जनकपुरधाम- हिन्दु धर्मग्रन्थहरूमा पाँच वटा नवरात्रीको चर्चा रहेको पाइन्छ। शारदीय नवरात्री, चैत्र नवरात्री, माघ महिनामा मनाइने गुप्त नवरात्री, असार महिनाको गायत्री नवरात्री र पुस महिनाको शाकम्बरी नवरात्री।
असोज र चैत्र महिनाको नवरात्रीमा माता दुर्गाका ९ स्वरूपको विशेष पूजा अर्चना गर्ने गरिन्छ। त्यस्तै असार महिनाको नवरात्री त्यति प्रचलनमा नरहे पनि यसको विशेष महत्त्व रहेको छ। असार महिनाको गायत्री नवरात्रीमा दुर्गा, लक्ष्मी र सरस्वतीको विशेष पूजा आराधना गरिन्छ।
पुस महिनाको शाकम्बरी नवरात्रीमा काली, लक्ष्मी र सरस्वतीको विशेष पूजा आराधना गरिन्छ। असार महिनाको गुप्त नवरात्री प्रचलनमा नरहे पनि हिन्दु धर्मग्रन्थमा यसको उल्लेख रहेको पाइन्छ। यो गुप्त नवरात्रीको पूजा भगवान् रामको सेनामाथि विजय प्राप्त गर्नका लागि रावणको छोरा इन्द्रजीतले गरेको वाल्मीकि रामायणमा उल्लेख छ।
हिन्दु धर्मग्रन्थमा पाँच वटा नवरात्रीको चर्चा रहे पनि शारदीय नवरात्रीको विशेष महत्त्व रहेको छ। मिथिलाञ्चलमा नवरात्री अर्थात् दुर्गा पूजाको विशेष महत्त्व छ। मिथिलाञ्चलमा असोज शुक्ल प्रतिपदाका दिन घर, गाउँ तथा शक्ति पीठहरूमा घटस्थापना गरेर नवरात्री पूजाको आरम्भ हुन्छ।
बिहीबार मिथिलाञ्चलका शक्तिपीठहरू, गाउँ-गाउँमा मनाइने प्रतिमा पूजा, घर आदि स्थलमा घटस्थापना गरेसँगै दुर्गा पूजाको आरम्भ भएको छ।
नवरात्रीमा माता दुर्गाका नौ अवतारको पूजा गरी मनाइने परम्परा रहेको छ। नवरात्रीको पहिलो दिन जमरा काट्नका लागि माटोमा शुद्ध जौ छर्केर त्यसमाथि नदी अथवा तलाउबाट रातो कपडाले बेरिएको घैँटोमा जल भरेर राख्ने गरिन्छ। यस विधिलाई मिथिलाञ्चलमा कलस्थापना भनिन्छ। कलस्थापना अघि मिथिलाञ्चलमा कलश यात्रा निकाल्ने परम्परासमेत रहेको छ।
पूर्ण कलशको जलले देवी प्रतिमा र मन्दिर परिसर सिञ्चित गरेर सोही जलको कलश स्थापना गरेर घटस्थापना विधि सम्पन्न गरिन्छ। यो विधिसँगै मिथिलाञ्चलमा नवरात्री पर्वको आरम्भ हुन्छ। दुर्गा माताका विभिन्न स्वरूपहरूको पूजा अर्चना गर्नका लागि एक काठको फलियामा रातो कपडा बिछाएर त्यसमा चामलको गणेश, षोडशमातृका एवं नवग्रह बनाउनुपर्छ।
पूजा स्थलको ईशान कोणमा कलशको स्थापना गर्नुपर्छ। कलश तामा वा माटोकै हुनुपर्छ। कलश मुनी बालुवा एवं गाइको गोबरको मिश्रणमा जौ मिलाएर पानीले त्यसलाई सिञ्चित गर्नुपर्छ। यसो गर्नाले कलश मुनी अति सुन्दर जौ उम्रिन्छ। यसरी उम्रेको जमरा अथवा जयन्ती भन्ने गरिन्छ।
काठको फलियामाथि दुई जलपात्र राख्नुपर्छ। एक जलपात्रमा पाँच पात भएको आँपको पल्लव लगाएर माटो, चाँदी या काँसाको भाँडोमा घिउको दियो जलाउनुपर्छ। कलश मुनी तेलको ज्योति जलाउनुपर्छ। किनकि तेलको ज्योतिले पापको नाश हुन्छ र घिउको दीप जलाउनाले घरमा खुसी एवं आनन्द कायम रहन्छ भन्ने विश्वास रहेको छ। यी दुई वटै ज्योति अखण्ड रूपमा नवरात्री भर जली रहनुपर्छ।
असोज शुक्ल प्रतिपदाबाट सुरु हुने दुर्गा पूजा असोज शुक्ल दशमीका दिन विजय दशमी पर्व मनाउँदै दुर्गा पूजाको विधिवत् रूपमा समापन हुन्छ।
जसरी संसारको रचना ब्रह्माण्डको अन्धकारको गर्भबाट नौवटा ग्रहका रूपमा भयो, ठिक त्यसरी नै मानव जीवनको रचना पनि माताको गर्भमा नौ महिनाको अन्तरालमा हुन्छ। मनुष्य योनीको लागि गर्भका यी नौ महिना नवरात्री कै तरह हुन्छन्। नवरात्रीको अर्थ शिव र शक्तिका ती नौ दुर्गाहरूका रूपसँग सम्बन्धित छ, जसले संसारलाई प्रारम्भकाल देखि नै जीवन ऊर्जा प्रदान गरेका छन्। साथै संसार र प्रकृतिको बनावटमा स्त्री शक्ति तथा माताको शक्तिको प्रधानतालाई स्पष्ट गर्दछ।
दुर्गा पूजामा माता दूर्गाको नौ स्वरूपको पूजा गर्ने गरिन्छ। जसमा माता दूर्गाका नौ स्वरूपहरू शयलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री माताको पूजा गरिन्छ। सिद्धिदात्री माताको पूजासँगै नवरात्री विधिवत् रूपमा समाप्त हुन्छ।
मिथिलाञ्चलमा मनाइने नवरात्री पूजामा ‘बेलनोती’, ‘बेलतोड़ी’, ‘खोइछ भरी’, ‘कुमारी भोजन’ आदि विधिले अन्य स्थलमा मनाइने दुर्गा पूजाको परम्परासँग पृथक् र विशिष्ट बनाउँछ।
नवरात्रीको छैठौं दिन बेलनोती विधि गर्ने परम्परा रहेको छ। यस दिन माता कात्यायनीको पूजा गर्नुका साथै दुर्गा पूजा हुने स्थलमा बेललाई निमन्त्रणा दिने परम्परा रहेको छ। सो दिन बेलको रुखमा रहेको जुम्ल्याहा बेललाई पहिले वा रातो कपडामा बाँधेर विधि विधान पूर्वक निमन्त्रण दिने परम्परा रहेको छ। यो विधिलाई मिथिलाञ्चलमा ‘बेलनोती’ विधि भन्ने गरिन्छ। दसैंको सातौं दिन निमन्त्रण दिइएको बेललाई काटेर पूजा स्थलमा भित्र्याउने परम्परा रहेको छ। यो विधिलाई मिथिलाञ्चलमा ‘बेलतोड़ी’ विधि भन्ने गरिन्छ।
सोही दिन मिथिलाञ्चलका महिलाहरू शक्तिपीठ वा पूजा स्थलमा ‘खोइछ भरी’ विधि गर्ने परम्परासमेत रहेको छ। महिलाहरूले शक्तिपीठमा गएर दुबो, धान, बेसारको गिँड, सिन्दूर, सुपारी, पान र भेटीसहितको पोका देवी दुर्गाको पोल्टामा चढाउने गर्छन्। जसलाई मिथिलाञ्चलमा ‘खोइछ भरी’ विधि भनिन्छ।
मिथिलाञ्चलमा नवरात्रीको नौ दिनसम्म निराहार व्रत गर्ने परम्परासमेत रहेको छ। निराहार व्रत गर्नेहरूले दुर्गा पूजाको नवौ दिन कुमारी कन्यालाई पूजा गरेर भोजन गराउने परम्परा रहेको छ। जसलाई कुमारी भोजन भन्ने गरिन्छ। नवरात्रीको अन्तिम दिन आफूभन्दा श्रेष्ठजनबाट जयन्ती (जमरा) थापेर हातमा कवच बाँध्ने परम्परा समेत रहेको छ।