काठमाडौं– रूपन्देही मोतीपुर क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच झडपपछि गोली चल्दा मृत्यु भएका चार जनामध्ये एक जनाको सनाखत भएको छ। अझै तीन जनाको सनाखत हुन सकेको छैन। गृह मन्त्रालयका अनुसार कपिलवस्तु वाणगंगा–१० का २० वर्षीय रमेश परियारको मात्रै सनाखत भएको हो। उनीहरुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो।
प्रहरीले चलाएको गोली लागेर थप चार जना घाइते छन्। उनीमध्ये कम्मरमा गोली लागेका २३ वर्षीय विजय सहनीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झडपमा परेर ३३ जना प्रहरी र गोली लागेका चार जनासहित १७ जना स्थानीयको लुम्बिनी प्रादेशिक अस्पताल र मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ। यसैबीच बुटलव उपमहानगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु, जारी छ।
जन्ती बोकेको जिप दुर्घटनामा चारको मृत्यु
अछाममा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। से१ च १७६३ नम्बरको बोलेरो जिप आइतबार राति पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा दुर्घटनामा परेको हो।
जिप दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिकाका–१८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षीय जीवन न्यौपाने र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनीहरुमध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। दुर्घटनामा परेर घाइते भएका १४ जनालाई थप उपचारका लागि राति नै नेपालगन्ज रेफर गरिएको छ।
संसद् बैठक २ बजे
संघीय संसद् अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
एमाले अवरोधका कारण संसद्लाई बिजनेस दिन नसकेको भन्दै सरकारले संसद्को जारी नवौं अधिवेशन स्थगित गर्ने तयारी गरेको छ। त्यसका लागि उसले केही विधेयकसमेत फिर्ता लिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठकमा निरन्तर अबरोध गर्र्दै आएको छ। माधव नेपालसहित १४ जना सांसद्लाई पदमुक्त नगरेको भन्दै एमालेका सांसदहरुले संसद्मै नाराबाजी गर्दै आएका छन्।
स्कन्दमाताको पूजाआराधना गरिँदै
नवरात्रको पाँचौं दिन दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौं दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैं पर्व मनाउँछन्। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।
मासुमा परनिर्भर कायमै
सरकारले पशुजन्य मासुमा मुलुक आत्मनिर्भर घोषणा गरे पनि दसैंका लागि खपत हुने मासुमा समेत मुलुक परनिर्भर रहने गरेको पाइएको छ। गत चैत दोस्रो साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक दूध र मासुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेका थिए। तर त्यसयता जिउँदो खसीसमेत भारतबाट आयात भइरहेको छ।
भन्सार विभागका अनुसार साउन र भदौमा मात्रै भारतबाट पौनै ११ करोड रुपैयाँ बढीको खसी आयात भएको छ। साउन र भदौमा गरी १२ हजार ४३ खसी–बोका भारतबाट आएका छन् । दसैंका लागि समेत भारतबाटै खसी बोका आइरहेका छन् ।
नेपाल पराजित
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ। आइतबार राति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो। मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे। कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए।
यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ। भारतले ३ खेलमा ५ अंक जोडेको छ। भारत तेस्रो स्थानमा उक्लिएको छ। भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ। अब बुधबार हुने बंगलादेशविरुद्धको खेलमा बराबरी वा जित निकालेमा नेपाल फाइनल पुग्नेछ।