सोमबार, असार २९, २०८३

त्रिभुवन विमानस्थलमा तस्करीको 'बंकर'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- अहिले चर्चामा छ, साढे ३३ किलो सुन तस्करी प्रकरण । तस्करी प्रकरण सार्वजनिक गर्ने अनुसन्धान टोली नै जेल जाने गरी चर्चामा आएको उक्त प्रकरणको केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थियो । 

विमानस्थलबाट बाहिरिएको सुन समातिएको यो पहिलो घटना होइन । यसअघि चैत ०७१ मा तिलगंगाबाट प्रहरीले ३५ किलो सुन बरामद गरेको थियो । उक्त सुन भैरहवाका व्यापारी छविलाल भुसाल भएको आरोप लागेको थियो । तर, उनी पक्राउ परेनन्। 

सोही वर्ष कोटेश्वरबाट बरामद भयो, २७ किलो सुन । र, त्यसका मालिक थिए, मोहन अग्रवाल, जो साढे ३३ किलो सुन तस्करी प्रकरणका पनि मुख्य आरोपी हुन् । 

त्यतिबेला पक्राउ परेका अग्रवालले अदालतबाट सफाइ पाएका थिए । त्रिभुवन विमानस्थलबाट कति सुन भित्रियो भन्ने लेखाजोखा छैन । सुनबाहेकका सामान त दिनहुँजसो प्रहरीले बरामद गरिरहेको हुन्छ । 

कुख्यात सिरियल किलर चाल्र्स शोभराजले त्यसै भनेका होइनन्, नेपालको विमानस्थलबाट हात्ती पनि सजिलै छिराउन सकिन्छ भनेर । हाल नेपालमा जेल जीवन बिताइरहेका शोभराजको मुख्य धन्दा लागूऔषध ओसारपसार थियो । 

नेपालमा सुन तस्करीको लामो इतिहास छ । र, त्यसको केन्द्रमा सधैं त्रिभुवन विमानस्थल नै छ । लागूऔषध र नक्कली नोट ओसारपसारको केन्द्र पनि सोही विमानस्थल बन्दै आएको छ । 

मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र सुरक्षा व्यवस्था सधैं शंकाको घेरामा पर्दै आएको छ । डिसेम्बर १९९९ मा तत्कालीन इन्डियन एयरलाइन्सको विमान अपहरणको खराब रेकर्ड बनाइसकेको छ, त्रिभुवन विमानस्थलले । 

एक्सरे ५० मिटर टाढा

हरेक सरकारले तस्करी र भ्रष्टाचारलाई विकासको बाधक बताउँदै आएका छन् । तर, राजधानी काठमाडौंमै रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बनेको तस्करीको बाटो बन्द गर्ने कुरामा बेखबरझैं बन्दै आएका छन् । 

जानकारहरूका अनुसार यो विषय हरेक प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मलाई जानकारी छ । विमानस्थलको सुरक्षा कमान्ड गरिसकेका एक पूर्वप्रहरी अधिकारीका अनुसार तस्करहरूले सामान ओसारपसार गर्न सजिलो बाटो नै तयार गरेका छन् । 
 
विमानस्थल कर्मचारी र सुरक्षाकर्मी आउजाउ गर्ने ढोकालाई तस्करीको मेन लाइन बनाइएको जानकारहरूको दाबी छ ।

तस्करीकै लागि 'ब्यागेज एक्सर मेसिन' नै ५० मिटर पछाडि सारिएको छ । लामो समयदेखि कायम उक्त बेथिति हटाउन कसैले पहल गरेको देखिएको छैन । 

एक्सरे मेसिन सार्ने कुरामा विरोध जनाएका तत्कालीन प्रहरी अधिकारी महिनादिनमै सरुवा भएको जानकारहरू बताउँछन् । संसारभरका विमानस्थलहरूमा एक्सरे मेसिनबाट पास भएको ब्यागेज सीधै विमानमा पुर्‍याइन्छ । त्यस क्रममा विमानस्थलका कर्मचारीले हातसमेत लगाउन मिल्दैन । 

त्रिभुवन विमानस्थलमा भने एक्सरे मेसिनबाट पास भएको सामान पुनः जाँच गर्ने नाममा कर्मचारीले खोतल्छन् । त्यही कमजोरीमा खेलेर तस्करीमा संलग्नहरूले अवैध सामान ओसारपसार गर्छन् । 

तस्करीको सामान आवतजावत गराउन विमानस्थलले वितरण गर्ने प्रवेश पाससमेत दुरुपयोग हुँदै आएको जानकारहरू बताउँछन् । केही जानकारको दाबी त कतिसम्म छ भने विमानस्थलको पास एक घण्टा प्रयोग गर्न पाएवापत तस्करीमा संलग्न समूहहरूले ५० हजार रुपैयाँसम्म अतिरिक्त रकम 'अफर' गर्छन् । 

मेन लाइन अर्थात् तस्करीको बाटो

विमानस्थलको मेन लाइनलाई पछिल्लो समय तस्करीको मुख्य ढोका मानिँदै आएको छ । यही लाइन हो, जुन बेरोकटोक गैरकानूनी धन्दा सञ्चालनमा प्रयोग हुँदै आएको छ । 

जानकारहरूका अनुसार मेन लाइनमार्फत् सीधै विमान र बाहिर ट्याक्सी पार्किङसम्म बेरोकटोक सामान आवतजावत हुन्छ । विभिन्न समयका गृहमन्त्रीहरूले अवैध धन्दा गर्ने व्यापारीहरूलाई यही मेन लाइन प्रयोग गर्न दिँदै आएका छन् । 

र, गृहमन्त्रीहरूका 'सेटिङ'मा प्रयोग भएका थिए, विभिन्न समयका प्रहरी अधिकारीहरू । साढे ३३ किलो सुन तस्करीमा संलग्न तत्कालीन डीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री मात्र होइन, डलर काण्डमा परेर जागिर गुमाएका तत्कालीन एसएसपी रविराज श्रेष्ठ पनि त्यही 'सेटिङ'मा प्रयोग भएका थिए । 

विमानस्थलको मेन लाइन बन्द नभएसम्म गैरकानूनी धन्दा बन्द नहुने जानकारहरू बताउँछन् । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा प्रस्थान र आगमन मात्र नभई अन्य दुई ढोका पनि छन् । भीआईपीहरूको आउजाउ हुने ढोका सित्तिमिति अन्य व्यक्तिका लागि खुल्दैन । तर, कर्मचारी र सुरक्षाकर्मीका लागि व्यवस्था गरिएको ढोकाबाटै तस्करीको सेटिङ मिलाइने गरेको जानकारहरू बताउँछन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।