काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भाग मागेको समाचारमा कुनै सत्यता नभएको प्रष्ट पारेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज (मंगलबार) बसेको सत्ता गठबन्धनको बैठकमा देउवाले प्रधानन्यायाधीशले आफूसँग कुनै भाग नमागेको बताएका हुन्।
बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको विषयमा प्रधान्यायाधीशसँग कुनै संवाद नभएको भन्दै स्वतन्त्र न्यायालयलाई लाञ्छना लगाउन स्वार्थ समूहले चलखेल गरेको हुनसक्ने दाबी गरेका थिए। ‘मन्त्रिपरिषद् विस्तारको संवैधानिक दायित्व प्रधानमन्त्रीको हो। यसबारे सत्तारुढ दलभित्र आवश्यक छलफल भएकै छ। यसमा प्रधानन्यायाधीश वा अरु कसैको संलग्नताको आशंका गर्नु बेकारको कुरा हो,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।
उनले न्यायालयको गरिमा बिगार्ने उद्देश्यले सुनियोजित प्रचार गरिएको भन्दै शक्ति पृथकीकरणको सिद्धान्त अनुसार नै मुलुक अगाडि बढिरहेको बताए। मन्त्री कार्कीले केही राजनीतिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको भए पनि अब तत्काल मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरे।
आजको बैठकमा मन्त्रालय भागबन्डाको विषयमा कुरा मिलेको बालुवाटार स्रोतको दाबी छ। स्रोतका अनुसार भोलि बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ।
गठबन्धनमा नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ७, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ५–५ मन्त्रालय पाउने गरी सहमति यसअघि नै भइसकेको थियो। तर, मन्त्रालयमा भागबन्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार अन्योलमा परेको थियो।
सरकारका गठन भएको करिब ३ महिना हुँदासमेत अझै मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। एक राज्यमन्त्रीसहित ५ जनामन्त्री मात्रै देउवा नेतृत्वको सरकारमा नियुक्त भएका छन्। अझै १६ मन्त्रालय नेतृत्वविहीन छन्।