काठमाडौं- १०९ रनको सामान्य लक्ष्य पाएको चितवन टाइगर्सले ललितपुर प्याट्रिओट्सलाई हराउँदै एभरेस्ट प्रिमियर लिग (ईपीएल) को क्वालिफायरमा स्थान बनाएको छ।
ब्याटिङमा कमजोर देखिएको ललितपुर प्याट्रिओटसले अपराजित टिम चितवन टाइगर्ससँग ५ विकेटको हार बेहोरेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा भर्खरै सम्पन्न खेलमा साविक विजेता ललितपुरले पुरा ओभर खेल्दै ९ विकेट गुमाएर १०८ रन बनाएको थियो।
ललितपुरका सन्दुम वेराक्कोडी, जयकिसन कोल्सावाला र सूय तामाङबाहेक कुनै खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्। खेलमा योगेन्द्र सिंह कार्की र पवन सर्राफले त कुनै रन बनाउनै सकेनन्।
भरपर्दा ब्याट्स्मेन कुशल भुर्तेल एक रनमै आउट भए। कोल्सावालाले सर्वाधक ४२ रन बनाए भने वराक्कोडीले १४ रन बनाए। बलिङतर्फ चितवनका कमल सिंह ऐरीले तीन विकेट लिए भने करिम जन्नत र सागर ढकालले समान दुईदुई विकेट गिराए। शाहब आलमले पनि एक विकेट लिए।
जवाफी ब्याटिङमा मोहम्मद शाहजादको ३५ रन सहयोगमा ललितपुरले १७.२ ओभरमा पाँच विकेट गुमाउँदै ११२ रन बनाएर जित निश्चित गर्यो।
चितवनकाका लागि भीम सार्कीले २७ रन बनाए। त्यस्तै विरनदिप सिंहले १३ रन जोडे भने दिलिप नाथले १६ रन जोडे।
बलिङमा ललितपुरका अजमतुल्लाह ओमरजाई र रिजन ढकालले समान दुईदुई विकेट लिए भने योगेन्द्र सिंह कार्कीले १ विकेट गिराए। ईपीएल तालिकामा ८ अंकका साथ शीर्षस्थानमा रहको चितवन पहिलो पटक क्वालिफायरमा पुगेको छ। अब उसले फाइनलका लागि पहिलो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। एक खेल बाँकी रहेको पोखरा ५ अंकका साथ दोस्रो स्थानमा छ। उसले अर्को खेलमा जित निकाले पनि चितवनभन्दा पछि रहनेछ।
यता तेस्रो स्थानको भैरहवाले दुवै खेलमा जित निकाल्न सके उसले शीर्षस्थानको चितवनसँग अंक बराबरी गर्नेछ। यद्यपी चितवनको एक खेल बाँकी नै छ।
यता पराजित ललितपुरले पाँच खेलबाट मात्र ३ अंक जोडेको छ। उसले अब प्ले अफको यात्राका लागि काठमाडौंको नजितामा भर पर्नु पर्ने भएको छ।
काठमाडौंले दुवै खेलमा हार बेहोरे मात्र ललितपुर प्ले अफमा पुग्नेछ। अन्यथा उसको यात्रा टुंगिएको छ। अहिले तालिकाको पुछारबाट एक स्थान माथि रहेको काठमाडौंको २ अंक छ भने चौथौ स्थानमा रहेको ललितपुरको ३ अंक छ। ललितपुले लिग चरणका पुरा खेल खेलेको छ भने काठमाडौंको अझै दुई खेल बाँकी छन्।
जारी ईपीएलमा विराटनगर वाहिरिसकेको छ भने चितवन क्वा लिफायरमा पुगेको छ। त्यस्तै, पोखरा र भैरहवा प्ले अफमा पुगेका छन्।