काठमाडौं– मन्त्रालय भागबन्डाका विषयमा सहमति जुटाउन आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तासीन गठबन्धन कार्यदलको बैठक बसेको छ। सरकार गठन भएको ८० दिनसम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। गठबन्धन कार्यदलले मन्त्रालय भागबन्डालाई टुंगो लगाउने बताइएको छ।
माओवादी स्थायी कमिटी बैठक बस्दै
नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम आज टुंगो लगाउने भएको छ। मन्त्रीहरुबारे छलफल गर्न आइतबार स्थायी कमिटी बैठक बस्ने तयारी भए पनि समय भने निश्चित भइनसकेको पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग सल्लाह गरेर बैठकको समय निश्चित गर्ने उनले बताए। सत्ता गठबन्धनका दलहरुको असोज ६ गते बसेको बैठकमा एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको थियो। तर, मन्त्रालय भागबण्डामा कुरा नमिल्दा मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।
एमाले विधान महाधिवेशन आज समापन
नेकपा एमालेको प्रथम विधान महाविधेशनमा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले जवाफ दिँदैछन्। राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, सांगठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन्।
देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी महाधिवेशनमा शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएपछि नेताहरुले जवाफ दिन लागेका हुन्। प्रतिवेदनमाथि १० समूहमा छलफल भएको थियो। नेताहरुले जवाफ दिएपछि प्रतिवेदनलाई संशोधनसहित पारित गरेर आजै महाधिवेशन सक्ने तयारी भएको नेता खिमलाल भट्टराईले जानकारी दिए।
काठमाडौंका पालिकामा कांग्रेसमा को विजयी?
नेपाली कांग्रेस को आसन्न १४औं महाधिवेशन अन्तर्गत काठमाडौँ जिल्लामा शनिबार भएको नगर अधिवेशनको परिणाम आउने क्रम जारी छ।
पछिल्लो परिणामअनुसार गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन्। शङ्खरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठले ८६ मत प्राप्त गरी विजयी भए। त्यसतै कागेश्वरी–मनहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल विजयी भएका छन्। तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन्। यस्तै बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी १५५ मत प्राप्त गरेर निर्वाचित भएका छन्।
पार्टीभित्र अहंकारी चरित्र मौलायो : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र अहंकारी चरित्र मौलाउँदै गएको टिप्पणी गरेका छन्।
लोकतन्त्र सुदृढीकरणका लागि नेपाली कांग्रेस डडेल्धुराका केही नेताहरूले थालेको अभियानमा समर्थन जनाउँदै नेता पौडेलले यस्तो बताएका हुन्। पार्टीभित्र आन्तरिक लोकतन्त्रको लडाइँमा सधैं आजाव उठाइरहने भन्दै उनले पार्टीमा अधिनायकवाद जन्माउन प्रजातन्त्रको लडाइँ नलडेको बताए। बलियाले मिच्दै जानु र निर्धाले कहिल्यै न्याय नपाउनु लोकतन्त्रमा लज्जाको विषय भएको नेता पौडेलको टिप्पणी छ।
विद्युत् प्राधिकरणलाई दूरसञ्चार प्राधिकरणको चेतावनी
नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा अप्टिकल फाइबर काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कारबाहीको चेतावनी दिएको छ।
विद्युत् प्राधिकरणकै कारण राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएकाले दूरसञ्चारले सूचना जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सबै पक्षको आपसी छलफलमार्फत समस्या समाधान गर्नसमेत दूरसञ्चार प्राधिकरणले आग्रह गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ। कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए। हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ। यस वर्ष कोभिडका कारण वैशाखयता बन्द भएको गतिविधि खुला भएको हो। बाटो मर्मत सकिएसँगै निकुञ्जभित्र र बाहिरका सबै पर्यटकीय गतिविधि खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।
अमेरिकामा गर्भपतनको समर्थनमा प्रदर्शन
अमेरिकामा गर्भपतनको समर्थनमा हजारौंले प्रदर्शन गरेका छन्। टेक्सस राज्यमा गर्भपतनको अधिकारमा केही परिमार्जन गरिएपछि त्यसको विरोध गर्दै प्रदर्शन भएको हो।
अन्य राज्यमा पनि कानुन परिमार्जन हुनसक्ने भन्दै त्यसविरुद्ध महिला तथा अधिकारकर्मीहरु प्रदर्शनमा उत्रिएका हुन्। अमेरिकामा सन् १९७३ मै गर्भपतनलाई कानुनी मान्यता दिइए पनि रिपब्लिकनहरुले बेलाबेलामा गर्भपतन सम्बन्धी प्रावधानलाई परिमार्जन गर्ने गरेका छन्। रिपब्लिनको सरकार रहेको टेक्ससमा ६ साताको गर्भपतन गर्न प्रतिबन्ध लगाइएको छ।