काठमाडौं- प्रदेश जिल्लास्तरीय सेभेन ए साइड बागमती सेभेन्स रग्बी प्रतियोगिताको उपाधि भक्तपुरले जितेको छ। मध्यपुर ठिमीमा आइतबार साँझ भएको फाइनलमा भक्तपुर रग्बीले नुवाकोट रग्वीलाई ५ का विरुद्ध १७ प्वाइन्टका साथ उपाधि जितेको हो।
भक्तपुरले खेल अवधिभर ३ ट्राइ गर्दा एक पटक कन्भर्सन गरेको थियो। एक ट्राइ बराबर ५ अंक र एक कन्भर्सन बराबर २ अंकका हिसाबले ३ ट्राइको १५ र १ कन्भर्जको २ गरि १७ अंक ल्याएको हो।
नुवाकोट रग्वीले भने एक ट्राइ गरेको थियो। पुरुषतर्फको उपाधि विजेता भक्तपुर रग्वीले नगद १५ हजार पुरस्कार प्राप्त गर्दा उपविजेता भएको नुवाकोट रग्वीले १० हजारमा चित्त बुझयो।
भक्तपुरका सविन महत उत्कृष्ट खेलाडी चुनिए। उनले नगद ५ हजार प्राप्त गरे। प्रतियोगिता अन्तर्ग शनिबार महिलातर्फको उपाधि मकवानपुरले जितेको छ। मकवानपुरले काठमाडौंलाई १ ट्राइले नै उपाधि जित्न पर्याप्त भयो । मकवानपुरले उपाधिसँगै नगद १० हजार प्राप्त गरेको छ।
प्रतियोगिताको उपाधि विजेता टिम तथा खेलाडीहरुलाई रग्वीसंघका अध्यक्ष टंकलाल घिसिङले पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गरेका थिए।
नेपाल रग्वी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा पुरुष तर्फ ७ टोली र महिला तर्फ ३ टोली सहभागी भएका थिए।