काठमाडौं– सर्वोच्च अदालतले काठमाडौंको माइतीघरबाट पक्राउ परेकी नेपालगन्जकी रुबी खानलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको छ।
उनको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले खानलाई अदालतमा २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको हो।
न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोलीलाई माइतीघरमा शुक्रबार साँझ धर्ना बसिरहका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई बहुविवाहको मुद्दामा रातारात नेपालगन्ज पु¥याइएको छ। पक्राउपछि रुवीको अवस्था अज्ञात भएको भन्दै अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकी थिइन्।
निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार प्रहरी वृत्त लैनचौर काठमाडौंमाथि यस्तो आदेश जारी गरेको हो। बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् ।
हत्यारालाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता
गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन् ।
गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताएका हुन् । आईतबार सिंहदरवारमा पुगेर महिला अधिकारकर्मीहरुले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएका थिए। गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए।
गृहमन्त्री खाँणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भीर भएर लागिपरेको दाबी समेत गरे। महिला अधिकारकर्मीहरुले पीडिताको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । महिला सुरक्षा दबाब समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई दबाब दिनु परेको बताइन्।
महिला अधिकारकर्मीहरुले सो घटनाका पीडितको न्यायको खोजी गर्दै नेपालगंजबाट पैदल यात्रा गरी काठमाडौं आई शान्तिपूर्ण प्रदर्शन गरिरहेका महिला अधिकारकर्मीहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरेका छन्।
विवादास्पद काम नगर्न अध्यक्ष नेपालको निर्देशन
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई विवादित र बदनाम हुने काम नगर्न निर्देशन दिएका छन्।
मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर अधयक्ष नेपालले पदीय मर्यादा र गरिमाविपरीतका काम नगर्न निर्देशन दिएका हुन्। उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दूमा राखेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए। अध्यक्ष नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिबाट मुक्त हुन पनि सचेत गराए।
कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए।
अध्यक्ष नेपालले मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुनु नहुनेमा जोड दिए । कुनै पनि प्रकारका दूव्र्यसन र आचरणसँग जोडिने काम नगर्न उनले निर्देशन दिए। उनले गठबन्धनको भावना अनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध गरे। अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरुमाथि अगाडी नै सामुहिक रुपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताए।
'आगामी महाधिवेशनमा पनि ओली नै अध्यक्ष'
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा केपी ओलीलाई नै निरन्तरता दिने संकेत गरेका छन्। महासचिव पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको उल्लेख गर्दै एमालेले नेतृत्व गरेको त्यो ध्रुवलाई सुदृढ बनाउनुपर्ने भन्दै पार्टीको आगामी महाधिवेशनमा पनि केपी ओलीलाई नै पार्टीको अध्यक्ष बनाउने संकेत गरेका हुन्।
दसैं, तिहार, नेपाल संवत र छठको अवसर पारेर आइतबार सञ्चारकर्मीसँग आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन दलले नेतृत्व गरेको अर्को धु्रवलाई बलशाली हुन नदिन पनि एमाले नेतृत्वको सो पोललाई बलियो बनाउन जरुरी रहेको तर्कसमेत गरे।
विधानमा पनि २ पटक भन्दाबढि एउटै पदमा उठन नपाउने व्यवस्था गरेको र आफ्नो चाहना पनि तेस्रो पटक महासचिव बन्ने नरहेको उनको भनाइ थियो।
महासचिव पोखरेलले आफ्नो पार्टी छिटोभन्दा छिटो निर्वाचनमा जाने पक्षमा रहेको स्पष्ट पारे। उनले अदालतलाई राजनीति नगर्न समेत चेतावनी दिए। अदालत संविधान अनुरुप नहिँडेको दाबी गर्दै उनले आपत्तिसमेत जनाए ।
मन्त्री हमालद्वारा राजीनामा
नवनियुक्त उद्योग तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिएका छन्। सांसद नभए पनि प्रधानमन्त्री देउवाले पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा हमाललाई मन्त्री बनाएका थिए। आफ्नो नियुक्तिलाई लिएर विवादमा परेपछि हमालले राजीनामा दिएका हुन्। उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेको थियो।
सांसद नभए पनि ६ महिनाका लागि मन्त्री बनाउन पाउने व्यवस्थाअनुसार प्रधानमन्त्री देउवाले शुक्रबार हमाललाई मन्त्रीमा नियुक्त गरेका थिए। तर, ४८ घन्टा बित्न नपाउँदै उनले पदबाट राजीनामा दिएका छन्। हमालले पदबाट दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेका छन्।
लेखा समितिको अध्यक्षमा एमालेको दाबी
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ। सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद भरतकुमार शाह छन्। आइतबार सार्वजनिक लेखा समितिको बैठकको सुरुमै बोल्दै नेकपा एमालेका सांसदद्धय गोकुलप्रसाद बास्कोटा र राजेन्द्रप्रसाद गौतमले विश्वभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासअनुसार पनि सो समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताए।
पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले लोकतन्त्रको सुन्दर पक्षको कदर गरियोस् भन्दै समितिका सभापति भरत शाहको राजीनामा माग गरे।
एमालेका अर्का सांसद गौतमले सांसद बास्कोटाको भनाईप्रति ऐक्यवद्धता जनाउँदै संसदीय विधि, अभ्यास र परम्परालाई प्रभावकारी बनाउने हो भने पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दलले पाउनुपर्ने तर्क गरे।
सभापति शाहले भने यसबारे आफूले धेरै बोल्न नचाहेको प्रतिक्रिया दिए। उनले विगतमा सार्वजनिक लेखा समितिको सभापतिले राजीनामा दिएको आफूलाई थाहा नभएको जवाफसमेत दिए।
लुम्बिनीमा जम्बो मन्त्रिपरिषद्
लुम्बिनी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ। सरकार गठन भएको करिब दुई महिनापछि मुख्यमन्त्री कुल प्रसाद केसीले मन्त्रिपरिषद् विस्तार गर्दै १७ सदस्यीय बनाएका हुन्।
संघ र प्रदेशमा गठबन्धनका दलहरुबीच भागबन्डा मिलेपछि आइतबार सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्रीलाई शपथ गराएका हुन्। लुम्बिनीमा सत्तारुढ दल माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित ४ मन्त्री, २ राज्यन्त्री, नेपाली कांग्रेसबाट ४ मन्त्री, २ राज्यमन्त्री, जनता समाजवादीबाट ३ मन्त्री, नेकपा एकीकृत समाजवादीबाट १ मन्त्री र १ जना स्वतन्त्र सांसद मन्त्री बनेका छन्।
लुम्बिनीमा गत साउन २८ गते माओवादी केन्द्रका केसीको नेतृत्वमा नयाँ सरकार बनेको थियो। माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समूहका समेत सहभागी भएर सात सदस्यीय मन्त्रिमण्डल वृद्धि भई १७ सदस्यीय मन्त्रिमण्डल बनेको हो। लुम्बिनी ७ वटै प्रदेशमा जम्बो मन्त्रिमण्डल बनेको हो।
रुपन्देहीको मोतीपुर अशान्त
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ। आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ।
औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको छ। सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा झडप भएपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको हो।
झडपका क्रममा घाइते भएका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज केसीले जानकारी दिए। एसपी केसीका अनुसार मृत्यु हुनेको पूर्ण पहिचान भने खुलेको छैन।
सेयर कारोबारमा गिरावट
साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। गत मंगलबारबाट सुधार आएको सेयरबजार पुनः ओरालो लागेको हो।
आइतबार पुँजीबजार मापक परिसूचक (नेप्से) १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा ओर्लिएको छ। आज चार अर्ब ४९ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जानकारी दिएको छ।
आज कूल १८७ वटा कम्पनीका ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर जम्मा ५४ हजार १२३ पटक खरिद–बिक्री भएका थिए। कारोबार भएकामध्ये ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटाको नकारात्मक बनेको थियो भने एउटा कम्पनीको मूल्य यथावत् रहेको थियो।
क्रिकेटमा साढे १८ करोड रुपैयाँ पुरस्कार
यूएई र ओमानले संयुक्त रुपमा आयोजना गर्न लागेको आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको विजेताले साढे १८ करोड रुपैयाँ पुरस्कार पाउने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आइतबार विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो। यस्तै, उपविजेताले आठ लाख अमेरिकी डलर (करिब नौ करोड २० लाख रुपैयाँ)पाउने भएको छ। सेमिफाइनल पुग्ने टोलीले चार लाख अमेरिकी डलर पाउने छन्। टी–२० विश्वकप यूएई र ओमानमा अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म आयोजना हुँदै छ। विश्वकपमा १६ टिमको सहभागिता रहनेछ।
फुटबलमा नेपाल र भारत भिड्दै
दक्षिण एसियाको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपअन्तर्गत आज राति नेपालले इन्डियाको सामना गर्दैछ।
यो क्षेत्रकै फुटबल पावरहाउसका रूपमा रहेको टिम इन्डियासँग आज नेपालले जितको लक्ष्यका साथ खेल्न लागेको हो। आजको खेल जिते नेपाल फाइनलमा पुग्नेछ। यदि बारबरी खेले पनि नोपल ७ अंकाका साथ शीर्ष स्थानमा रहनेछ । नेपालले यसअघिका २ खेलमा लगातार जित निकाल्दै ६ अंक जोडेको छ भने भारत दुई खेल बराबरी खेलेर २ अंक जोडेको छ।