिए।

प्रकाशित: Oct 14, 2021| 11:54 बिहीबार, असोज २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...