बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशन राप्रपाको निमित्त पुनर्जागरण भएको बताउँदै महाधिवेशन लगत्तै पार्टी आन्दोलनमा होमिने बताएका छन्।
पूर्वाञ्चल क्षेत्रको भ्रमणका क्रममा सोमबार बिर्तामोड आइपुगेका थापाले नेपाली काङ्ग्रेस र कम्युनिस्ट पार्टीको असफलता, अदूरदर्शिता र अकर्मण्यताको कारण मुलुक संकटग्रस्त भएको बताउँदै भ्रस्टाचारले देशलाई थला पारेको बताए।
धर्म परिवर्तन, बेरोजगारी समस्या समाधान नगरे मुलुक थप बर्बादीतर्फ धकेलिने थापाको टिप्पणी थियो। केन्द्रमा पार्टी एकतापछि तल्लो तहसम्म एकताको सन्देश पुर्याउन नसकिएको भन्दै थापाले अब नयाँ उत्साह र उर्जा दिनको निमित्त सक्रियता र गतिशीलता जरुरी भएको बिचार ब्यक्त गरे।
पार्टी संचालनका क्रममा केही त्रुटि र कमजोरी भएको स्विकार्दै थापाले आगामी दिनमा बिगतका कमजोरी नदोहोर्याउने प्रतिबद्धता ब्यक्त गरे। मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने आफ्नो योजनालाई सबैको साथ सहयोग लिएर पूरा गराई छाड्ने दृढता समेत थापाले ब्यक्त गरे।
सो अवसरमा पार्टीका नेताहरु राजेन्द्र लिङ्देन, राम थापा लगायतको उपस्थिति थियो भने जिल्ला अध्यक्ष केशब ओझाले जिल्लाको सांगठानिक अबस्थाबारे जानकारी गराएका थिए।