काठमाडौं– छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ६ क्लब सहभागी बने। २० क्लब सम्मिलित राष्ट्रिय प्रतियोगिता नेपाल भलिबल संघ (एनभीए) ले सात दिनमा सम्पन्न गर्यो। प्रतियोगिताका ती सबै खेल त्रिपुरेश्वसरस्थित राखेपको भलिबल कोर्टमा भए। चार दिन समान ६–६ खेल भए भने बाँकी तीन दिन समान ४–४ खेल भए।
समूह चरणदेखि फाइनलसम्म खेल्ने धेरै टिमहरुले हरेक दिनजसो खेल खेले। पुरुषतर्फ टिमटप हेल्प नेपालले त सात दिनमा छ खेल खेल्यो। विभागीय टिम आर्मी, पुलिस र एपीएफले सात दिनमा पाँच-पाँच खेल खेले। त्यस्तै, अन्य टिमहरुले पनि त्यत्तिकै पेचिलो तरिकाले खेले।
महिलातर्फ होङवाङजी न्यु डायमन्ड, त्रिभुवन आर्मी, पुलिस र एपीएफले पाँच दिनमा चार खेल खेले। जुन निकै पेचिलो बन्यो। च्याम्पियनसिपको लागि एक महिनाअघि खबर गरेको एनभीएले न खेलाडी छनोटका लागि पर्याप्त समय दियो, न अभयासका लागि नै।
त्यति मात्र होइन उसले त खेलबीच 'रेस्ट डे' पनि कुनै टिमलाई दिएन। ‘आज खेल्यो फेरि भोलि पनि खेलिहाल्यो गर्दा हामीलाई धेरै गाह्रो भयो। अब लामो समयको खेल भयो भने सबै टिमसँग खेल्न पाइन्छ। त्यसले अनुभव पनि बढ्ने भयो। अनि हामीलाई चोट लाग्ने समस्या पनि कम हुन्छ,’ राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले भनिन्।
त्यसमाथि पछिल्लो समय कोभिडको कारण प्रतियोगिता हुन सकेका थिएनन्। अर्थात् धेरै खेलाडी खेलका लागि फिट भइसकेका थिएनन्। ‘किनभने हामीलाई प्रतियोगिताको तयारीका लागि समय पनि थिएन,’ कप्तान शाहीले भनिन्, ‘त्यसमाथि वर्षाको कारण हामीले ‘आउट–डोर गेम’ पनि खेल्न पाएको थिएनौं। त्यसकारण निकै गाह्रो भयो।’
‘कोरोनाले गर्दा हाम्रो लेभल धेरै घटेको छ। यो समयमा तयारी पनि कम थियो।’
‘योभन्दा अघि पनि १५ दिनमात्र अभ्यास गरेर खेलेका थियौँ,’ आर्मीका स्पाइकर मान बहादुर श्रेष्ठ भन्छन, ‘कोरोनाले गर्दा हाम्रो लेभल धेरै घटेको छ। यो समयमा तयारी पनि कम थियो।’ आर्मीको प्रतिद्वन्दी हेल्प नेपालले पनि ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा नौदिन मात्र अभ्यास गरेको थियो।
सेमिफाइनलको एक खेलमा हेल्प नेपालका खेलाडी सक्लेन तारिक खान ‘कुल डाउन’ अभ्यास गर्दै थिए। तर उनको अभ्यास सुरु नहुँदै अर्को टिमका खेलाडी भित्रिएपछि उनी मलिन अनुहार बनाउँदै कोर्टबाट बाहिर निस्किए।
त्यसो त छोटो समयको प्रतियोगिता भएकाले उनी विधि नै पूरा नगरि खेल्न आएका इन्डिया खेलाडी हुन्। उनले नेपालको खेलबारे आफ्नो डिपार्टमेन्टमा जानकारीसमेत दिएका छैनन्। उनी जापानमा भएको एसियन कप खेलेर घर जाने बिदामा नेपालमा प्रतियोगिता खेल्न आएका थिए।
छोटो तालिका मात्र होइन मैदानमा 'वार्मअप'का लागि पर्याप्त समय नभएको न्यु डाइमन्ड क्लबका प्रशिक्षक कुमार राई पनि बताउँछन्। उनले भने, ‘हाम्रो टिममा त लगभग सबै इन्ज्युरी खेलाडीहरु छन्। उनीहरुलाई शरीर तताउनु पर्ने थियो। खेलअघि फिजिकल भर्खर सुरु भएको हुन्छ यता अम्पायरले खेल सरु गरिहाल्न निर्देशन दिन्छन्।’
राईले त्यसलाई धम्किपूर्ण किसिमको व्यवहार भएको बताएका छन्। जसले गर्दा न्यु डायमन्डको देखिनुपर्ने खेल नदेखिएको उनी बताउँछन्।
प्रतिभाको चोटबारेको प्रश्नमा अरुणा शाही भन्छिन्, ‘प्रतिभा त आफ्नो स्वास्थ्यले भन्दा पनि ‘विल पावर’ (इच्छाशक्ति)ले मात्र खेल्न सकेको हो। नभए यसरी जो कोही खेलाडीले खेल्न सक्दैन।’
अम्पायरविरुद्ध उत्रिए समर्थक
हेल्प नेपाल र त्रिभुवन आर्मीबीचको फाइनल खेलमा रेफ्री गौतम लाशिवको निणर्यमा चित्त नबुझेपछि समर्थकले उनलाई मिनरल वाटरको बोतल नै प्रहार गरेका थिए। आर्मीका प्रशिक्षक जगत सिंहले तीन मिनेटमा खेलाडीलाई कोर्टबाहिर निकाले।
त्यसले खेल केही समय प्रभावित हुन पुगेको थियो। रेफ्रीको निर्णयप्रति हेल्प नेपालको टिम पन सन्तुष्ट छैन। टिमका व्यवस्थापक झमक नारायण श्रेष्ठ भन्छन्, ‘लाइनअपलाई लिएर अम्पायरले विपक्षीई अंक दिएपछि हाम्रा खेलाडी निराश बने। विशेष गरी इन्डियन टिमका कप्तान विनित कुमार हाम्रो टिममा थिए। उनी नै निराश भए। दोस्रो सेटमा जितेर कमब्याक गरे पनि तेस्रो सेटमा 'क्विर स्पाइकर' घाइते भएपछि हामीले फाइनल हार्यौं।’
लगातार खेल खेलेपछि प्रतियोगितामा खेलाडीको थकान निकै बढेको थियो। ‘टाइट सेड्युलले पनि प्रदर्शनमा प्रभाव पार्यो। यति खेललाई त कम्तिमा पनि १२ दिनजति हुनै पर्ने थियो। एकदिन बीचमा रेस्ट त पाउनै पर्छ। दैनिक खेल हुँदा थकान मेटिएकै थिएन। अहिले टिममा एक जाना खेलाडीले चोट बोकेका छन्,’ टिमका व्यवस्थापक झमकले भने।
त्यस्तै, सेमिफाइनल खेलमा न्यु डामन्डले पुलिसविरुद्ध जित निकाल्नका लागि पाँच सेट खेल्नु परेको थियो। किन त्यस्तो भयो भन्ने प्रश्नमा प्रशिक्षक राई भन्छन्, ‘हो, हामीले मानसिक रुपमा खुलेर खेल्न सकेनौं। किनभने सुरुमै अम्पायरसँगको वादविवाद सुरु भयो। त्यसले धेरै नै तनाव दियो। खेलाडीले टेम्पर नै लुज गरिहाले नि।’
‘त्यतिबेला हाम्रा खेलाडीले उत्कृष्ट स्पाइक गरेर झ्याम्मै ब्लक लागेर बल बाहिर गइरहेको छ। अंक विपक्षीलाई दिने अनि उताबाट सर्भिस गर्न लाउने त हुँदै भएन नि। त्यसले निकै ठूलो मानसिक असर परेको थियो।’
‘त्यतिबेला हाम्रा खेलाडीले उत्कृष्ट स्पाइक गरेर झ्याम्मै ब्लक लागेर बल बाहिर गइरहेको छ। अंक विपक्षीलाई दिने अनि उताबाट सर्भिस गर्न लाउने त हुँदै भएन नि। त्यसले निकै ठूलो मानसिक असर परेको थियो।’
प्रशिक्षक राईका अनुसार लिग चरणमा आर्मीविरुद्ध भन्दा राम्रो प्रदर्शन गर्ने योजनामा थियो। तर सुरुमा वार्मअपका लागि समय नपाउँदा र अम्पायरले गलत निर्णय दिँदा खेलमा असर परेको बताए।
‘यस्ता धेरै कुरा सहेर हामीले खेलायौँ। धेरै अप्ठ्याराहरु भए,’ उनले थपे, ‘वार्मअप टाइम त नियममै दिनपर्ने नै हो। त्यसको लागि छुट्टै कोर्ट नै हुनुपर्ने हो। अब छैन त। नभएपछि खेल कम खेलाएर पनि दिनुपर्ने हो नि। तर दिइएन। त्यसमै एडजस्ट गरेर खेल गराउनु पर्यो।’
नेपालमा वर्षमा एक हप्ता मात्र यस्तो ठूलो प्रतियोगिता हुने हुँदा अन्तर्राष्ट्रिय खेलाडी पनि चोट बिर्सिएर खेल्न बाध्य छन्। चोट सम्हाल्न लाग्ने हो भने क्लब र दर्शकले नै बिर्सने स्थिति छ। न उपचारका लागि नै सुरक्षित वातावरण छ।
अहिले पनि लगातार खेलको कारण अरुणाको हातको जोइन्टमा र ललिता नाथको घुँडामा समस्या छ। मुख्य खेलाडीलाई चोट लागेपछि न्यु डायमन्डले शतप्रतिशत दिन नसकेको प्रशिक्षक राई बताउँछन्।
उसै पनि भलिबलका खेलाडीहरु थोरै मात्रामा जन्मिरहेका छन्। यस्तोमा भलिबल संघले पनि कमसेम भएका खेलाडीलाई बचाउनु पर्ने जिम्मेवारी रहन्छ। ‘आफ्नो मात्र समय हेरेर जसरी पनि प्रतियोगिता सिध्याउने। आफ्नो ड्युटी पूरा गरेजस्तो मात्र गर्ने। आफैं सर्वेसर्वा हो भन्ने तर समन्वय गर्नै नचाहने। तर अरुलाई समस्या दिने कहाँसम्मको न्याय हो?,’ प्रशिक्षक राईको प्रश्न छ।
उनले प्रतियोगिता खेलबारे क्लबसँग सल्लाह नै नगरेको गुनासो पनि गरे। ‘अवस्था अनुसार कसरी जाउँ भनेर सल्लाह गर्ने भलिबल संघलाई होसै छैन। क्लबसँग मिलेर गए सहमति त राम्रो हुन्छ नि। म यतिमा खेल सुरु गर्छु यतिमा सक्दिन्छु तपाईँ चुप लाग्नुस्, जानुस् उता भन्ने खालको अम्पायरको शैली देखियो।’
प्रतियोगिताम पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी चुनिए मानबहादुर श्रेष्ठ। नेपालको राष्ट्रिय खेल भनिएको भलिबल खेलाडीलाई सरकारले बेवास्ता गरेको श्रेष्ठ बताउँछन्। भन्छन्, ‘राष्ट्रिय खेल भन्ने त छ। तर सरकारले, संघले भत्ता दिएको छैन। संघले आफ्नो ठाउँबाट र सरकारले पनि त्यसमा सहयोग गर्नुपर्छ।’