३३ किलो सुन तस्करी प्रकरण : गोरेसहित ६ जनालाई जन्मकैद
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चूडामणि उप्रेती ‘गोरे’सहित ६ जनालाई जन्मकैदको सजाय तोकिएको छ। जिल्ला अदालत मोरङले आज (मंगलबार) गोरेसहित मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई जन्म कैदको फैसला गरेको हो। त्यसैगरी जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई भने ६ महिना कैद सजाय तोकेको छ।
जिल्ला अदालत मोरङले आठ जनालाई दोषी ठहर गर्दा ४८ जनालाई सफाइ दिएको छ। नेपाल प्रहरीका पूर्वडिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, डिएसपीहरू सञ्जयबहादुर राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेललगायतले सफाइ पाएका छन्।
२०७४ साल माघमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको साढे ३३ किलो तस्करीको सुन हराएको थियो। त्यसपछि तस्करहरुको खोजी भइरहेका बेला सुन तस्करीमा भरिया तथा तस्करीको आरोप लागेका गोरे भनिने चुडामणि उप्रेतीका अकाउण्टेन्ट मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि बाहिरिएको भिडियोले सुनको ठूलो जालो सार्वजनिक भएको थियो।
मन्त्रालय भागबन्डाको सहमति
मन्त्रालय भागबन्डाका विषयमा सत्तारुढ दलहरुबीच सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धको बैठकमा कसले कुन मन्त्रालय पाउने भन्ने विषयमा मोटामोटी सहमति भएको हो।
सहमति अनुसार कांग्रेसले अब सञ्चार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक लिने भएको छ। कांग्रेसले यसअघि परराष्ट्र, गृह र कानुन मन्त्रालयमा मन्त्री पठाइसकेको छ।
यस्तै नेकपा माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने मोटामोटी सहमति छ। उसले यसअघि अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ। त्यस्तै माधव कुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले रक्षा, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति छ।
यस्तै सहमति अनुसार जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ। मन्त्रालय भागबन्डा टुंगिएसगै प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले करिब ३ महिना पुग्नै लाग्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ। हाल देउवा सरकारमा १६ मन्त्रालय नेतृत्वबिहिन छन्।
प्रधानन्यायाधीशले मन्त्री मागेको समाचारमा सत्यता छैन : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले भाग मागेको समाचारमा कुनै सत्यता नभएको स्पष्टीकरण दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनको बैठकमा देउवाले प्रधानन्यायाधीशले आफूसँग कुनै भाग नमागेको बताएका हुन्। बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधान्यायाधीशसँग संवाद नभएको भन्दै स्वतन्त्र न्यायालयलाई लाञ्छना लगाउन स्वार्थ समूहले चलखेल गरेको हुनसक्ने दाबी गरेका थिए। मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश वा अरु कसैको संलग्नताको आशंका गर्नु बेका कुरा हो। प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।
मन्त्री कार्कीले न्यायालयको गरिमा बिगार्ने उद्देश्यले सुनियोजित प्रचार गरिएको भन्दै शक्ति पृथकीकरणको सिद्धान्त अनुसार नै मुलुक अगाडि बढिरहेको बताए। मन्त्री कार्कीले केही राजनीतिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि अब तत्काल मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरे।
मंगलबार पनि संसद् बैठक अवरोध
प्रतिनिधिसभाको आज मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ। एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सुचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ।
मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो। एमाले सांसदहरुको विरोधका विच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६÷७७ प्रतिनिधिसभामा पेश गरे।
एमाले सांसदहरुले कालो धन चाहिदैन, देश लुट्न पाइदैन, संसदीय सर्वोच्चता कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, यथास्थितिमा संसद चल्दैन, गैरसांसदलाई प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर लगायतका नारा लगाएका थिए। प्रतिनिधिसभाको आगामी बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
उता नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले संसदमा विभिन्न विषय उठाएर नाराबाजी गरेपनि त्यसको जवाफ सुन्न नचाहेको बताएका छन्।
मंगलवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले नारामा विभिन्न विषयको उठान गरेको भएपनि त्यसको जवाफ सुन्न तयार नभएको बताएका हुन्। सभामुखले संसदीय परम्परा, मूल्यमान्यता र प्रतिनिधि सभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरु सुन्न तयार नभएको उनले बताए। संसदमा उठेका कालो धन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने उनको भनाइ छ।
नेता बडुले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनले पार्टीलाई अझ सक्रिय र अनुशासित रुपमा अगाडी बढाउन आम धारणा बनेको बताए।
सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कडेलले प्रतिपक्षले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधिन मुद्धा भएकाले संसदमा त्यसलाई विषय बनाउन नसकिने बताए। सांसद कँडेलले संसदलाई अनिर्णयको बन्दी बनाउँदा मुलुकको हित नहुने बताए। प्रतिपक्ष दलले छलफलको माध्यमबाट निकास दिनुपर्ने उनको भनाइ छ।
कपिलवस्तुमा झाडापखालाको प्रकोप!
कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप फैलिएको छ। झाडापखलाका कारण दुई जनाको मृत्यु भएको छ भने दुई सय भन्दा बढी बिरामी छन्। कृष्णनगर नगरपालिकाको वडा न. ७, ८ र ९ नम्बर वडामा झाडापखलाका बिरामीहरु बढ्दै गएपछि अस्पतालहरु भरिएका छन्। कृष्णनगर वडा न. ९ का पाँच वर्षीय राज काश्यप र कृष्णनगर ८ का ४० वर्षीय राप्रसाद केवट (बब्लु) को स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
स्थानीय अस्पतालले बिरामी थेग्न नसकेपछि सोमबार रातिदेखि शिवराज अस्पतालमा बिरामी आउन थालेका हुन्। बिहानदेखि बिरामीको चाप बढ्दै गएपछि अहिले अस्पतालको शय्या भरिएर बाहिर टेन्ट टाँगेर उपचार सुरु गरिएको अस्पतालका सूचना अधिकारी रवि प्रकाश उपाध्यायले जानकारी दिए।
९६८ संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १६ हजार ४२ जनाको नमूना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको हो।
बितेको २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा एक हजार ११४ जना संक्रमित कोरोनामुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रितको संख्या १६ हजार २ सय ४८ छ।
चाडलक्षित अनुगमन
सरकारले चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता दिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार चाडपर्वलाई लक्षित गरी काठमाडौंको न्यूरोड र मख्खनगल्लीमा अनुगमन गरेको हो।
बजार अनुगमनपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत अमितकुमार झाले न्यूरोड र मख्खनगल्लीमा ७ वटा भन्दा धेरै पसलहरुमा अनुगमन गरेको बताए। उनले पसलहरुले बिक्री गरिरहेका लताकपडा तथा खाद्य सामग्रीहरुको अनुगमन गरेको बताए। अनुगमनमा मुख्य समस्याहरु खरिदबिक्री बिलको रहेको बताए। उनले तीन जनालाई तत्काल जरिबाना गरेको र अन्य तीन जनालाई विभागमा बोलाएको बताए।
निरीक्षण अधिकृत झाले अहिले निरन्तर रुपमा चाडपर्वलाई लक्षित गरेर अनुगमन तीव्र बनाइएको बताए।
चाडपर्वकै अर्को प्रसंगमा सुदूरपश्चिम प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ। चाडपर्वको बेला अन्य समयभन्दा बढी भीडभाड हुने गरेकाले विभिन्न अपराधिक क्रियाकलाप हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो।
सम्भावित अपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले हरेक वर्ष चाडपर्व लक्षित सुरक्षा योजना लागू गर्दै आएको छ। सुरक्षा योजना बलियो बनाउन प्रदेशभर ३ हजार ८ सय ४७ जना प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रमकुमार चन्दले बताए। उनले सीमा नाकामा पनि भारतबाट आउने नेपालीहरुले सहज रुपमा स्वदेश आउन व्यवस्था गरिएको बताउँदै चोरी, तस्करी नियन्त्रणका लागि प्रदेशका सीमा नजिकका ३९ ठाउँमा प्रहरी खटाइएको जानकारी दिए।
त्यस्तै जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर विशेष सुरक्षा योजना बनाएको बताए। कोरोनाको जोखिम कायमै रहेकोले सर्वसाधारणमा पनि सचेत भएर दशैँ मनाउन र दशैँको लागि किनमेल गर्न प्रहरीले आग्रह गरेको एसएसपी अधिकारीले बताए।
तीन वैज्ञानिकलाई भौतिकशास्त्रको नोबल पुरस्कार
यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। नोबेल पुरस्कार कमिटीले आज मंगलबार स्युकुरो मानाबे, क्लाउस ह्यासलम्यान र जिओर्जिओ पारिसीलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो।
स्युकुरो मानाबे र क्लाउस ह्यासलम्यानलाई जलवायु विज्ञानको फिजिकल मोडेलिङका लागि आधा रकम दिइनेछ भने अर्का वैज्ञानिक जिओर्जिओ पारिसीलाई ग्रह तथा अणुहरुसम्मको डिस्अर्डर र फ्ल्क्चुएसनबीचको सम्बन्धबारेको खोजका लागि आधा रकम दिइने भएको छ। यसअघि सोमबार दुई वैज्ञानिकलाई तापसम्बन्धी खोजका लागि चिकित्साशास्त्रतर्फको नोबेल दिने घोषणा नोबेल पुरस्कार कमिटीले गरेको थियो।
काठमाडौं किंग्स ईपीएलको प्ले अफमा
ललितपुर प्याट्रिओट्सलाई एक अंकले पछि पार्दै चौथो स्थानमा उक्लिएर काठमाडौं किंग्स–११ एभरेस्ट प्रिमियर लिग (ईपीएल) को प्ले अफमा पुगेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदान मंगलबार दिउँदो खेल गराउन लायक नरहेपछि खेल स्थगित गर्दै काठमाडौं र भैरहवाले समान १–१ अंक बाँडेका छन्। अंक बाँडेपछि दुवै टिमलाई फाइदा भएको छ। काठमाडौंलाई प्ले अफमा पुग्न १ अंक चाहिएको थियो भने भैहरवालाई पनि क्वालिफायरमा पुग्न १ अंक चाहिएको थियो।
अंक बाँडेसँगै ६ अंक बाट ७ अंक बनाएको भैरहवा ग्लाडिएटर्सलाई पनि फाइदा भएको हो। उसले समान ७ अंक भएको पोखरा राइनोजलाई नेटरन रेटमा पछि पार्दै क्वालिफायरमा पुगेको छ। अब क्वालिफायरको खेलमा भोलि दिउँसो भैरहवा र शीर्षस्थानको चितवन राइनोज भिड्नेछन्। त्यो खेलको विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछ।