काठमाडौं– नेपाली कांग्रेसको जिल्ला अधिवेशनको मतपरिणाम आउने क्रम जारी रहँदा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अग्रता लिएको छ। हालसम्म १० जिल्लाको मत परिणाम सार्वजनिक हुँदा ६ जिल्लामा पौडेल पक्ष र ४ जिल्लामा शेरबहादुर देउवा पक्षले नेतृत्व हात पारेको हो।
सभापति देउवा पक्षले मनाङ, हुम्ला, ताप्लेजुङ र रामेछापमा जिल्ला सभापतिमा जित हासिल गरेको छ। यस्तै मुस्ताङ, कालिकोट, रुकुमपूर्व, संखुवासभा, गोर्खा र दोलखामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारी विजयी भएका छन्। कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत शनिबार ११ वटा हिमाली जिल्लामा अधिवेशन भएको थियो।
प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने एमाले अडान
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरुद्ध गर्दै आएको प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेन पेश गर्ने कार्यसूची छ। बैठक आज पनि अवरुद्ध गर्ने एमालेले जनाएको छ।
पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसद्लाई पदमुक्त नगरेसम्म संसद् चल्न नदिने एमालेको अडान छ । सभामुख अग्निप्रसाद सापकोटाले पार्टीले गरेको कारबाहीलाई अल्झाएर एमाले फुटाउन भूमिका खेलेको भन्दै एमालेले उनको राजीनामासमेत मागेको छ।
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा कुर्सी हानाहान
नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीको जारी २२ औँ राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनका विषयमा विवाद हुँदा कुर्सी हानाहान भएको छ।
काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा सोमबार साँझ नाराबाजी र कुर्सी हानाहान भएको हो। विधानविपरीत सदस्य संख्या थप्न खोजेपछि विवाद भएको थियो। विधानमा २५ पदाधिकारीसहित १९९ सदस्यीय कार्यसमितिको व्यवस्था भए पनि सबै आकांक्षीलाई अटाउन भन्दै पार्टीले ५५ जना पदाधिकारीसहित ३९९ जनाको समिति बनाउने निर्णय सुनाएपछि विवाद भएको निवर्तमान अध्यक्ष रञ्जित तामाङले जानकारी दिए। कुर्सी प्रहारबाट आफूसहित करिब एक दर्जन विद्यार्थी नेता घाइते भएको उनले बताए।
प्रदेशमा अनुगमन गर्न गृहको टोली
गृह मन्त्रालयले प्रदेशगत अनुगमन टोली गठन गरेको छ। मन्त्रालयले चाडपर्वका समयमा हुने बजार अनुगमन प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा टोली गठन गरेको हो।
मन्त्रालयले चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाइ सुरक्षा, आपूर्ति, बजार र यातायातलगायत सेवालाई सुलभ तथा गुणस्तरीय बनाउन सातै प्रदेशमा अनुगमन टोली गठन गरेको छ। चाडपर्व नजिकिँदै गएका सन्दर्भमा सुरक्षा, यातायात, आपूर्ति तथा बजार व्यवस्थापनलगायत सेवालाई सुलभ, गुणस्तरीय प्रभावकारी बनउन सम्बन्धित निकायहरुबाट देशभर अनुगमन भइरहेको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए।
मनसुनी वर्षा कायमै
देशका विभिन्न भूभागमा आज पनि हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहे पनि अन्य प्रदेशमा भने आंशिक बदली रहनेछ।
त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
६ घण्टापछि खुल्यो फेसबुक
विश्वव्यापी रूपमा नै ‘डाउन’ भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको समस्या करिब ६ घण्टापछि सुल्झिएको छ। फेसबुक लगायतका यी तीनवटै सामाजिक सञ्जालमा समस्या आउँदा विश्वका अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्नबाट वञ्चित भएका थिए। ६ घण्टा पछि यी सामाजिक सञ्जालमा देखिएको समस्या समाधान भएको फेसबुकले जनाएको छ।
फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या भन्दै बताउँदै त्यसका लागि माफीसमेत मागेको छ। यसैबीच, फेसबुकसहितका साइट बन्द भएर फेरि सुरु हुँदासम्म फेसबुकका सीईओ मार्क जुकरबर्गले भने ६ अर्बभन्दा बढी अमेरिकी डलर गुमाएका छन्। ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ।
नेपालले श्रीलंकालाई ३–२ गोलले हरायो
साफ फुटबल च्याम्पियनसिपअन्तर्गत माल्दिभ्समा जारी खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले हराएको छ। यो जितसँगै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सोमबार भएको खेलमा श्रीलंकालाई ३–२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो।
पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो। श्रीलंकाविरुद्ध नेपालका तर्फबाट आयुष घलान, अञ्जन विष्ट र समुन लामाले एकएक गोल गरेका छन्। लगातारको जितपछि नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ।