काठमाडौं- अहिले चर्चामा छ, साढे ३३ किलो सुन तस्करी प्रकरण । तस्करी प्रकरण सार्वजनिक गर्ने अनुसन्धान टोली नै जेल जाने गरी चर्चामा आएको उक्त प्रकरणको केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल थियो ।
विमानस्थलबाट बाहिरिएको सुन समातिएको यो पहिलो घटना होइन । यसअघि चैत ०७१ मा तिलगंगाबाट प्रहरीले ३५ किलो सुन बरामद गरेको थियो । उक्त सुन भैरहवाका व्यापारी छविलाल भुसाल भएको आरोप लागेको थियो । तर, उनी पक्राउ परेनन्।
सोही वर्ष कोटेश्वरबाट बरामद भयो, २७ किलो सुन । र, त्यसका मालिक थिए, मोहन अग्रवाल, जो साढे ३३ किलो सुन तस्करी प्रकरणका पनि मुख्य आरोपी हुन् ।
त्यतिबेला पक्राउ परेका अग्रवालले अदालतबाट सफाइ पाएका थिए । त्रिभुवन विमानस्थलबाट कति सुन भित्रियो भन्ने लेखाजोखा छैन । सुनबाहेकका सामान त दिनहुँजसो प्रहरीले बरामद गरिरहेको हुन्छ ।
कुख्यात सिरियल किलर चाल्र्स शोभराजले त्यसै भनेका होइनन्, नेपालको विमानस्थलबाट हात्ती पनि सजिलै छिराउन सकिन्छ भनेर । हाल नेपालमा जेल जीवन बिताइरहेका शोभराजको मुख्य धन्दा लागूऔषध ओसारपसार थियो ।
नेपालमा सुन तस्करीको लामो इतिहास छ । र, त्यसको केन्द्रमा सधैं त्रिभुवन विमानस्थल नै छ । लागूऔषध र नक्कली नोट ओसारपसारको केन्द्र पनि सोही विमानस्थल बन्दै आएको छ ।
मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र सुरक्षा व्यवस्था सधैं शंकाको घेरामा पर्दै आएको छ । डिसेम्बर १९९९ मा तत्कालीन इन्डियन एयरलाइन्सको विमान अपहरणको खराब रेकर्ड बनाइसकेको छ, त्रिभुवन विमानस्थलले ।
एक्सरे ५० मिटर टाढा
हरेक सरकारले तस्करी र भ्रष्टाचारलाई विकासको बाधक बताउँदै आएका छन् । तर, राजधानी काठमाडौंमै रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा बनेको तस्करीको बाटो बन्द गर्ने कुरामा बेखबरझैं बन्दै आएका छन् ।
जानकारहरूका अनुसार यो विषय हरेक प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मलाई जानकारी छ । विमानस्थलको सुरक्षा कमान्ड गरिसकेका एक पूर्वप्रहरी अधिकारीका अनुसार तस्करहरूले सामान ओसारपसार गर्न सजिलो बाटो नै तयार गरेका छन् ।
विमानस्थल कर्मचारी र सुरक्षाकर्मी आउजाउ गर्ने ढोकालाई तस्करीको मेन लाइन बनाइएको जानकारहरूको दाबी छ ।
तस्करीकै लागि 'ब्यागेज एक्सर मेसिन' नै ५० मिटर पछाडि सारिएको छ । लामो समयदेखि कायम उक्त बेथिति हटाउन कसैले पहल गरेको देखिएको छैन ।
एक्सरे मेसिन सार्ने कुरामा विरोध जनाएका तत्कालीन प्रहरी अधिकारी महिनादिनमै सरुवा भएको जानकारहरू बताउँछन् । संसारभरका विमानस्थलहरूमा एक्सरे मेसिनबाट पास भएको ब्यागेज सीधै विमानमा पुर्याइन्छ । त्यस क्रममा विमानस्थलका कर्मचारीले हातसमेत लगाउन मिल्दैन ।
त्रिभुवन विमानस्थलमा भने एक्सरे मेसिनबाट पास भएको सामान पुनः जाँच गर्ने नाममा कर्मचारीले खोतल्छन् । त्यही कमजोरीमा खेलेर तस्करीमा संलग्नहरूले अवैध सामान ओसारपसार गर्छन् ।
तस्करीको सामान आवतजावत गराउन विमानस्थलले वितरण गर्ने प्रवेश पाससमेत दुरुपयोग हुँदै आएको जानकारहरू बताउँछन् । केही जानकारको दाबी त कतिसम्म छ भने विमानस्थलको पास एक घण्टा प्रयोग गर्न पाएवापत तस्करीमा संलग्न समूहहरूले ५० हजार रुपैयाँसम्म अतिरिक्त रकम 'अफर' गर्छन् ।
मेन लाइन अर्थात् तस्करीको बाटो
विमानस्थलको मेन लाइनलाई पछिल्लो समय तस्करीको मुख्य ढोका मानिँदै आएको छ । यही लाइन हो, जुन बेरोकटोक गैरकानूनी धन्दा सञ्चालनमा प्रयोग हुँदै आएको छ ।
जानकारहरूका अनुसार मेन लाइनमार्फत् सीधै विमान र बाहिर ट्याक्सी पार्किङसम्म बेरोकटोक सामान आवतजावत हुन्छ । विभिन्न समयका गृहमन्त्रीहरूले अवैध धन्दा गर्ने व्यापारीहरूलाई यही मेन लाइन प्रयोग गर्न दिँदै आएका छन् ।
र, गृहमन्त्रीहरूका 'सेटिङ'मा प्रयोग भएका थिए, विभिन्न समयका प्रहरी अधिकारीहरू । साढे ३३ किलो सुन तस्करीमा संलग्न तत्कालीन डीआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री मात्र होइन, डलर काण्डमा परेर जागिर गुमाएका तत्कालीन एसएसपी रविराज श्रेष्ठ पनि त्यही 'सेटिङ'मा प्रयोग भएका थिए ।
विमानस्थलको मेन लाइन बन्द नभएसम्म गैरकानूनी धन्दा बन्द नहुने जानकारहरू बताउँछन् । विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा प्रस्थान र आगमन मात्र नभई अन्य दुई ढोका पनि छन् । भीआईपीहरूको आउजाउ हुने ढोका सित्तिमिति अन्य व्यक्तिका लागि खुल्दैन । तर, कर्मचारी र सुरक्षाकर्मीका लागि व्यवस्था गरिएको ढोकाबाटै तस्करीको सेटिङ मिलाइने गरेको जानकारहरू बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४