शुक्रबार, भदौ ५, २०८३

मन्त्रालय भागबन्डामा जुट्यो सहमति

मन्त्रालय भागबन्डाका विषयमा सत्तारुढ दलहरुबीच सहमति भएको छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं– मन्त्रालय भागबन्डाका विषयमा सत्तारुढ दलहरुबीच सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) बसेको सत्ता गठबन्धको बैठकमा कसले कुन मन्त्रालय पाउने भन्ने विषयमा मोटामोटी सहमति भएको हो। 

सहमति अनुसार कांग्रेसले सञ्चार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बालबालिका तथा जेष्ठ नागरिक लिने भएको छ। कांग्रेसले यसअघि परराष्ट्र, गृह र कानुन मन्त्रालयमा मन्त्री पठाइसकेको छ।  

यस्तै, नेकपा माओवादी केन्द्रले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपन्छी मन्त्रालय लिने मोटामोटी सहमति छ। उसले यसअघि अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ। 

त्यस्तै, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले रक्षा, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति छ। 

यस्तै, सहमतिअनुसार जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै वा भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको बालुवाटार स्रोतले जनाएको छ। मन्त्रालय भागबन्डामा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार अलमलमा पर्दै आएको छ।

त्यसअघि राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको थियो। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले करिब ३ महिना पुग्नै लाग्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ। हाल देउवा सरकारमा ५ जना मन्त्री र एक राज्यमन्त्रीमात्रै छन्। १६ वटा मन्त्रालय नेतृत्वविहीन छन्।

प्रकाशित: Oct 05, 2021| 14:52 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...