मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • बिहानी समाचार : बडादसैं सुरु, अब सवारीलाई रुटको नियम नलाग्ने, खुल्यो डीभी फाराम

बिहानी समाचार : बडादसैं सुरु, अब सवारीलाई रुटको नियम नलाग्ने, खुल्यो डीभी फाराम

आजदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्नेछन्।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- नेपालीको महान् पर्व बडादसैं आजदेखि सुरु भएको छ।  बडादसैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। आज घटस्थापनाको साइत बिहान ११ः४६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैंघरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आजको दिन राखेको जमरा विजयादशमीको दिन टीका प्रसादसँगै ग्रहण गरिन्छ। यस्तै परम्पराअनुसार आज काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिअनुसार जमरा राखिन्छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडादसैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ। 

सार्वजनिक गाडीको रुट परमिट हटाइयो

आजदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने  भएका छन्। दसैंमा आवतजावत सहज बनाउन आजदेखि रुट पर्मिट हटाइएको हो। आजदेखि कोजाग्रत  पूर्णिमासम्म सार्वजनिक गाडी जुनसुकै ठाउँमा जान सक्नेछन्। यस्तै, सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा ठूला गाडी सञ्चालनमा रोक लगाएको छ। यातायात व्यवस्था विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरूको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन। यो सडकखण्डमा धेरै गाडी ओहोरदोहोर हुने भएकाले ठूला गाडीलाई प्रवेशमा रोक लगाइएको हो।   

गाडी भाडा २३ प्रतिशत वृद्धि

बाग्मती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा २३ प्रतिशत भाडा बढाएको छ।  प्रदेश सरकाले आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशत भाडा बढाएको यतायातायात व्यवस्था सेवा कार्यालय बागमती प्रदेशले जनाएको छ। जसअनुसार अब काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा लाग्नेछ । यो भाडादर ५ किलोमिटरसम्म लागू हुनेछ। १० किमिसम्म २३ रुपैयाँ, १५ किमिसम्म २७ रुपैयाँ, २० किमिसम्म ३० रुपैयाँ र २० किमिभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्नेछ। 

कोजाग्रत पूर्णिमासम्म अदालत बन्द

आजदेखि कोजाग्रत पूर्णिमासम्म देशभरका सबै अदालत बन्द भएका छन्।  सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले गरेको निर्णयअनुसार आज घटस्थापनादेखि कात्तिक ३ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो। बिदा अवधीमा पनि बन्दी प्रत्यक्षीकरण लगायतका रिट निवेदनमाथि भने सुनुवाइ हुने भएको छ। अदालत आजबाट बिदा भए पनि अन्य सरकारी कार्यालय भने फूलपातीबाट मात्रै बिदा हुनेछ। सरकारी कार्यालय टीकाको पर्सिपल्टबाट खुल्नेछन्। 

कांग्रेस सहमहामन्त्री नेतृत्वको टोली भारत जाँदै

सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल आज भारत भ्रमणमा जाने भएको छ। 

सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो। भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौथाइवालेको नियन्त्रणमा जाने लागेको सो प्रतिनिधिमण्डलमा कांग्रेस नेताहरु उदयशमशेर जबरा र अजय चौरसिया छन्। भारत भ्रमणका क्रममा नेताहरूले भारतीय जनता पार्टी र सरकारका पनि उच्च पदस्थ अधिकारीहरुसँग भेट गर्ने कार्यतालिका छ।

मुगु कांग्रेस सभापतिमा ऐनबहादुर शाही निर्वाचित

नेपाली कांग्रेस मुगु जिल्ला सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्।  निवर्तमान सभापति खड्गबहादुर शाहीलाई ५६ मतले पराजित गर्दै शाही सभापतिमा विजयी भएका हुन्। विजयी ऐनबहादुर शाही सभापति देउवा निकट मान्छिन् भने पराजित खड्गबहादुर शाही वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन्।  ऐनले ४ सय ६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्गले ३ सय ५० मत मात्रै पाए। योसँगै अधिवेशन भएका ११ हिमाली जिल्लाको नतिजा सार्वजनिक भएको छ। ११ मध्ये ५ जिल्लामा सभापति देउवा पक्ष विजयी भएको छ भने ६ जिल्लामा पौडेल पक्षले जित हासिल गरेको छ। 

खुल्यो ईडीभी

अमेरिकाले सन् २०२३ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) चिट्ठा खोलेको छ।  

बुधबार रातिबाट खोलिएको ईडिभी चिट्ठा नोभेम्बर ९ सम्म भर्न सकिने अमेरिकी विदेश विभाग कन्सुलर मामिला ब्युरोले जनाएको छ। ईडिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली कागजात राखेर भर्न सकिने छ। डाइभर्सिटी भिसा (डीभी) भर्दा आफ्नो नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरण बुझाउनु पर्नेछ । सन् २०२३ सालका डीभी विजेताहरूले सोही सालको सेप्टेम्बर ३० तारिखसम्ममा भिसा प्राप्त गर्न सक्नेछन् भने सन् २०२२ को मे महिनामा नतिजा आउनेछ।

पाकिस्तानमा भूकम्प जाँदा २० जनाको ज्यान गयो

पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको ज्यान गएको छ। 

बिहान ३ः३० बजे गएको ६.० म्यानिच्युटको भूकप्पमा परी २० जनाले ज्यान गुमाएका हुन्। भूकम्पले पाकिस्तानमा ठूलो क्षति पु¥याएको बीबीसीले जनाएको छ। विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। प्रान्तीय सरकारका एक वरिष्ठ अधिकारी सुहैल अनवर हासमीले कयौं घरको छाना र भित्ता खसेर मानिसको ज्यान गएको बताएका छन्। 


प्रकाशित: Oct 07, 2021| 11:02 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।