काठमाडौं– सत्ता गठबन्धनभित्रको किचलो नमिल्दा आज बिहीबार पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन।
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेपनि सत्ता गठबन्धनको बैठकले भोलिमात्रै मन्त्रिपरिषद्लाई पूर्णत दिने निर्णय गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले भोलि अपरान्हसम्म सबै दलले मन्त्री बन्नेहरुको नाम दिने र साँझ मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ।
माओवादी केन्द्रले मन्त्री बन्नेहरुको नाम टुंग्याए पनि कांग्रेस, नेकपा एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले मन्त्रीको नाम टुंगो लगाउन सकेका छैनन्। माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी मन्त्रालय भागबन्डामा असन्तुष्ट बनेको छ। चार मन्त्री र एक राज्यमन्त्री मात्रै पाएको भन्दै उसले असन्तुष्टि जनाएको थियो।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको आजको बैठकमा उसको असन्तुष्टिका विषयमा छलफल भएपनि कुनै निर्णय भने नभएको बालुवाटार स्रोतले जनाएको छ। भोलिसम्म उक्त असन्तुष्टि पनि हल गरेर मन्त्रीमण्डललाई पूर्णता दिने सत्ता गठबन्धनको तयारी छ।
गठबन्धनबीच भएको सहमति अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीले ४ मन्त्री र एक राज्यमन्त्री पाउने समझदारी भएको थियो। कसले कुन मन्त्रालय पाउने भन्ने विषयमा पनि सहमति भएको थियो। यसअघि मन्त्रालय भागबन्डाका विषयमा सहमति नभएकै कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।
नेपाल र ओलीबीच आरोप–प्रत्यारोप जारी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन्। आज बिहीवार पार्टी काठमाडौंको अर्पण बैंक्वेटमा नेकपा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका हुन्।
उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताए। नेकपा एमाले सबै हिसावले पतनको दिशामा गएको उनको भनाइ छ।
कार्यक्रममा नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा मा प्रवेश गर्नुभएको नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकाले पार्टी परिवर्तन गरेको बताए। उनले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत रहेको पाइएको भन्दै नेकपा एकीकृत समाजवादी प्रवेश गरेको बताए। नेता जोशीले एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रिय कमिटीबाट राजीनामा दिएको स्पष्ट पारे।
कांग्रेसले चाडपर्व चियापान नगर्ने
नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने भएको छ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएका हुन्। विज्ञप्तिमा पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि अपिल गरिएको छ। विज्ञप्तिमा सरकारले खोपको प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने उल्लेख छ।
विज्ञप्तिमा उल्लेख छ, ‘खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो।’ कांग्रेसले दसैं, तिहार, नेपाल संवत् र छठ पर्वको शुभकामना व्यक्त गरेको छ।
सुरु भयो दसैं
आज घटस्थापना। वैदिक सत्य सनातन हिन्दूहरुको महान पर्व बडा दशैँको पहिलो दिनको रुपमा घटस्थापनालाई लिइन्छ।
आज देशैभर हिन्दूधर्मावलम्बीहरुले आ आफ्नो घरमा जमरा राखेर दशैँको शुरुवात गर्दछन्। आजबाट हरेक दिन दुर्गा भवानीको पूजाआराधना गरी दुर्गा सप्तशती चण्डी तथा देवी भागवत पाठ गरेर नवदुर्गाको आराधना गरिन्छ। काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत घटस्थापनाको शुभ साइत आज बिहान (११ः४६) मा जमरा राखेर घटस्थापन गरिएको छ।
घटस्थापन गर्दा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बाढाइँ गरेको छ। हनुमान ढोकाका पुजारी सुदिप लामिछानेले हनुमान ढोकास्थित दशैँघरमा आज विधिवत् रुपमा जमरा राखेको बताए। उनले जौ, विधिको लागि मकै र गहुँ मिसाएर बालुवा र चोखो माटोमा जमरा राखिएको बताए।
आज नवरात्रीको पहिलो दिन भएकोले शैलपुत्रीको पूजा आराधना गरेर नवरात्रीको शुरुवात गरिएको छ। हरेक वर्ष घटस्थापनाको दिन दशैँ घरमा जमरा राख्ने गरिन्छ। आज राखिएको जमरा विजया दशमीको टिकासँगै ग्रहण गरिन्छ। यसवर्ष १० बजेर २ मिनेटमा टिकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णयक समितिले जनाएको छ। दशैलाई असत्यमाथि सत्यको जीतका रुपमा लिइने गरिन्छ।
थपिए ८०५ संक्रमित
पछिल्लो २४ घण्टामा देशभर ८०५ जना कोरोना संक्रमित थपिएका छन्।
१० हजार ६७२ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आजको दिनमा सक्रिय संक्रमितको संख्या १५ हजार ९४२ छ।
सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् भने ५७ हजार १५८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।
चितवन र पोखरा ईपीएलको फाइनलमा
पोखरा राइनोज बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाईनलमा प्रवेश गरेको छ।
आज बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलो पटक ईपीएलको फाईनल पुगेको हो। भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाएको थियो। दोस्रो र तेस्रो संस्करणको उपविजेता भैरहवा भने प्रतियोगितबाट बाहिरिएको छ। पोखराले अब उपाधिका लागि शनिबार चितवन टाईगर्ससंग खेल्नेछ। पहिलो क्वालिफायरमा पोखरालाई नै हराएर चितवन फाईनल पुगिसकेको छ।