पाँचथर- विकासका काम अगाडि बढ्दा समुदायको जीवनशैली पनि बदलिन्छ भन्ने उदाहरण बनेको पाँचथरको माझीटार। फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ मा हेंवा र तमोर नदीको आसपासमा बसोबास गर्ने माझी समुदायले विकाससँग डोहोरिएर नयाँ अवस्थामा पुगेसँगै जीविकोपार्जनका माध्यम बदल्दै लगेको छ।
विगतमा माछा मार्ने, डुङ्गा चलाउने तथा परम्परागत खेतीपाती गर्ने माझी समुदाय अहिले नयाँनयाँ पेशा तथा स्वरोजगारमूलक व्यवसायमा जोडिँदै गएको छ। माझीटारका माझी समुदायले अहिले माछा मार्न त छाडेका छैनन् तर उनीहरुले माछामा आधारित व्यवसाय पनि थालेका छन्। विकास निर्माणका कार्य आँगनमै आइपुगेपछि उनीहरु कामदार तथा सीपमूलक पेशामा जोडिन थालेका हुन्।
माझीटार क्षेत्रमा ४१ घर माझी परिवारको बसोबास छ। परिवारका अधिकांशले माछा मार्ने गर्छन्। माछा मारेर मात्रै जीविका नचल्ने भएपछि उनीहरुले विकल्प खोज्दै गए। माझीटार हुँदै पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ भने तमोर करिडोर सडक निर्माणका क्रममा छ। दशकअघि माझीटारमै पक्की पुल निर्माण पूरा भएको थियो।
धमाधम पूर्वाधारका संरचना बन्न थालेपछि माझी समुदायले पेशालाई अन्य जातिले जस्तै बदल्दै लगेको छ। माझी समुदायका अगुवा जसबहादुर माझीका अनुसार यहाँका युवा निर्माणका कार्यमा कामदार तथा मिस्त्रीका रूपमा काम गर्न थालेका छन्। “कसैले कामदारका रूपमा काम गर्छन्, कसैले गाडी चलाउँछन्”, जसबहादुरले भने, “युवा नयाँनयाँ पेशामा आबद्ध हुन थालेका छन्। परम्पराअनुसारका काम पनि गरिरहेकै छौँ।” माझीटारमै निर्माण कम्पनीले कार्यालय र क्वार्टर बनाएका छन्। क्रसर पनि सञ्चालनमा छ। यसले माझी समुदायलाई आयआर्जन तथा सीपमूलक काममा जोडिन झनै मद्दत गरेको छ।
आन्तरिक पर्यटन चलायमान हुँदै गएपछि माझी समुदायले त्यसबाट लाभ लिने माध्यम खोज्न थाले। यस क्रममा माछा मारेर बिक्री गर्ने मात्रै होइन, माछाका परिकार बिक्री गर्न व्यवसाय पनि थालेका छन्। व्यवस्थित र व्यावसायिकरूपमा माझी समुदायले होटल, रेस्टुरेन्ट नलाए पनि ग्राहकका आवश्यकता पूर्ति गरिरहेकै छन्। माझीटारमा माझी समुदायबाटै आधा दर्जन बढी होटल सञ्चालनमा ल्याइएका छन्। फिदिम आइपुग्ने धेरै पर्यटक माझीटारका माछाको स्वाद लिन यहाँ पुग्छन्। यद्यपि माछाका परिकार आधारित व्यवसायमा माझी समुदायभन्दा अन्य जाति व्यावसायिक बन्दै गएका छन्। माझी समुदायका अगुवा जसबहादुरका अनुसार पहिले माछा मार्ने, खेती गर्ने काममै सबै व्यस्त हुन्थे। अहिले विकासको गतिसँगै नयाँनयाँ पेशा व्यवसायमा जोडिने क्रमले आर्थिक अवस्थामा पनि सुधार भएको छ।
अझै उपेक्षामै
फिदिम–४ र हिलिहाङ–७ मा गरी २५० भन्दा बढीको बसोबास रहे पनि सेवा सुविधाका दृष्टिले माझी समुदाय अझै उपेक्षामै छ। यहाँ हिलिहाङतर्फ ठूलो बस्ती छ। कक्षा आठभन्दा माथि अध्ययनका लागि सुखबोध माध्यमिक विद्यालय जोरसाल वा सिमखर्क माध्यमिक विद्यालय सिमखर्क पुग्नुपर्छ। पैदल यात्रा गरेर यहाँ पुग्न डेढ घण्टाभन्दा लामो समय लाग्छ। आधारभूत तह अध्ययन गर्न पनि जागृति आवि सालघारी पुग्नुपर्छ। 'मेरा नातिनीहरु पढ्नकै लागि फिदिममा डेरा गरेर बसेका छन्,' जसबहादुरले भने, 'नानीहरुलाई स्कुल पठाउन गाह्रो छ यहाँ।' विद्यालय टाढा हुनाले बीचैमा पढाइ छाड्ने, शैक्षिकस्तर कमजोर हुनेजस्ता समस्या यहाँ विद्यमान छन्।
नजिकै स्वास्थ्य संस्था पनि छैन। रु १०० भाडा तिरेर फिदिम पुग्दा मात्रै सामान्य स्वास्थ्य परीक्षणको सेवा उपलब्ध हुन्छ। प्रशासनिक निकाय पनि निकै टाढा हुँदा उनीहरु समस्यामा छन्। हिलिहाङतर्फ वडा कार्यालय सल्लेरीमा तथा फिदिमतर्फ फिदिममा छन्। हिँडेर जान लामो समय लाग्ने, गाडीमा धेरै भाडा तिर्नुपर्ने उनीहरुको बाध्यता छ। 'अझ गाउँपालिका पुग्न त धेरै टाढा पर्यो,' जसबहादुरले भने, 'काम परिहाले धेरै दुःख हुन्छ।'
खेतीपाती गर्नसमेत सबै माझी समुदायसँग प्रशस्त आफ्नै खेतबारी छैन। धेरैसँग अलिअलि पाखो बारी छ। कसैसँग त्यो पनि छैन। यहाँ रहेको खेत उनीहरुले सुब्बालाई दाता मानेर खेती गर्दै आएका थिए। नवमीडाँडाका आङ्देम्बेका नाममा रहेको जग्गामा जग्गाधनी स्वयंले खेती गर्ने, व्यापारिक प्रयोजनका लागि भाडामा दिने, संरचना बनाउने गर्न थालेपछि मात्रै माझी समुदायको चेत खुल्यो। 'खेत त कमाउँदै आयौँ तर खेत सुब्बाको हुनाले अहिले आएर हामी पछाडि पर्यौं,' जसबहादुरले भने, 'अहिले यहाँका कसैले बन्दकी, ब्याजमराउनी लगाएर खेती गर्न थालेका छन्। कसैसँग चाहिँ अलिअलि खेत पनि छ।'
माझीटारका रूपमा सघन बसोबास भएको माझी बस्ती भने ऐलानी जग्गामा छ। यसअघि गठित भूमिसम्बन्धी समस्या समाधान आयोगले अव्यवस्थित बसोबासीका रूपमा यहाँ बसेका माझी परिवारलाई जग्गा उपलब्ध लगत सङ्कलन गरेको भए पनि आयोग नै विघटन भएपछि माझी समुदाय झनै अन्योलमा परेका छन्। 'सबैलाई आधाआधा रोपनीका दरले जग्गा दिने भन्ने सुनेर लगत सङ्कलन गरायौँ,' जसबहादुरले भने, 'तर अहिलेसम्म केही काम नभएपछि आशा मर्दै गएको छ।'
माछा पाइनै छाड्यो
अहिले माछाको मूल्य निकै बढेको छ। प्रतिकिलो रु १००० सम्ममा बिक्री भइरहेको छ। तर माछा पाइनै छाडेको स्थानीयवासी बताउँछन्। 'पहिलेजस्तो माछा पाइन्न। धेरै मेहनत गर्दा अलिअलि जालमा पर्छ,' स्थानीयवासी प्रकाश माझीले भने, 'अहिले माछा मारेर धेरै फाइदा छैन। जालमा माछा पार्नै सकिन्न।'
करेन्ट लगाएर माछा मार्ने क्रमले माछा पाइन छाडेको उनीहरुको भनाइ छ। करेन्ट लगाएर हेंवा र तमोर दुवै नदीमा माछा मार्ने क्रम बढ्दा माछा कम हुँदै गएको हो। 'हामीले त परम्परा धान्न पनि माछा मार्नुपर्छ,' माझी समुदायका अगुवा जसबहादुर भने, 'पछि माछा नै नपाइएला कि भन्ने पीर छ।' करेन्ट लगाएपछि सानाठूला सबै माछा मर्ने हुँदा माछा कम हुँदै गएको उहाँको भनाइ छ।
सङ्लो पानीमा पाइने यहाँको माछा निकै स्वादिलो हुने भएकाले आन्तरिक पर्यटक तथा जिल्लाकै बासिन्दासमेत माछाको स्वाद लिन यहाँ पुग्ने गर्दछन्। उपभोक्ताको सङ्ख्या उल्लेख्य हुने भएपछि माझी समुदायले माछाका परिकारमा आधारित व्यवसाय सञ्चालन गरी स्वरोजगार हुन थालेका थिए। माछा घट्दै जाँदा व्यवसाय सङ्कटमा पर्ने चिन्तामा उनीहरु छन्। 'हामीले त परम्परागतरूपमै माछा मार्ने पेशा अँगालेका हौँ। अप्राकृतिकरूपमा माछा मार्ने क्रमले हाम्रो पेशादेखि परम्परासम्म सङ्कटमा पर्ने खतरा छ,' स्थानीय प्रकाश माझीले भने।
स्थानीयवासीले माझी समुदायको आयआर्जन वृद्धि, पर्यटन विकास तथा परम्पराको संरक्षणका लागि तमोर नदीमा डुङ्गाको व्यवस्था गरिदिन माग गरेका छन्। 'हामीले एउटा नाउ (डुङ्गा) पाएमा रमाइलो गर्न आउनेलाई घुमाएर पैसा लिन सकिन्थ्यो,' माझी अगुवा जसबहादुरले भने, 'हाम्रा युवा पुस्ताले समेत विगतका परम्परागत सीप सिक्न पाउँथे।' विसं २०५६ मा माझीटारबाट तेह्रथुमको आठराई तर्ने झोलुङ्गे पुल निर्माण भएपछि डुङ्गा चलाउने पेशा मासिएको ६२ वर्षीय जसबहादुरको भनाइ छ। - रासस